गृहपृष्ठ अमेरिकी प्रतिबन्धबाट थलिएको क्युबाद्वारा अन्तत: अर्थतन्त्र खुला गर्ने निर्णय

अमेरिकी प्रतिबन्धबाट थलिएको क्युबाद्वारा अन्तत: अर्थतन्त्र खुला गर्ने निर्णय

क्युबाले यसपटक एउटा आधारभूत संरचना परिवर्तन गर्न खोज्दैछ, दशकौंसम्मको कडा, केन्द्रीकृत नियन्त्रणपछि क्युबाको वामपन्थी सरकारले आफ्नो अर्थतन्त्रको ठूलो हिस्सा निजी क्षेत्रका लागि खुला गर्न लागेको छ ।

आर्थिक गिरावट र बढ्दो बेरोजगारीको सामना गरिरहेको क्युबाले अघि सारेको आर्थिक उदारीकरण उपायहरुले नयाँ अमेरिकी राष्ट्रपतिलाई दुई देशबीचको सम्बन्धमा परिवर्तन ल्याउन लालायित गर्नसक्ने विश्लेषकहरुको भनाइ छ ।

हवाना विश्वविद्यालयका अर्थशास्त्री रिकार्डो टोरेस भन्छन्, ‘क्युबा मामिलामा डोनाल्ड ट्रम्पका नीतिहरु वर्तमान बाइडेन प्रशासनले उल्ट्याउने तयारी गरिरहेको अवस्थामा क्युबा सरकारले अघि सारेको आर्थिक उदारीकरणको महत्व निकै बढी हुनेछ ।’

छ दशकसम्मको अमेरिकी प्रतिबन्धले क्युबाको अर्थव्यवस्थामा निकै ठूलो असर परेको थियो, खासगरी डोनाल्ड ट्रम्पको कार्यकालमा क्युबामाथि लगाइएका कडा प्रतिबन्धले क्युबाको अर्थतन्त्रमा गम्भीर प्रभाव परेको थियो । अझ, कोरोनाभाइरसले निम्त्याएको संकट र अर्थतन्त्रको मूल आधार मानिएको पर्यटन क्षेत्रमा आएको व्यापक गिरावटले अर्थव्यवस्था धरमराएको छ ।

गत महिना, ट्रम्पले क्युबाबिरुद्ध लगाएका प्रतिबन्धका कारण क्युबाले झण्डै २० अर्ब डलर नोक्सानी व्यहोर्नु परेको विवरण सार्वजनिक भएको छ । क्युबाको अर्थतन्त्र सन् २०२० मा ११ प्रतिशतले संकुचित भएको थियो भने निर्यात ४० प्रतिशतले घटेको थियो ।

गत साताको अन्त्यमा, क्युबा सरकारले आफ्नो अर्थव्यवस्थामा सुधार ल्याउन र रोजगारी सिर्जना गर्न निजी उद्यमलाई मान्यता दिने घोषणा गरेको छ । निजी क्षेत्रका कृयाकलापको संख्यालाई १२७ बाट २००० पुर्‍याइने छ, तर यसमा १२४ क्षेत्रलाई समेटिएको छैन जसमा प्रेस, स्वास्थ्य र शिक्षा रहेका छन् । यी क्षेत्रलाई सरकारले आफू मातहत राखेको छ ।

आर्थिक सुधारको पछिल्लो घोषणालाई क्युबा सरकारको सैद्धान्तिक अवधारणामै परिवर्तनका रुपमा हेरिएको छ । क्युबामा सन् १९६१ देखि नै अर्थतन्त्रको अधिकांश हिस्सा सरकार र यससँग सम्बन्धित कम्पनीको नियन्त्रणमा रहेको छ । क्युबाले सन् १९९० को दशकदेखि आफ्नो अर्थतन्त्रलाई बिस्तारै खुला गरेको हो । तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाको प्रशासनका दिनहरुमा क्युबासँगको सम्बन्ध निकै उन्नत भएको थियो । आज, करिब छ लाख क्युबालीले निजी क्षेत्रमा रोजगारी पाएका छन् । कूल श्रमशक्तिको यो करिब १३ प्रतिशत हिस्सा हो । अधिकांशले होटल, रेस्टुराँ, यातायात र पर्यटन क्षेत्रमा रोजगारी पाएका छन् । लाखौं मानिस सरकारी रोजगारीमा छन्, तर यथार्थ विवरण सार्वजनिक भएको छैन ।

पूर्वराष्ट्रपति ट्रम्पले ओबामा प्रशासनले क्युबाका नीतिहरुलाई परिवर्तन गरेका थिए । ट्रम्पले अमेरिकी क्रुज जहाजहरुलाई क्युबाको जलक्षेत्रमा जान प्रतिबन्ध लगाउने, धेरैवटा क्युबाली कम्पनी र धनाढ्यलाई कालोसूचीमा राख्ने, क्युबामा व्यवसाय गर्ने विदेशी कम्पनीमाथि कारबाही गर्ने तथा विदेशमा रोजगारी गरेर कमाएको पैसा क्युबा पठाउन कठिनाई उत्पन्न गर्नेसम्मका प्रतिबन्धहरु लगाएका थिीए ।

नयाँ अमेरिकी राष्ट्रपति जो बाइडेनले सम्बन्ध सामान्यीकरण गर्ने उद्देश्यले ओबामाका केही नीतिहरुलाई पुनः सुरु गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । तर बाइडेनले पूर्वशर्तका रुपमा क्युबामा मानव अधिकारको स्थितिको समीक्षा गरिने बताएका छन् । संयुक्तराज्य अमेरिकाका कतिपय व्यक्तिले क्युबा नीतिमा आएको परिवर्तनलाई स्वागत गरेका छन् । कृषि, निर्माण र सूचना प्रविधि जस्ता क्षेत्रमा रहेर तलब आर्जन गर्ने व्यक्तिहरुले अमेरिकी निर्णय स्वागतयोग्य रहेको बताएका छन् ।

अमेरिकी सिनेटर प्याट्रिक लेहीले ट्वीट गर्दै भनेका छन्, ‘सम्बन्ध सुधारमा ढिलाई भइसकेको थियो, अहिले आएको समाचार स्वागतयोग्य छ । संयुक्तराज्य अमेरिकाले क्युबाका निजी उद्यमलाई दण्डित गर्नेगरी प्रतिबन्धहरु लगाउनु जायज होइन ।’

क्युबाका कतिपय नेताहरुका लागि क्युबामा गर्न लागिएको निजीकरणले तनावमा पार्ने देखिएको छ । क्युबाका अर्थशास्त्री ओमार एभरलेनी पेरेजले ‘निजी’ शब्दको वामपन्थी शक्तिहरु नै राज्यशक्तिमा रहिरहने मनसायबाट प्रेरित रहन सक्ने बताएका छन् । सन् १९८० को दशकमा भियतनामले खुला अर्थतन्त्रको नारा अघि सारे पनि कम्युनिष्ट पार्टीको बर्चश्व कायम राखिएको उनको भनाइ छ । ‘अहिले त्यो मार्गमा पुग्न धेरै बाँकी छ, तर धेरै क्युबाली नेताको दिमागमा त्यही कुरा खेलेको भान हुन्छ,’ उनले भनेका छन् ।

कम्युनिष्ट पार्टी सत्तामा रहेका मुलुकका अनुभवबाट पनि क्युबाली नेताहरुले सिक्न सक्नेछन्, ‘यदि तपाईं रोजगारी सिर्जना गर्न चाहनु हुन्छ भने तपाइँसँग निजी क्षेत्रलाई हुर्कने मौका दिनुको विकल्प नै छैन ।’ अमेरिका-क्युबा व्यापार तथा आर्थिक परिषदका अध्यक्ष जोन काभुलिच क्युबा सरकारले बाइडेन प्रशासनलाई आर्थिक पुनर्संरचनाका लागि आफूहरु गम्भीर रहेकामा आश्वस्त बनाउनुपर्नेमा जोड दिन्छन् । (रासस)

प्रकाशित समय १७:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु