गृहपृष्ठ इथियोपियामा युद्धको खतरा बढ्यो, प्रधानमन्त्रीद्वारा सेना परिचालनको आदेश

इथियोपियामा युद्धको खतरा बढ्यो, प्रधानमन्त्रीद्वारा सेना परिचालनको आदेश

अफ्रिकी मुलुक इथियोपियाका प्रधानमन्त्री अबिय अहमदले बुधबार एउटा प्रादेशिक क्षेत्रमा शान्ति भंग भएको भन्दै कारबाही गर्न संघीय सेनालाई आदेश दिएका छन् । टिग्रे पिपुल्स लिबरेसन फ्रन्ट (टिपिएलएफ) ले गतराति प्रादेशिक राजधानीको एउटा सैनिक अखडामा आक्रमण गरेको प्रधानमन्त्रीको कार्यालयद्रारा जारी वक्तव्यमा उल्लेख छ ।

सेना परिचालनले अफ्रिकाकै सबैभन्दा बढी जनसंख्या रहेका तथा शक्तिशाली मुलुकमध्ये एक इथियोपियामा फेरि युद्ध शुरु हुने खतरा बढेको छ । टेलिभिजनबाट राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री अबियले उत्तरी टिग्रे प्रदेशको राजधानी मिकेले र दान्सा सहरमा विद्रोही समूहले गरेका आक्रमणमा धेरै सैनिकले शाहदात प्राप्त गरेको बताए ।

प्रधानमन्त्री अबियले छिमेकी मुलुक इरिट्रिआसँग जोडिएको इथियोपियाको संवेदनशील क्षेत्रमा सक्रिय विद्रोहीको अन्त्य अवश्यम्भावी रहेको जानकारी दिए । इरिट्रिआसँग लामो सीमा संघर्षपश्चात् सन् २०१८ मा दुबै देशबीच शान्ति सम्झौता भएको थियो ।

टिपिएलएफले तत्काल कुनै प्रतिक्रिया जनाएको छैन । प्रधानमन्त्रीको घोषणासँगै टिग्रे क्षेत्रका सबै इन्टरनेट र टेलिफोन लाइन काटिएका छन् । टिग्रे टिभीका अनुसार टिग्रे क्षेत्रमाथिको आकाश हवाई उडानका लागि निषेध गरिएको छ ।

यसैबीच, इथियोपियाली बाँध परियोजनालाई लिएर इथियोपिया र इजिप्टबीच विवाद बढ्दै गएको छ । इथियोपियाले कोरोनाभाइरस महामारी, घातक जातीय हिंसा र सलहको प्रकोपजस्ता समस्यासँग एकैसाथ जुध्नु परिरहेको छ ।

टिग्रेका अधिकारीहरुले गत अगस्टका लागि तोकिएको इथियोपियाको राष्ट्रिय आमनिर्वाचन स्थगित गरेकामा आपत्ति जनाएका छन् । कोरोनाभाइरस महामारी अझ फैलिने खतरा औंल्याउँदै प्रधानमन्त्री अबियले निर्वाचन स्थगित गरेका थिए ।

गत आइतबार विद्रोही समूह टिपिएलएफका एक जना वरिष्ट अधिकारी गाटाचिउ रेडाले आफूहरु संघीय सरकारसँग तत्काल वार्ता गर्न इच्छुक नरहेको बताए । उनले अहिलेको अवस्थामा राष्ट्रिय संवाद जरुरी भएको बताएका छन् । (रासस)

प्रकाशित समय १५:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु