गृहपृष्ठ विश्व खाद्य कार्यक्रमलाई नोबल शान्ति पुरस्कार
विश्व खाद्य कार्यक्रमलाई नोबल शान्ति पुरस्कार
यस वर्षको नोबल शान्ति पुरस्कार संयुक्त राष्ट्र संघीय विश्व खाद्य कार्यक्रम (डब्लूएफपी)लाई प्रदान गरिएको छ । नोबल पुरस्कार छनाैट समितिले शुक्रबार भोकमरीलाई रोक्न तथा द्वन्द्वग्रस्त क्षेत्रमा शान्ति स्थापना गर्नका लागि गरिएको प्रयासको लागि डब्लूएफपीलाइ यो पुरस्कार दिइएको जनाएको छ ।
डब्ल्यूएफपीलाई ‘भोकमरी विरूद्ध लड्ने प्रयासहरू, द्वन्द्व प्रभावित क्षेत्रहरुमा शान्तिको लागि अझ राम्रो स्थिति बहालीका लागि योगदान पुर्याएको तथा युद्ध र द्वन्द्वको हतियारको रूपमा भोकको प्रयोग रोक्नको लागि चालक शक्तिको रुपमा काम गरेकोमा सम्मान गरिएको छ”, नोबल पुरस्कारको जुरीले भनेको छ।
चाहे हेलिकप्टरबाट होस वा हात्ती अथवा उँटमार्फत खाद्यान्न वितरण गर्ने डब्ल्यूएफपीले आफूलाई विश्वको एक अग्रणी मानवीय संगठन भएकोमा गर्व गर्दछ, उसका अनुमानका अनुसार ६९ करोड मानिसहरू खाली पेट सुत्न बाध्य छन् । यो अनुपात हरेक ११ मध्ये एक हो ।
सन् १९६१ मा स्थापित यो संयुक्त राष्ट्र संघीय निकायले गत वर्ष विश्वभरिका ८८ देशका ९ करोड ७० लाख मानिसलाई १५ अर्बको संख्यामा राशन वितरण गरेको थियो ।
यस वर्ष नोबल शान्ति पुरस्कारका लागि २११ व्यक्ति र १०७ संगठन गरी ३१८ को नामांकन गरिएको थियो ।
प्रकाशित समय १५:४७ बजे

















