गृहपृष्ठ उत्तराखण्ड बाढी : मृतक संख्या १८ पुग्यो, २ सय जना अझै बेपत्ता

उत्तराखण्ड बाढी : मृतक संख्या १८ पुग्यो, २ सय जना अझै बेपत्ता

भारतको उत्तराखण्डमा गएको हिमपहिरोमा परेर सोमबारसम्म १८ जनाको मृत्यु भएको तथा २०० भन्दा बढी बेपत्ता भएको उद्धारकर्मीहरुले बताएका छन् । आइतबारको हिमपहिरोका कारण तीव्र  बेगको पानी र हिउँले पुलहरु, सडकहरु र दुई वटा विद्युत गृहमा व्यापक क्षति पुगेको छ ।

स्थानीयवासी ओम अग्रवालले तीव्र गतिको नदीको भेल पहाड खसेजस्तै देखिएको बताउँदै नदी वरपरको जमिनमा भूकम्प गएझैं अनुभव गरिएको बताए । उत्तराखण्ड सरकारले सोमबारसम्म १८ जनाको शव निकालिएको जनाएको छ । मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले कम्तीमा २०० मानिस हराइरहेको बताए ।

बेपत्ता भएका सबैजसो व्यक्तिहरु विद्युत गृहमा कार्यरत मजदुर रहेका थिए । विद्युत गृहको सुरुङमा पसेको बाढी, माटो र ढुंगाका कारण केही मानिस सुरुङभित्रै थुनिएको उद्धारकर्मीको भनाइ छ । ‘यो घटना साँझपख भएको थियो भने त्यति ठूलो मानवीय क्षति हुने थिएन । घटना हुँदा मजदुर र श्रमिकहरु काममा थिए,’ मुख्यमन्त्री रावतले भने ।

आइतबार एउटा सुरुङबाट १२ जनालाई उद्धार गरिएको थियो तर २५-३५ जना दोस्रो सुरुङभित्र थुनिएको जानकारी प्राप्त भएको राज्य विपद् राहत अधिकारी पियूष राउटेलाले बताए । उनले भने, ‘झण्डै सुरुङभित्र करिब ८० मिटर सफा गरिएको छ । अझै १०० मिटर सफा गर्नुपर्ने अवस्था छ ।’

धेरै जना उद्धारकर्मीहरु सोमबार बिहानैदेखि खटिएका छन् । राष्ट्रिय र राज्य उद्धार टोलीहरु, सेना र प्रहरीका टोलीहरु घटनास्थलमा खटिएका छन् । सामाजिक संजालमा धेरै व्यक्तिले घटनाको प्रत्यक्ष भिडियोहरु पोस्ट गरेका छन् । साँघुरो उपत्यकाबाट तिब्र गतिमा पानी तलतिर बगेका भयानक दृश्यहरु देखिएका छन् ।

विद्युत गृहको सुरुङ (टनेल)भित्र कार्यरत एक जना २८ वर्षीय मजदुर राजेश कुमारले बाढी आउँदा आफूहरु सुरुङको ३०० मिटर भित्र रहेको बताउँदै एकाएक बाहिर निस्कन सबैलाई चेतावनी दिइएको स्मरण गरे । उनले भने, ‘हामी सबै दौडियौं तर पानी जोडले भित्र पस्न थाल्यो । यो कुनै हलिउडको चलचित्रको जस्तै दृश्य थियो । हामीलाई बाहिर निस्कन सकौंला भन्ने लागेकै थिएन ।’

भारतीय अधिकारीहरुले हिउँको ठूलो हिस्सा एकाएक नदीमा खसेपछि ठूलो बाढी आएको बताएका छन् । तर यो हिमताल विष्फोट भएर हिमपहिरोमा परिणत भएको र त्यो नदीमा खसेको पाइएको छ । विश्वव्यापी तापमान वृद्धिको प्रभावका कारण यस क्षेत्रमा हिमनदीका मुहान क्षेत्र बिस्तारै सुक्दै गएका छन् भने जलविद्युत निर्माणले पनि हिमपहिराहरु बढी नै जान थालेको विज्ञहरुले औंल्याएका छन् । सन् २०१३ मा आएको बाढीले ६ हजार व्यक्तिको ज्यान गएको थियो । उक्त घटनापछि उत्तराखण्डका विकास परियोजनाको समीक्षा गरिएको थियो ।

वातावरणसम्बन्धी कार्य गर्ने गैसस स्वेच्छाका संस्थापक विमलेन्द्र झाले पछिल्लो घटना जलवायु परिवर्तनका साथै जथाभावी भइरहेका सडक, रेलवे र विद्युत गृह निर्माणले झन समस्या निम्त्याएको बताए । (रासस)

प्रकाशित समय १७:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु