गृहपृष्ठ कोरोना महामारीकै बीचमा बैंकमा राखियो साढे ३ खर्ब

कोरोना महामारीकै बीचमा बैंकमा राखियो साढे ३ खर्ब

६ महिनामा बैंकिङ लगानी ३ खर्ब ९० अर्ब

विश्वव्यापी रूपमा नै कोरोना भाइरसको महामारीले अस्तव्यस्त बनाएर समग्र आर्थिक गतिविधि नै संकुचित भइरहेको बेला नेपालको बैंकिङ क्षेत्रमा भने ६ महिनाको अवधिमा मानिसले साढे ३ खर्ब रूपैयाँ बैंकमा लगेर राखेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो ६ महिनामा बैंकिङ क्षेत्रको निक्षेप ३ खर्ब ५२ अर्ब रूपैयाँले बढेको छ ।

असार मसान्तमा बैंकिङ क्षेत्रको कुल निक्षेप ३९ खर्ब ३४ अर्ब रूपैयाँबराबर रहेकोमा पुस मसान्तमा बढेर ४२ खर्ब ८४ अर्ब रूपैयाँ पुगेको छ । यो कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को झन्डै ११४ प्रतिशत बराबर हो ।

असोजमा सबैभन्दा बढी १ खर्ब ६३ अर्ब रूपैयाँ निक्षेप बैंकमा जम्मा भएको छ भने पुसमा १ खर्ब रूपैयाँ जम्मा भएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । कात्तिकमा भने सबैभन्दा कम ३ अर्ब ४० करोड रूपैयाँमात्र बैंकिङ प्रणालीमा जम्मा भयो ।

केन्द्रीय तथ्यांक विभागले आर्थिक वर्ष २०७६/७७ मा नेपालको जीडीपीको आकार ३७ खर्ब ६७ अर्ब रूपैयाँबराबर रहेको प्रारम्भिक अनुमान गरेको थियो । यो २.३ प्रतिशत वृद्धिदर कायम रहने प्रारम्भिक अनुमानमा आधारित तथ्यांक हो ।

गत आर्थिक वर्षमा ०.६ प्रतिशतको मात्र वृद्धिदर कायम भएको राष्ट्रिय योजना आयोगको अनुमानका आधारमा जीडीपीको आकार पनि ३७ खर्बभन्दा कम भएको अवस्थामा जीडीपीको अनुपातमा निक्षेप अनुपात अझ बढी हुन्छ ।

पहिलो ६ महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ९.२ प्रतिशतले बढेको  राष्ट्र बैंकले जानकारी दिएको छ ।  वार्षिक बिन्दुगत आधारमा २०७७ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप २२ प्रतिशतले बढेको छ ।

बैंकिङ क्षेत्रको कुल निक्षेपमध्ये ४९.२ प्रतिशत मुद्दती, ३३.६ प्रतिशत बचत, ८.५ प्रतिशत चल्ती र ९ प्रतिशत कल डिपोजिट छ । असारदेखि पुस मसान्तसम्म मुद्दती खाताको निक्षेप ९.४४ प्रतिशतले बढेको छ भने बचत खाताको निक्षेप १४.८० प्रतिशतले बढेको छ ।

२०७७ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४२.५ प्रतिशत छ, यो गत वर्षभन्दा घटेको हो । २०७६ पुस मसान्तमा यस्तो निक्षेपको अंश ४५.१ प्रतिशत थियो । यसको अर्थ सर्वसाधारणको निक्षेपको अनुपात बढ्दो क्रममा छ ।

पुस मसान्तसम्म बचत खाताको औसत ब्याजदर २.७८ प्रतिशतमा झरेको छ भने मुद्दती खातामा औसत ब्याजदर ८ प्रतिशत छ । समग्रमा निक्षेपको औसत ब्याजदर ५ प्रतिशत हुँदा कर्जाको औसत ब्याजदर ९ प्रतिशत कामय भएको राष्ट्र बैंकले जनाएको छ ।

वाणिज्य बैंकहरुको औसत आधार दर २०७६ पुसमा ९.४३ प्रतिशत रहेकोमा २०७७ पुसमा ७.१८ प्रतिशत कायम भएको छ । यसले बैं‌किङ क्षेत्रमा कर्जाको ब्याजदर निरन्तर घटेको देखाउँछ ।

बैंकरहरूले अधिक निक्षेप जम्मा भएको तुलनामा कर्जा संकुचित भएर लगानीयोग्य पुँजी (तरलता) बढेको बताए पनि पहिलो ६ महिनामा साढे ३ खर्ब निक्षेप जम्मा हुँदा ३ खर्ब ९० अर्ब रूपैयाँ लगानी भएको राष्ट्र बैंकको विवरणबाट देखिन्छ ।

पहिलो ६ महिनामा संकलित निक्षेपका आधारमा एनआईसी एसिया बैंक सबैभन्दा माथि छ, यो बैंकको कुल निक्षेप २ खर्ब ७७ अर्ब ३० करोड रूपैयाँबराबर पुगेको राष्ट्र बैंकको विवरणबाट देखिन्छ । यसैगरी, दोस्रो स्थानमा रहेको ग्लोबल आईएमई बैंकको कुल निक्षेप २ खर्ब ५१ अर्ब २९ करोड रूपैयाँ पुगेको छ ।

यस्तै, तेस्रो स्थानमा रहेको नेपाल बैंकको २ खर्ब ४२ अर्ब ४६ करोड, चौथो स्थानमा रहेको नबिल बैंकको २ खर्ब ३ अर्ब ५२ करोड,  पाँचौँ स्थानमा रहेको प्रभु बैंकको कुल निक्षेप १ खर्ब ७० अर्ब २३ करोड रूपैयाँ रहेको छ ।

प्रकाशित समय १७:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु