गृहपृष्ठ चीन प्रजातन्त्र र स्वतन्त्रताका लागि सबैभन्दा ठूलो खतरा : अमेरिकी गुप्तचर प्रमुख

चीन प्रजातन्त्र र स्वतन्त्रताका लागि सबैभन्दा ठूलो खतरा : अमेरिकी गुप्तचर प्रमुख

अमेरिकाका वरिष्ठतम गुप्तचर अधिकारीले द्वितीय विश्वयुद्धयता चीन ‘प्रजातन्त्र र स्वतन्त्रताका लागि सबैभन्दा ठूलो खतरा’ भएको बताएका छन् ।

द वाल स्ट्रीट जर्नलमा लेख्दै जोन र्‍याटक्लिफले अमेरिकाका गोप्य सूचना चोर्दै तथा बजारमा अमेरिकी कम्पनीहरूलाई विस्थापित गर्दै चीनले आफ्नो सामर्थ्य बढाइरहेको आरोप लगाएका छन् ।

चिनियाँ सामानमाथि शुल्क थप्दै ट्रम्प प्रशासनले चीनप्रति कडा नीति अवलम्बन गरेको छ तथा बौद्धिक सम्पत्ति चोरी गरेको बेइजिङमाथि आरोप लगाउने गरेको छ । चीनले पछिल्लो आरोपबारे कुनै प्रतिक्रिया दिइसकेको छैन ।

यद्यपि आफ्ना सामानमाथि शुल्क लगाउने र अमेरिकी बजारबाट आफ्नो दूरसञ्चार कम्पनी ह्वावेईलाई टाढा राख्ने अमेरिकी प्रयासप्रति चीनले कडा प्रतिक्रिया जनाएको छ । बेइजिङले अमेरिकासँग मुठभेडको तयारी गरिरहेको र ‘आर्थिक, सैनिक तथा प्राविधिक रूपले’ विश्वमाथि हावी हुन खोजिरहेको र्‍याटक्लिफले बताएका छन् ।

चीनले अमेरिकाका साझेदारहरूमाथि दबाव बढाउँदै लगेको बेला र्‍याटक्लिफका यी टिप्पणीहरू आएका छन् । क्यान्बराले सुधार गर्नुपर्ने व्यवहारका सूची प्रकाशित गर्दै, अस्ट्रेलियाली मदिरा आयातमा शुल्क थप्दै र अफगानिस्तानमा मानवाधिकार उल्लङ्घनमा अस्ट्रेलियाली सैनिकको संलग्नताको विषय उठाउँदै बेइजिङले उसमाथि दबाव बढाएको हो ।

र्‍याटक्लिफले के भने ?

राष्ट्रिय गुप्तचर निकायका निर्देशकले चीन एक प्रकारको आर्थिक जासुसीमा संलग्न भएको भन्दै त्यसलाई ‘चोर्ने, नक्कल गर्ने र विस्थापित गर्ने’ कामको संज्ञा दिए । अमेरिकी प्रतिस्पर्धी कम्पनीबाट सूचना चोरेर एउटा चिनियाँ विन्ड टर्बाइन कम्पनी विश्व बजारमा गएकोमा दोषी पाइएको कुरालाई उनले उदाहरणको रूपमा प्रस्तुत गरे ।

त्यतिबेला अमेरिकी कम्पनीले सेयर साझेदार गुमाउनुका साथै आफ्ना कर्मचारीलाई परमुक्त गर्नुपरेको थियो । प्रत्येक वर्ष ५०० अर्ब डलर बराबरका अमेरिकी बौद्धिक सम्पत्ति चोरी हुने गरेको र्‍याटक्लिफले बताए ।

अमेरिकामा ‘व्यापक स्तरमा प्रभावित पार्ने अभियान’ मा पनि चीन संलग्न रहेको पनि उनले आरोप लगाएका छन् । बेइजिङले ‘रुसको भन्दा छगुना र इरानको भन्दा बाह्रगुनाले’ अमेरिकी कङ्ग्रेसका सदस्यहरूलाई निसाना बनाइरहेको र्‍याटक्लिफले बताए ।

अमेरकाले जस्तै अरू देशले पनि चीनबाट चुनौती खेप्नुपरेको उनको भनाइ छ । ‘विश्व वरीयतामा आफू सबैभन्दा माथि नहुनुलाई चीनले एउटा ऐतिहासिक त्रुटिको रूपमा बुझ्छ,’ उनले भने । ‘त्यसलाई ऊ बदल्न चाहन्छ र विश्वभरि स्वतन्त्रताको गतिलाई उल्टाउन चाहन्छ ।’

ट्रम्पको कार्यालयले चीनको कसरी सामना गरेको छ ?

राष्ट्रपति डोनल्ड ट्रम्पको कार्यकालमा अमेरिकाले चीनसँग विभिन्न क्षेत्रमा तनाव बढाएको छ । दुवै देशले एकअर्काका सामानमा ठूलो कर लगाएका छन् भने संवेदनशील क्षेत्रका सामान निर्यातमाथि नियन्त्रण गरेका छन् ।

बिहीवार ह्वाइट हाउसले चिनियाँ सेनासँग सम्बन्ध भएको विश्वासमा चीनका थप चारवटा कम्पनीलाई कालोसूचीमा राखेको छ । कोरोनाभाइरस महामारी र हङ्‌कङमा चीनले लागू गरेको सुरक्षा कानुनबारे पनि दुई देशबीच तिक्तता बढेको छ । ट्रम्पले कोरोनाभाइरसलाई ‘चिनियाँ भाइरस’ भन्दै आएका छन् ।

शिन्जियाङमा अल्पसङ्ख्यक उइगर मुस्लिमहरूमाथि चीनले दमन गरेको भन्दै अमेरिकाले केही चिनियाँ राजनीतिज्ञमाथि प्रतिबन्ध समेत लगाएको छ ।

के बाइडेनले फरक नीति अवलम्बन गर्लान् ?

ज्यानुअरीमा कार्यभार सम्हाल्न लागेका राष्ट्रपति-निर्वाचित जो बाइडनले चीनको सामना गर्न ट्रम्पकै नीतिलाई निरन्तरता दिने अपेक्षा गरिएको छ । तर अमेरिकी साझेदारहरूसँग मिलेर उनले त्यसो गर्ने बताइन्छ ।

बीबीसीकी ह्वाइट हाउस संवाददाताका अनुसार चीनसँग व्यापार लगायतका मुद्दामा कडा नीति लिने कुरामा रिपब्लिकन र डेमोक्र्याटिक पार्टीबीच विरल सहमति छ । चिनियाँ दूरसञ्चार प्रविधि बहिष्कार गर्ने मामिलामा वैश्विक समर्थन जुटाउन ट्रम्प प्रशासन सफल रहिआएको छ ।

यद्यपि उदीयमान चीनसँग जलवायु परिवर्तन लगायतका मुद्दामा बाइडनले सहकार्य गर्न खोज्ने देखिन्छ । (बीबीसीबाट)

प्रकाशित समय १५:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु