गृहपृष्ठ विश्वभर सन् २०१९ मा ४९ जना पत्रकारको हत्या
विश्वभर सन् २०१९ मा ४९ जना पत्रकारको हत्या
विश्वका विभिन्न ठाउँमा भइरहेको द्वन्द्व र अनुदारवादी शासन व्यवस्थाका कारण हरेक वर्ष सयौँ पत्रकारको हत्या हुने गरेको छ । तर यस वर्ष भने पत्रकारको हत्याका घटनामा केही कमी आएको छ ।
सन् २०१९ प्रेस स्वतन्त्रता, पत्रकारिता र लोकतन्त्रका लागि यो तथ्यांंकलाई केही सुखद् भए पनि सन्तोष मान्ने अवस्था भने नरहेको अधिकारकर्मीहरुको भनाई छ ।
हालै सार्वजनिक भएको विवरणअनुसार सन् २०१९ मा संसारभर ४९ जना पत्रकारको हत्या भएको छ । तर अघिल्लो वर्ष विश्वका ९४ जना पत्रकारको हत्या भएको तथ्यांक सार्वजनिक भएको थियो । पछिल्लो दुई दशकमा औषतमा प्रत्येक वर्ष ८० पत्रकारको हत्या हुने गरेको जनाइएको छ ।
‘रिपोर्टर्स विथाउट वोर्डर’ ले गत मंगलबार सार्वजनिक गरेको प्रतिवेदनमा हत्या हुने पत्रकारको संख्या गत १६ वर्ष यताको सबभन्दा कम भएको उल्लेख गरिएको छ ।
हत्या गरिएका पत्रकारको संख्यामा ऐतिहासिक रुपमा कमी आएको रिपोटर्स बिथाउट बोर्डरको भनाई छ । सबैभन्दा धेरै पत्रकार मारिएको वर्ष सन् २००६ थियो । त्यसवर्ष मात्रै १ सय ५५ जना पत्रकार मारिएका थिए । यो संख्यामा आमसञ्चार संस्थामा कुनै न कुनै रुपमा काम गर्ने सबैलाई जोडिएको छ ।
सन् २०१८ मा हत्या गरिएका पत्रकारको सख्या सन् २०१७ को भन्दा बढी भएपनि इराक र सिरियामा युद्ध चर्किएको बेलामा जस्तो धेरै भने थिएन । गएको १६ वर्षमा अफगानिस्तान पत्रकारका लागि सबैभन्दा खतरनाक देशको रूपमा कायम छ । काबुलमा एउटा बम विस्फोटको समाचार संकलन गर्न गएका नौ अफगानी पत्रकार मारिएका थिए ।
दोस्रो आत्मघाती विस्फोट पत्रकारकै भेष धारण गरेका आक्रमणकारीले गराएका थिए । पत्रकार हत्याका घटनामा अहिले भने कमी आएको छ ।
लामो समयदेखि द्वन्द्वग्रस्त मुलुकहरुमापनि अघिल्ला वर्षहरुको तुलनामा यस वर्ष पत्रकार हत्याका घटना कम भएको पाईएको छ । द्वन्द्वरत पक्ष कमजोर हुदै गएको, पत्रकार हत्याका बारेमा उनीहरुको सतर्कता र सचेतना बढेको पत्रकारको हत्या हुँदा संसारभरीबाट आक्रोस र आलोचना भएर बद्नाम हुने गरेको, पत्रकारको हत्यामा संलग्न भएको पक्षलाई असहयोग र अप्ठ्यारो बढी पर्ने गरेकोलगायतका कारणले हत्याका घटनामा कमी आएको विश्लेषण गरिएको छ ।
त्यसैगरी कतिपय मुलुकहरुमा भने द्वन्द्वको अवस्थामा सुधार आएको र शासन व्यवस्था र तथा शासकहरु पनि परिमार्जित हुन बाध्य भएकाले पत्रकार हत्याका घटना कम भएको हुने सक्ने विज्ञहरुको भनाई छ । अघिल्लो वर्ष अर्थात् सन् २०१८ मा भने पछिल्ला तीन वर्षमा घट्दै गएको पत्रकार एवं सञ्चारकर्मीको हत्याको घटनामा फेरि बृद्धि भएको थियो ।
समाचार संकलन, सम्प्रेषण र प्रसारण तथा प्रकाशन गर्ने क्रममा वा गरे वापत मारिएका सञ्चारकर्मी र पत्रकारको संख्या सन २०१८ मा सबैभन्दा बढी अफगानिस्तान र सबै भन्दा कम प्यालेस्टाइन र ग्वाटेमालामा रहेको थियो ।
प्रतिवेदमा जनाइएअनुसार गतवर्ष सन् २०१८ मा अफगानिस्तानमा १६, मेक्सिकोमा ११, यमनमा ९, सिरियामा ८, भारतमा ७, पाकिस्तानमा ५, सोमालियामा ५, अमेरिकामा ५, फिलिपिन्समा ३, इक्वेडरमा ३, ब्राजिलमा ३, कोलम्बियामा २, प्यालेस्टाइनमा २ र ग्वाटेमाला २ जना पत्रकार मारिएका थिए ।
सूचना संकलनको दौरानमा पत्रकारसँगै मारिएका चालक, अन्य सहयोगी र सुरक्षा अधिकारीलाई भने यसमा गणना गरिएको छैन । समाचार संकलनप्रतिको असहिष्णुता, लोकप्रियतावादका साथसाथै भ्रष्ट्राचार र अपराध नै पत्रकार मारिनुका प्रमुख कारणहरू भएको आइएफजेको ठम्याई छ ।
विषेशगरी द्वन्द्व जारी रहेको मुलुक यमन, सिरिया र अफगानिस्तान पत्रकारको हत्याका घटनामा आएको अन्तर्राष्ट्रिय संघ संस्था तथा निकायहरुले जनाएका छन् । पेरिसमा कार्यालय रहेको पत्रकारितासम्बन्धी अध्ययन अनुसन्धान गर्ने संस्थाले पत्रकारिता अझै पनि जोखिमपूर्ण पेशाका रुपमा भने रहि नै रहेको उल्लेख गरेको छ ।
संस्थाका प्रमुख क्रिस्टोफ डेलोइरले मेक्सिकोमा मात्रै यसै वर्षमा १० पत्रकारको हत्या हुनुले अझै पनि चिन्ताजनक अवस्थालाई झल्काउने बताए । ल्याटिन अमेरिकी देशमा कुल १४ पत्रकार मारिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । उनले द्वन्द्वग्रस्त लोकतान्त्रिक शासन व्यवस्था भएका देशमा पत्रकारिता गरेकै कारण पत्रकार मारिनुले लोकतन्त्रलाई नै चुनौती थपेको विश्लेषण गरे ।
सन् २०१९ भरिमा ३ सय ८९ पत्रकारलाई बन्दक बनाइएको र त्यो संख्या अघिल्लो वर्षको तुलनामा १२ प्रतिशत बढी भएको पनि सो संस्थाले जनाएको छ । तीमध्ये आधाजति पत्रकार चीन, इजिप्ट र साउदी अरब गरी तीन देशमा बन्दी बनाइएका हुन् । सिरिया, यमन, इराक र युक्रेनसहित विश्वभर अहिले पनि ५७ जना पत्रकार कारागार मै रहेका पनि सो प्रतिवेदनमा उल्लेख छ ।
सन् २०१८ मा भने टर्कीमा ६८, चीनमा ४७, इजिप्टमा २५, साउदी अरेबिया र इरिट्रिया १६ पत्रकार थुनामा परेका थिए । यी देशहरु धेरै पत्रकारलाई थुन्ने देशमा परेका हुन् भने अन्य देशहरुमा पनि पत्रकारहरुलाई थुन्ने गरिएको आईएफजेको प्रतिवेदनमा जनाइएको छ ।
पत्रकार हत्याका घटनामध्ये साउदी पत्रकार जमाल खासोग्जीको हत्याको घटना संभवतः सवैभन्दा चर्चित घटना बन्न पुग्यो । सन् २०१८ मा भएको यो हत्याकाण्डले लामो समयसम्म संसारभर चर्चा भएको थियो । साउदी अरबका राजकुमार र अमेरिकासँग जोडिएर घटनाले विश्वव्यापी चर्चा पाएको हो ।
यसले कुटनीतिक क्षेत्रमा पनि धेरै उथलपुथल ल्याएको थियो । सन् २०१८ को अक्टोबरमा टर्कीस्थित साउदी वाणिज्यदूतावासको कार्यालयभित्र खासोग्जीको हत्यापछि टर्कीसँगै अमेरिका र साउदी अरबसँग सबै देशहरु पक्ष र विपक्षमा विभाजित भएका थिए । संसारभरी द्वन्द्वरत पक्ष र शासकहरुको तारो सवैभन्दा बढी पत्रकार हुने गरेको पाइएको छ ।
पत्रकारलाई दवाउन र भगाउन सकेमा आफ्ना कमी कमजोरी र कर्तुतहरु बाहिरिन नपाउने भएकाले उनीहरुले पत्रकारलाई निषेध र नियन्त्रणका लागि अप्रिय कदम चाल्ने गरेका हुन्छन् । तर पत्रकारलाई दवाउन खोज्दा त्यसको नकारात्मक असर झन बढी पर्ने गरेको तीतो अनुभव पनि ती शासक र द्वन्द्वरत पक्षले महशुष गर्न थालेर होला अहिले पत्रकार हत्याका घटना भने कम हुन थालेका छन् ।
बाँकी शासक र द्वन्द्वरत समूहले पनि पत्रकारको हत्याबाट आफ्नो पक्षमा फाइदा भन्दा बेफाइदा धेरै छ भन्ने बुझ्न सकेमा विश्वमा प्रेस स्वतन्त्रता र लोकतन्त्रको प्रवर्द्धन भई निरंकुशता र अशान्तिमा कमी आउने आधार तयार हुन्छ । (एजेन्सी)
प्रकाशित समय १६:३९ बजे

















