गृहपृष्ठ भेनेजुएलाको कारागारमा दंगा हुँदा ४० जनाभन्दा बढीको मृत्यु
भेनेजुएलाको कारागारमा दंगा हुँदा ४० जनाभन्दा बढीको मृत्यु
ल्याटिन अमेरिकी देश भेनेजुएलामा एउटा कारागारमा दंगा हुँदा ४० जनाभन्दा बढी व्यक्तिको ज्यान गएको जनाइएको छ ।
कारागारसम्बन्धी गतिविधि निगरानी गर्ने भेनेजुएला प्रिजन अब्जर्भेटरीका अनुसार पश्चिमी नगर गुआनारेनजिक पर्ने लोस लानोसस्थित कारागारमा रहेका कैदीहरू खाना र पानीको अभावलाई लिएर आक्रोशित बनेका थिए ।
कैदीहरूले जेल तोड्ने प्रयत्न गरेको भन्ने अधिकारीहरूको दाबीबारे सन्देह व्यक्त गर्दै उक्त सङ्गठनले घटनाबारे अनुसन्धान गर्न आग्रह गरेको छ । घटनामा गभर्नरसहित कारागारका कर्मचारी समेत घाइते भएका छन् ।
कारागारसम्बन्धी मामिला हेर्ने मन्त्री आइरिस भारेलाले घटना भएको पुष्टि गरे पनि मृतकको सङ्ख्याबारे केही नबताएको एउटा स्थानीय पत्रिकाले जनाएको छ । उक्त पत्रिकाको समाचारमा घटनालाई कारागार तोडेर भाग्ने प्रयासको रूपमा चित्रण गरिएको छ ।
कोरोनाभाइरस सङ्क्रमण नियन्त्रणका लागि भेनेजुएला सरकारले विभिन्न कदमहरू चालेपछि देशका फोहोर र कैदीले खचाखच कारागारहरूमा दङ्गाका घटना बढ्दो छन् । क्वारेन्टिनसम्बन्धी नियमहरूका कारण कैदीहरूले आफन्तले ल्याइदिएका खानेकुरा लिन पाउँदैनन् जुन खानेकुरामा उनीहरू निर्भर रहन्छन् ।
भेनेजुएला प्रिजन अब्जर्भेटरीका अनुसार दङ्गामा ४६ जना कैदीको ज्यान गएको छ र एउटा स्थानीय अस्पतालको आकस्मिक उपचार कक्ष घाइतेहरूले भरिएको छ । (बीबीसीबाट)
प्रकाशित समय ०९:४७ बजे

















