गृहपृष्ठ आइसोलेसन तोडफोडको अभियोगमा क्याम्पस प्रमुख पक्राउ

आइसोलेसन तोडफोडको अभियोगमा क्याम्पस प्रमुख पक्राउ

कोरोना संक्रमित राख्न बनाइएको आइसोलेसन वार्ड तोडफोड र स्वास्थ्य सामग्री गायब बनाएको आरोपमा क्याम्पस प्रमुख पक्राउ परेका छन् । संखुवासभाको  खाँदबारी नगरपालिका- ७ स्थित हिमालयन किरण क्याम्पसस्थित आइसोलेसन वार्ड तोडफोडका आरोपमा सोही क्याम्पसका प्रमुख मातृका तिम्सिनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

शनिबार प्रेस विज्ञप्ति जारी गर्दै प्रहरीले प्रमुख तिम्सिनामाथि ‘आपराधिक उपद्रव गर्न नहुने’ मुद्दामा अनुसन्धान सुरु गरेको जनाएको छ । जिल्ला अस्पतालको किटानी उजुरीका आधारमा प्रहरीले तिम्सिनालाई पक्राउ गरेको हो ।

अस्पताल प्रशासनका अनुसार आइसोलेसन प्रयोगका लागि राखिएका सामग्री बिहीबार राति तोडफोडपछि हराएको थियो । करिब १५ रूपैयाँ लाख बराबरको सामग्री चोरी भएको अस्पतालका मेसु सुन्दरश्याम झाले बताए । झाका अनुसार ७० पीपीई सेट, प्यासेन्ट मनिटर, सक्सन मेशिन, अक्सिजन मेशिन, अक्सिजन डिभाइडर लगायतका सामग्री हराएको छ ।

अहिले आइसोलेसनमा तीन जना कोरोना संक्रमित उपचार गरिरहेको अस्पतालका प्रशासन प्रमुख दिपेश श्रेष्ठले बताए । तोडफोडपछि नयाँ स्वास्थ्य सामग्री लगेर तीन जना कोरोना संक्रमितलाई राखिएको श्रेष्ठले बताए ।

तोडफोड गरिएको आइसोलेसन । (तस्बिरहरू : नमस्ते सङ्खुवासभा फेसबुक पेज)

प्रकाशित समय १८:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु