गृहपृष्ठ ‘शिक्षकहरूले राजनीतिक संगठनमा होइन, कक्षाकोठामा सक्रियता बढाउनुस्’

‘शिक्षकहरूले राजनीतिक संगठनमा होइन, कक्षाकोठामा सक्रियता बढाउनुस्’

गिरिराजमणि-पोखरेल #girirajmani pokharel

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विज्ञान र प्रविधिको उपयोग गर्दै शिक्षालाई श्रम र उत्पादनसँग जोड्नुपर्ने बताएका छन् ।

शिक्षा नीति तथा अभ्यास केन्द्रले बुधवार भर्चुअलरुपमा आयोजना गरेको ‘मधेसका शिक्षाका सवालहरु’ विषय संवादमा मन्त्री पोखरेलले शिक्षालाई श्रम, सीप उत्पादन हुँदै समृद्धिसँग जोड्न सकिएमा मात्र गुणस्तरीय र सर्वसुलभ शिक्षाको संविधानको मर्मलाई कार्यान्वयन गर्न सकिने बताएका हुन् । उनले यसका लागि शिक्षकको भूमिका महत्वपूर्ण हुने भएकाले शिक्षकलाई राजनीतिक दलगत संगठनको सक्रियता नभइ कक्षाकोठाको सक्रियतामा ध्यान दिन आग्रह गरे ।

उनले तराई-मधेसको शिक्षा कुनै बेला सिंगो मुलुकलाई उज्यालो छरेका भए पनि हाल पछाडी परेको स्थितिमा मधेसको शिक्षा विकासका लागि अभियान नै सञ्चालन गर्नुपर्नेमा पनि जोड दिए । मन्त्री पोखरेल कोरोना संक्मणणबाट मुक्त भई मंगलबारदेखि बाहिर निस्केका हुन् ।

नेपाली कांग्रेसका नेता प्रदीप गिरीले मधेसको शिक्षा सुधारका लागि केन्द्र शासित राजनीतिक प्रणाली विगतमा बाधक रहेकाले अब संघीयता सही कार्यान्वयनबाट शैक्षिक उन्नति कायम गर्नुपर्ने बताए । उनले दलगत वा नाताका आधारमा नभइ सही ठाउँमा सही र योग्य व्यक्तिलाई जिम्मेवारी दिनुपर्ने धारणा राखे ।

प्रदेश न २ का सामाजिक विकासमन्त्री नवलकिशोर शाहले पञ्चायतकालमा मधेसमाथि दमन र विभेद गरिएकाले मधेसको शिक्षा पछाडी परेको उल्लेख गर्दै आगामी दिनमा विज्ञहरुको सुझावका आधारमा कार्ययोजना बनाइ कार्यान्वयन गर्न आवश्यक रहेको औंल्याए ।

राष्ट्रिय योजना आयोगका सदस्य डा. उषा झाले शिक्षा सामाजिक विकाससँग पनि जोडिएकाले सोचमै रहेको गरिबीलाई हटाउन सकेमा शिक्षामा स्रोत साधनको वितरण गर्न सकिने बताइन् । उनले समुदायगत शिक्षकको संख्या वृद्धि गरी शिक्षकको क्षमतावृद्धिका लागि पनि काम गर्न आग्रह गरिन् ।

राष्ट्रिय मानव अधिकार आयोग सदस्य मोहना अन्सारीले मुस्लिम, दलित लगायतका समुदायलाई शिक्षाबाट समाजले नै पछाडि पारेको स्थिति पाइएकाले यसको अन्त्यका लागि स्थानीय तहले प्रभावकारी रुपमा काम गर्नुपर्ने सुझाव दिइन् ।

कार्यक्रममा विज्ञ केदारभक्त माथेमा, डा. विनय कुसियत, प्राडा विद्यानाथ कोइराला, टीका भट्टराई, डा. सुरेन्द्र लाभ, तुलानारायण साह, अब्दुल रअफ खाँ लगायतले प्रस्तुतीकरण गरेका थिए । उनीहरूले साक्षरता, प्राथमिक तहको भर्ना, विद्यार्थी तह पार गर्ने विद्यार्थी आदि सूचकका आधारमा प्रदेश नं २ अरु प्रदेशभन्दा पछाडि परेकाले अभियानकै रुपमा शिक्षाको रुपान्तरणमा लाग्न आग्रह गरे ।

प्रकाशित समय १५:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु