गृहपृष्ठ कोरोनाविरुद्धको फाइजर खोपलाई क्यानाडाको पनि स्वीकृति

कोरोनाविरुद्धको फाइजर खोपलाई क्यानाडाको पनि स्वीकृति

फाइल तस्बिर ।

कोरोनाभाइरसविरुद्धको फाइजर खोप नागरिकलाई लगाउन क्यानाडाले पनि स्वीकृति दिएको छ । क्यानाडाको स्वास्थ्यसम्बन्धी एक संस्था हेल्थ क्यानाडाले खोपको अनुमति दिने विषयमा व्यापक अनुसन्धान भएको र यहाँको सरकारले क्यानाडाका १६ वर्षभन्दा माथिको उमेरका नागरिकलाई लगाउनका लागि अनुमति दिइएको बताएको छ ।

अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सले क्यानाडा सरकारले फाइजर खोपको प्रभावकारिता र यसको स्वास्थ्य सुरक्षाका सम्बन्धमा व्यापक मात्रामा खोजी र अनुसन्धान गरेको र त्यसपछि यो खोप लगाउन सुरक्षित देखिएको भन्दै उक्त खोप सिफारिस गरेको हो । अर्को हप्तादेखि क्यानाडामा सो खोप लगाइने भएको छ । समाचारमा जनाइएअनुसार यहाँका स्वास्थ्य अधिकारीहरुले हप्तासम्ममा क्यानाडामा यो खोप आइपुग्ने र नागरिकलाई लगाउन थालिने जनाएका छन् ।

क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रयुडेउले अर्को हप्तासम्ममा यो खोप क्यानाडामा आइपुग्ने जानकारी दिए । उनले सो खोपको प्रभावकारिताको अनुसन्धान भएको र क्यानाडाका १४ वटा वितरक कम्पनीहरुले उक्त खोप यहाँ ल्याएर वितरण गर्ने बताए ।

उता, कोरोनाबाट अतिप्रभवित देशको सूचीमा रहेको बेलायतले मंगलबारदेखि नै कोरोनाविरुद्धको खोप लगाउने भएको यसअघि नै बताएको थियो । करिब एक साताअघि नै फाइजर बायोएनटेक खोपको बेलायती नियामक निकायले अनुमति दिएको थियो । बेलायती कम्पनीहरुले यो खोप वितरण गरिसकेका छन् र नागरिकले पनि लगाउन थालेका छन् ।

फ्रान्समा भने लकडाउन छ । यहाँका नागरिकको माग भए पनि लकडाउन खोल्न सरकार तयार भएको छैन । त्यसैले यहाँको सरकारले भने यस खोपका बारेमा कुनै निर्णय गरेको छैन । इंग्लयान्ड, वेल्स तथा स्कटल्यान्डमा कोरोनाविरुद्धको खोप सुरु भएको जानकारी बेलायती सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सबै अस्पतालमा राम्रो र उच्च क्षमतामा फ्रिज नहुँदा समस्या हुनसक्ने बताइएको छ । यहाँका मिडियाले करिब आठ लाख डोज खोप बेल्जियमबाट बेलायत पुगेको बताइएका छन् । बेलायतमा चाँडै नै यो खोप प्रयोग गर्ने विषयमा विभिन्न प्रश्न उठेको भए पनि बेलायत सरकारले खोप प्रयोग गर्ने नागरिकको सूक्ष्म निरीक्षण गरेर खोप सुरु गर्ने जानकारी गत हप्ता नै दिएको हो ।

विश्व स्वास्थ्य संगठनले भने जसलाई खोप आवश्यक पर्छ, उसलाई मात्रै प्रयोग गर्न भनेको छ । अहिल्यै सबैलाई खोप दिनु जरुरी नभएको संगठनको भनाइ छ । यो खोपका लागि विश्वका विभिन्न देशले खरिद अनुमति दिएका छन् । यो खोप क्यानाडाले ३६ करोड, बेलायतले ३६ करोड इन्डोनेसियाले ३५ करोड, जापानले २९ करोड र ब्राजिलले १९ करोड डोजको भ्याक्सिनका लागि पहिले नै खरिदको अनुमति दिएका छन् ।

संसारभरमा हालसम्म ६ करोडभन्दा बढी कोरोना संक्रमित भइसकेका छन् भने त्यसमध्ये १५ लाख भन्दा बढीको ज्यान गइसकेको छ । यो भाइरसबाट अमेरिकमा मात्रै संक्रमितको संख्या डेढ करोडभन्दा पनि बढी देखिएको छ । यहाँ २ लाख ९० हजारको ज्यान गएको छ । (रासस)

प्रकाशित समय ११:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु