गृहपृष्ठ को हुन् ४६औँ अमेरिकी राष्ट्रपति जो वाइडेन ?

को हुन् ४६औँ अमेरिकी राष्ट्रपति जो वाइडेन ?

जो वाइडेन अमेरिकाको ४६औँ राष्ट्रपति निर्वाचित भएका छन् । डेमाक्र्याटिक पार्टीका उम्मेदवार वाइडेन अमेरिकाको आगामी राष्ट्रपति बन्नका लागि आवश्यक मत हासिल गर्न सफल भएका छन्, तर उनका सामु कानुनी चुनौतीहरू भने बाँकी छन् ।

बीबीसीले गरेको प्रक्षेपणअनुसार उनले महत्त्वपूर्ण पेन्सिल्भेनिया राज्यमा विजय हासिल गरेसँगै राष्ट्रपति निर्वाचित हुनका लागि आवश्यक २७० मत भन्दा बढी मत प्राप्त गरेका छन् ।

सन् २००९ देखि सन् २०१७ सम्म बाराक ओबामाका उपराष्ट्रपति रहेका वाइडेन दशकौँको अनुभवप्राप्त, विदेशनीतिका ज्ञाता अनि प्रखर वक्ता राजनीतिज्ञका रूपमा परिचित छन्न् जो सामान्य नागरिकसँग पनि सहजतापूर्वक घुलमिल हुन सक्छन् ।

को हुन् त जो बाइडन ?

जो बाइडनले राजनीतिमा पहिलो पाइला चाल्दा अहिलेका कैयौँ मतदाता जन्मिएका पनि थिएनन् । वाइडेनको वाशिङ्टनसँगको नाता ४७ वर्षअघि सन् १९७३ मा जोडिएको थियो जब उनी अमेरिकी सिनेटका सदस्य बनेका थिए । अनि उनको पहिलो राष्ट्रपतीय प्रचार अभियान ३३ वर्षअघि सन् १९८७ मा भएको थियो ।

जो वाइडेनले राजनीतिमा पहिलो पाइला चाल्दा अहिलेका कैयौँ मतदाता जन्मिएका पनि थिएनन्

उनी मतदातालाई आकर्षित गर्न सक्ने स्वाभाविक नेता हुनुका साथै कुनै पनि बेला गलत वाक्य बोल्न सक्ने नराम्रो गुण भएका मानिस पनि हुन् । भिडका सामुन्ने बोल्दाबोल्दै चिप्लिँदा उनको पहिलो प्रचार अभियान सुरु हुनुभन्दा पहिल्यै खेर गएको थियो ।

वाइडेन सक्षम तथा प्रखर सार्वजनिक वक्ता हुन् तर उनी कहिलेकाहीँ नराम्रो समाचारको सामग्री बन्छन् । एउटा र्‍यालीमा भाषण गर्दै उनले भनेका थिए : ‘मेरा पुर्खा उत्तरपूर्वी पेन्सिल्भेनियाका कोइलाखानीमा काम गर्थे ।’ उनीहरूले जीवनमा अवसर नपाएकोमा आफू क्रोधित भएको उनले बताएका थिए ।

तर वास्तवमा उनका पुर्खा कोही पनि कोइलाखानीमा कामदार थिएनन् – उनले त्यो वाक्य (र अन्य कैयौँ वाक्य) एक ब्रिटिश राजनीतिज्ञ निल किनकको भाषणबाट चोरेका थिए । पछि ‘जो बम’का नामले परिचित बन्न पुगेका यस्ता विभिन्न गल्तीको शृंखलाको त्यो पहिलो कडी थियो ।

सन् २०१२ मा आफ्नो राजनीतिक अनुभवबारे बखान गर्दै उनले आफ्नो भाषणमा भने, ‘मैले आठ जना राष्ट्रपतिलाई चिनेको छु, तीन जनालाई त अत्यन्त निकट रूपमा ।’ विचार नगरी उनले भनेको कुरालाई निकट मित्रता मात्र नभई यौन सम्बन्ध रहेको रूपमा समेत अर्थ्याउन सकिन्थ्यो ।

बराक ओबामा र जो बाइडन

सन् २००९ देखि २०१७ को बीच वाइडेन बराक ओबामाका उपराष्ट्रपति थिए

सन् २००९ देखि २०१७ को बीच वाइडेन बराक ओबामाका उपराष्ट्रपति थिए । राष्ट्रपति ओबामाको उपराष्ट्रपतिको रूपमा सन् २००९ मा उनले ‘अर्थतन्त्रमा हामीले हानि पुर्‍याउने ३० प्रतिशत सम्भावना छ’ भनेर मानिसहरूलाई त्रसित बनाइदिए । उनले ओबामालाई वर्णन गर्दै यसो भनेका थिए ‘अफ्रिकी-अमेरिकी समुदायका पहिलो व्यक्ति जो प्रखर वक्ता छ, तीक्ष्ण र स्वच्छ अनि आकर्षक छ ।’ तापनि भाग्य नै भन्नुपर्छ अमेरिकाको पहिलो अश्वेत राष्ट्रपतिले उनलाई उपराष्ट्रपतिमा चुने ।

अनुभवी प्रचारक

मतदाताहरूसँगको भेटघाटमा वाइडेन निकै सहजरूपमा प्रस्तुत हुन्छन् । उनको स्पष्ट बोल्ने शैलीको अर्को पक्ष पनि छ । रोबट शैलीमा निकै योजनाबद्ध रूपमा तौलिएर बोल्ने राजनीतिज्ञहरूको भिडमा उनी एक वास्तविक मानिसजस्तो देखिन्छन् । बाल्यकालमा भकभकाउने समस्या स्मरणमा रहेकाले आफूले पढेर बोल्नुका साटो मनका कुरा बोल्न रुचाउने उनले बताएका छन् ।

मतदाताहरूसँगको भेटघाटमा वाइडेन निकै सहजरूपमा प्रस्तुत हुन्छन्

वाइडेनले अमेरिकी सिनेटका चुनाव सात पटक जितेका छन् । खासगरी कामदार तथा मजदुर वर्गलाई वाइडेनले आफ्नो स्वतःस्फूर्त भाषणमार्फत् तरङ्गित पारिदिन सक्छन् । भाषणपछि श्रोतासँग उनी हात मिलाउँछन् र फोटो खिचाउँछन् – कुनै रकस्टारले जस्तै ।

‘उनी मानिसहरूसँग अङ्कमाल गर्छन्, बोल्छन्, छुन्छन् र त्यो सबै वास्तविक हुन्छ। कृत्रिम हुँदैन,’ पूर्वविदेशमन्त्री तथा राष्ट्रपतिका पूर्वउम्मेदवार जन केरीले द न्यूयोर्क र पत्रिकालाई बताए । तर, उनको स्पर्श गर्ने बानीलाई लिएर कतिपय प्रश्न उठेका छन् ।

आरोपहरू

उनको व्यवहारलाई लिएर महिलाहरूबाट वाइडेनले कैयौँ आरोप खेपेका छन् । गत वर्ष बाइडनले आफूहरूलाई अनुचित रूपमा स्पर्श गरेको, अँगालो हालेको वा चुम्बन गरेको भन्दै आठ महिलाले आरोप लगाएका थिए । अमेरिकी सञ्चारमाध्यमहरूले वाइडेनले कसरी सार्वजनिक कार्यक्रममा उपस्थित महिलाहरूसँग निकट भावमा व्यवहार गर्छन् र कसरी उनीहरूको केश सुँघेको जस्तो गर्छन् भनेर पनि चित्रण गरे ।

वाइडेनले अमेरिकी सिनेटका चुनाव सात पटक जितेका छन्

प्रतिक्रियामा वाइडेनले आगामी दिनमा आफ्नो व्यवहारलाई लिएर होस पुर्‍याउने बताए । तर, मार्च महिनामा तारा रिड नामक महिलाले ३० वर्षअघि आफूलाई वाइडेनले यौन आक्रमण गरेको आरोप लगाइन्। त्यतिखेर उनी बाइडनको कार्यालयमा सहयोगी कर्मचारी थिइन् ।

वाइडेनले सो आरोप अस्वीकार गरे र उनको प्रचार कार्यालयले त्यस्तो हुँदै नभएको विज्ञप्ति जारी गर्‍यो । सन् २००८ मा ओबामाले उनको चुनाव विषय परिवर्तनको वाचामा केन्द्रित गरेका थिए तर बाइडनलाई त्यही कुरा फेरि गर्न गाह्रो पर्नेछ ।

उही गल्ती नदोहोर्‍याउने प्रयत्न

सामान्य मानिससँग निकटता देखाउने उनको आत्मीय शैलीका कारण वाइडेनले राम्रो गर्ने उनका समर्थकको आशा छ । वाशिङ्टनमा उनको धेरै अनुभव छ । सिनेटमा तीन दशकभन्दा धेरै अनि ओबामाको उपराष्ट्रपतिको रूपमा आठ वर्ष । करिब ५० वर्षदेखि उनी उच्चस्तरको राजनीतिमा संलग्न भइआएका छन् ।

सन् १९८७ मा वाइडेन पहिलो पटक राष्ट्रपति पदका निम्ति आकाङ्क्षी बनेका थिए । अमेरिकाका हरेक महत्त्वपूर्ण घटनाक्रममा बाइडन या त संलग्न छन् या त त्यसबारे केही टिप्पणी गरेका छन् । सन् १९७० मा सार्वजनिक विद्यालयहरूमा जातीय एकता कायम गराउन बालबालिकालाई अन्य इलाकामा बसबाट पुर्‍याउन भनी गरिएको निर्णयको विरोध गरिरहेका दक्षिणी क्षेत्रका समूहको समर्थनमा बाइडन उभिएका थिए ।

सन् १९८७ मा वाइडेन पहिलो पटक राष्ट्रपति पदका निम्ति आकाङ्क्षी बनेका थिए

यो विषयलाई पटकपटक उनको विरुद्धमा प्रयोग गरिएको छ । ओबामाको कार्यकालमा रक्षामन्त्री रहेका रोबर्ट गेट्सले विदेशनीति तथा राष्ट्रिय सुरक्षासँग सम्बन्धित लगभग प्रत्येक महत्त्वपूर्ण निर्णयमा बाइडन गलत ठहरिएको तर पनि उनलाई नरुचाउन भने नसकिने बताएका थिए ।

वाइडेनकी पहिलो पत्नी नेलिया र उनीहरूका छोरीले कार दुर्घटनामा ज्यान गुमाएका थिए । वाइडेन अन्य राजनीतिज्ञभन्दा सर्वसाधारण जनतानिकट देखिनुमा एउटा कारण भनेको अरूले जस्तै उनले बेहोरेका पारिवारिक शोक हुनसक्छ ।

सिनेटमा पहिलो चुनाव जितेपछि शपथ लिने तयारी गर्दै गर्दा भएको कार दुर्घटनामा उनको पत्नी नेलिया र छोरी नाओमीको ज्यान गएको थियो भने दुई छोरा बो र हन्टर घाइते भएका थिए ।वाइडेनका छोरा बोले डेलावेर राज्यका महान्यायाधिवक्ताको जिम्मेवारी सम्हालेका थिए र साथै सैनिक अधिकारीको रूपमा इराकमा खटिएका थिए ।

वाइडेनकी पहिलो पत्नी नेलिया र उनीहरूका छोरीले कार दुर्घटनामा ज्यान गुमाएका थिए

सन् २०१५ मा ४६ वर्षको उमेरमा मस्तिष्कमा ट्यूमरका कारण उनका छोरा बो वाइडेनको निधन भयो । आफ्नो परिवारका त्यति धेरै सदस्य गुमाएका वाइडेनप्रति सर्वसाधारण अमेरिकीमा सहानुभूति छ । तर, उनका अर्का छोरा हन्टरसँग भने अर्कै कथा जोडिन्छ ।

शक्ति, भ्रष्टाचार तथा झुट ?

हन्टर वाइडेनले पिताको राजनीतिमा जटिलता उत्पन्न गरिदिएका छन् । हन्टर पहिले वकिल थिए। पछि उनको व्यक्तिगत जीवन समस्याग्रस्त भयो । उनको पहिलो पत्नीले उनले लागूऔषध तथा मदिरा प्रयोग गर्ने गरेको अनि मोजमस्तीमा लागेको विषयलाई सम्बन्धविच्छेदको कारणको रूपमा प्रस्तुत गरेकी थिइन् ।

कोकिन प्रयोग गरेको पाइएका कारण उनी अमेरीकी जलसेनाबाट निष्काशनमा परेका थिए । उनले द न्यूयोर्क र पत्रिकासँगको कुराकानीमा आफूलाई ऊर्जा क्षेत्रसँग सम्बन्धित एक ठूला चिनियाँ व्यापारीले हीरा दिएको स्वीकारेका थिए। ती व्यापारीलाई पछि बेइजिङले भ्रष्टाचारमा छानबिन गरेको थियो ।

वाइडेनका छोरा बोले डेलावेर राज्यका महान्यायाधिवक्ताको जिम्मेवारी सम्हालेका थिए र साथै सैनिक अधिकारीको रूपमा इराकमा खटिएका थिए

गत वर्ष हन्टरले भेटेको एक सातापश्चात् नै दोस्रो पत्नीसँग बिहे गरेका थिए । उनको व्यक्तिगत जीवन र आम्दानीको विषयले वाइडेनपनि विवादमा तानिएका छन् । उनले गरेको आम्दानीको एउटा क्षेत्रचाहिँ यूक्रेन थियो । त्यसलाई लिएर राष्ट्रपति ट्रम्पले यूक्रेनका राष्ट्रपतिलाई हन्टरमाथि भ्रस्टाचारको अनुसन्धान गर्न दबाव दिएको भन्ने आरोप लाग्यो ।

विदेश मामिला

वाइडेनसँग विश्वमञ्चको धेरै अनुभव छ । कूटनीतिक अनुभव उनको बलियो पक्ष भएकाले विदेश मामिलासम्बन्धी काण्ड बाइडनको निम्ति बढ्ता हानिकारक हुन्छ । उनी विगतमा सिनेटको विदेशसम्बन्ध समितिका अध्यक्ष थिए । आफ्नो ४५ वर्षे राजनीतिमा विश्वका सबै अग्रणी नेतालाई भेटेको उनले दाबी गर्ने गर्छन् ।

वाइडेनसँग विश्वमञ्चको धेरै अनुभव छ

सन् १९९१ मा उनले पहिलो खाडी युद्धको विपक्षमा मतदान गरेका थिए भने सन् २००३ मा चाहिँ इराक अतिक्रमणको समर्थन गरेका थिए । पछि उनले अमेरिकाको इराकमा संलग्नताको आलोचना गर्न थाले । अलि सतर्क रहन रुचाउने वाइडेनले राष्ट्रपति ओबामालाई ओसामा बिन लादेनलाई समात्ने विशेष कारबाही नगर्न सुझाएका थिए । सो कारबाहीमा बिन लादेन मारिएका थिए ।

वाइडेनका दृष्टिकोणहरू डेमोक्र्याटिक पार्टीका कैयौँ युवा अभियानकर्मीहरूले भने रुचाउँदैनन् । उनीहरूले बर्नी स्यान्डर्स वा एलिजाबेथ वारेनका जस्ता कट्टर युद्धविरोधी अडानको समर्थन गर्छन् । तर, कैयौँ अमेरिकीको रुचिविपरीत उनी अलि ज्यादा शान्तिकामी पनि लाग्न सक्छन् ।उनको अधिकांश नीतिहरू मध्यमार्गी किसिमका छन् । (बीबीसीबाट)

प्रकाशित समय ०८:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु