गृहपृष्ठ कोरोना त्रास : बिस्कुट र पानीको भरमा सयौं माइलको यात्रा

कोरोना त्रास : बिस्कुट र पानीको भरमा सयौं माइलको यात्रा

उनीहरु भोकाएका थिए । तीमध्ये कतिपयले त कैयौं दिनदेखि खान पनि पाएका थिएनन् । धेरैजसो पानी र विस्कुटको भरमा धेरै दिनदेखि बसेका थिए । तर उनीहरु सयौँ माइल हिँड्दै थिए । उनीहरु विभिन्न समूहमा छन् र केही आ-आफ्नो परिवार र आफ्ना बालबालिकासँग पनि थिए ।

कतिपय बृद्धबृद्धा छन् त कति स-साना केटाकेटी । केही मात्र त्यो समूहमा युवायुवती छन् । महिला र पुरुष बराबारी छन् । उनीहरु त्यो मरुभूमिको बाटोमा हिँडिरहेका छन् । कतिका खुट्टामा चप्पल छैनन् त कतिले थाप्लोमा ठूल्ठूला भारी पनि बोकेका छन् । अनि युवायुवतीहरुले आफ्ना साना सन्तानलाई काखमा लिइरहेका देखिन्छन् ।

भारतका ठूला शहरहरुमा काम गर्ने मजदुर आप्रवाशीहरु ती सहरहरु कोरोना भाइरसको त्रासका कारण बन्द भएपछि यति लामो बाटो हिँडेर आफ्नो घर फर्किँदैछन् । सहरमा मजदुरी काम गर्दै आएका उनीहरु सहरमा सरकारले ‘लकडाउन’ गरेपछि उद्योग कारखाना पनि बन्द भए । त्यसपछि कामविहीन बनेका उनीहरु सयौँ माइल हिँडेर गाउँघरमा फर्किदैछन् ।

 उनीहरु आफैँ पनि कोरोना भाइरससँग तर्सिएर आफ्नो घर फर्किन लागेका हुन् । उनीहरुले सहरमा बस्दा प्रयोग गरेका आफ्ना सरसामानहरुसहित यति लामो बाटो हिँडेर गाउँ जान लागेका हुन् ।

भारत सरकारले २१ दिने भारत बन्दको घोषणा गरेको छ । यसबाट भारतका करिब एक अर्ब ३० करोड नागरिक घरभित्रै बस्नु परिरहेको छ । सामान्य रुपमा बिहान-बेलुकी खाद्यान्न र तरकारीका लागि खोल्नेबाहेक भारतमा पसलहरु पनि खुलेका छैनन् ।

विश्वको दोस्रो ठूलो धेरै जनसंख्या भएको देश भारतमा यसरी गरिएको यो लकडाउनले नागरिकमा खाद्यान्न लगायतको संकट पनि निम्त्याउन सक्ने अनुमान धेरैले गरेका बताइएको छ । यसले दिनहुँ नै ज्याला मजदुरी गरेर छाक टार्नुपर्ने बाध्यतामा रहेका करोडौँ भारतीय नागरिकलाई ठूलो मार परेको छ । बजार तथा उद्योगहरु नै बन्द भएका कारण यहाँका करोडौँ नागरिकले बिहान-बेलुकी खानाको समस्यामा पनि पर्नसक्ने बताइएको छ ।

यसरी सहरबाट ती नागरिक लुकिछिपी भित्री बाटोहरु भएर आफ्नो घरमा पुग्ने गरेका छन् । यदि भारतमा हाल जारी राखिएको वर्तमान लकडाउनलाई अझै केही दिन लम्बाउने हो भने यहाँ यस्तो मजदुर वर्गमा ठूलो समस्या ल्याउने बताइन्छ । (रासस)

प्रकाशित समय १९:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु