गृहपृष्ठ विरोध प्रदर्शनका लागि नेकपाका नेताहरुलाई जिम्मेवारी

विरोध प्रदर्शनका लागि नेकपाका नेताहरुलाई जिम्मेवारी

फाइल तस्बिर ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध आयोजित विरोध प्रदर्शनलाई प्रभावकारी बनाउन नेताहरूको जिम्मेवारी तोकेको छ । नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्का अध्यक्ष माधवकुमार नेपालको नेतृत्वले माघ २८ गते काठमाडौँको प्रदर्शनीमार्गमा आयोजना गर्ने प्रदर्शनका लागि नेतालाई जिम्मेवारी दिएको हो ।

केन्द्रीय संघर्ष समितिका अनुसार २८ गते पुल्चोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल र जमलबाट विभिन्न नेताहरुको नेतृत्वमा जुलुस निस्किनेछ । पुल्चोकबाट निस्कने जुलुसको नेतृत्व स्थायी समिति सदस्य कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्त, नेता प्रमेश हमाल तथा संघ–प्रदेशका सांसदले गर्नेछन् ।

त्यस्तै त्रिपुरेश्वर क्षेत्रको नेतृत्व अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, चक्रपाणि खनाल, जनार्दन शर्मा, मुकन्द न्यौपाने, युवराज ज्ञवाली, वर्षमान पुन, सुरेन्द्र पाण्डे, विष्णुपुकार श्रेष्ठलगायतले गर्ने नेकपाले जनाएको छ ।

माइतीघरमा नेता अमृतकुमार बोहोरा, गणेश शाह, गिरिराजमणि पोखरेल, भीम आचार्य, मातृका यादव, हरिबोल गजुरेल तथा केन्द्रीय कमिटीका सदस्य, सम्बन्धित प्रदेश कमिटी, संघ तथा प्रदेशका सांसदले नेतृत्व गर्ने कार्यक्रम छ ।

केशरमहलबाट निस्कने जुलुसको नेतृत्व देवप्रसाद गुरुङ, देवेन्द्र पौडेल, भीम रावल, शक्तिबहादुर बस्नेत, केन्द्रीय कमिटी सदस्य, सम्बन्धित प्रदेश कमिटीका सदस्यले गर्नेछन् भने जमलबाट निकाल्ने जुलुसमा लीलामणि पोखेल, केन्द्रीय कमिटी सदस्य, पेसागत संगठन हेर्ने केन्द्रीय सदस्यलगायतले गर्ने केन्द्रीय संघर्ष समितिले जनाएको छ । विरोध सभालाई अध्यक्षहरू प्रचण्ड, नेपाललगायतका नेताहरूले सम्बोधन गर्नेछन् ।

प्रकाशित समय ०७:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु