गृहपृष्ठ प्रदर्शनकारीलाई संयमता अपनाउन म्यानमारको सेनाको आह्वान
प्रदर्शनकारीलाई संयमता अपनाउन म्यानमारको सेनाको आह्वान
शासनसत्ता हातमा लिएको म्यानमारको सेनाले संयमता अपनाउन प्रदर्शनकारीलाई आह्वान गरेको छ । देशमा स्थिरताका लागि अहिलेको प्रदर्शन र विरोध बाधक हुने म्यानमारको सेनाले जनाएको छ ।
सेनाको तर्फबाट सोमबार जारी गरिएको वक्तव्यमा देशभर भइरहेका प्रदर्शन र विरोधप्रति ध्यानाकर्षण भएको उल्लेख गरिएको छ । सेनाले सत्ता हातमा लिएको विरोधमा म्यानमारमा सोमबार पनि देशभर शान्तिपूर्ण विरोध प्रदर्शन भएका थिए ।
म्यानमारको सेनाले स्थिरता, सार्वजनिक सुरक्षा र कानुनको पालना सुनिश्चित गर्न पनि सबैलाई अनुरोध गरेको छ । प्रदर्शनकारीहरूले स्टेट काउन्सिलर तथा चर्चित प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीलगायतका नेतालाई तत्काल रिहा गर्न माग गरेका छन् ।
म्यानमारको सेनाले फेब्रुअरी १ तारिखका दिन नेताहरूलाई नियन्त्रणमा लिएर शासन सत्ता आफ्नो हातमा लिएको घोषणा गरेको थियो । सेनाले नेताहरूलाई नियन्त्रणमा लिएर आफैँ निर्वाचन गराउने भन्दै एक वर्षका लागि संकटकालसमेत घोषणा गरेको छ ।
नोभेम्बरमा भएको निर्वाचनपछि गठित नयाँ संसद् र त्यसपछिका प्रक्रियाप्रति सेनाले असन्तुष्टि जनाउँदै आएको थियो । त्यही असन्तुष्टिकै बहानामा सेनाले सत्ता लिएको हो । सेनाको कदमको विश्वभरबाट विरोध भइरहेको छ । सेनाले राजनीतिक हस्तक्षेप गरेपछि सुरु भएको विरोध प्रदर्शनमा दिनप्रतिदिन सहभागिता पनि बढ्दै गइरहेको छ । सोमबार पनि दसौँ हजारमा मानिस सडकमा निस्किएर विरोध प्रदर्शनमा सहभागिता जनाएका छन् ।
प्रकाशित समय ०७:१० बजे

















