गृहपृष्ठ ट्रम्पद्वारा निर्वाचन सुरक्षा प्रमुख बर्खास्त

ट्रम्पद्वारा निर्वाचन सुरक्षा प्रमुख बर्खास्त

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै भएको राष्ट्रपतीय निर्वाचनका सुरक्षा प्रमुखलाई बर्खास्त गरेका छन् । उनको कार्यकालमा जिम्मेवारी पाएका मध्ये अत्यन्त धेरै सम्मान गरिने व्यक्तिका रुपमा रहेका क्रिस्टोफर क्रेब्सलाई ट्रम्पले बर्खास्त गरेका हुन् ।

हालैको राष्ट्रपतीय निर्वाचनमा धाँधली भएको कुनै ठोस प्रमाण नपाइएको भन्दै राष्ट्रपति ट्रम्पको खुलेर आलोचना गरेकै कारण ट्रम्पले क्रिस्टोफरलाई बर्खास्त गरेको हो । राष्ट्रपति ट्रम्पले नोभेम्बर ३ तारिखका दिन भएको निर्वाचनका क्रममा धेरै ठाउँमा धाँधली भएको र आफूलाई पराजित भनिएको भन्दै असन्तुष्टि जनाउँदै आएका छन् ।

उनले अहिलेसम्म पनि आफू पराजित भएको र आफ्ना प्रतिस्पर्धी जो बाइडेन निर्वाचित भएको घोषणालाई अस्वीकार गर्दै आएका छन् । उनले कतिपय ठाउँमा धाँधली भएको भन्दै उजुरीसमेत दिएका छन् । ती उजुरीहरुलाई न्यायाधीशहरुले भने खारेज गरिदिएका छन् ।

राष्ट्रपति ट्रम्पले निर्वाचनमा धाँधली भएको दाबी गरे पनि कुनै आधार र प्रमाणहरु भने नदिएको भन्दै उनीहरुले उजुरी खारेज गरिदिएका हुन् । बर्खास्त गरिएका क्रिस्टोफर अमेरिकाको विद्युतीय सुरक्षा र भौतिक सुरक्षा निकायका निर्देशक थिए ।

निर्वाचनमा पराजित भएदेखि नै राष्ट्रपति ट्रम्पले उनीप्रति असन्तुष्टि र आक्रोश व्यक्त गर्दै आएका थिए । उनले क्रिस्टोफरलाई सुरुदेखि नै लक्षित समेत गरेको थियो । राष्ट्रपति ट्रम्पले यसअघि पनि आफ्नो कार्यकालमा थुप्रै उच्च पदाधिकारीहरुलाई बर्खास्त गरेका थिए ।

प्रकाशित समय १५:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु