गृहपृष्ठ बंगलादेशका पूर्वप्रधानमन्त्री जिया ढाका जेलमा स्थानान्तरण
बंगलादेशका पूर्वप्रधानमन्त्री जिया ढाका जेलमा स्थानान्तरण
‘न्याय पाउदिन थाह छ, हात खुट्टामा पक्षाघात छ, मलाई जहाँ शासन गर्ने हो गर’
बंगलादेशका पूर्वप्रधानमन्त्री तथा विपक्षी दलकी नेत्री खालिदा जियालाई बुधबार राजधानी ढाकाको अर्को जेलमा स्थानान्तरण गरिएको छ ।
भ्रष्टाचारको अभियोगमा जेल सजाय भोगिरहेकी जियालाई सरकारले ढाका केन्द्रीय जेलमा स्थानान्तरण गरेको हो । ७३ वर्षकी जियाले पाँचवर्षे जेल सजाय भोगिसकेकी छन् ।
उनलाई जेल सार्ने बेलामा ह्लिचियरबाट लगिएको थियो । राम्रोसँग सुन्नसमेत नसक्ने नेत्री जियाले आफू अत्यन्त बिरामी भएको अदालतसमक्ष बताएकी थिइन् ।
उनले भनिन्, ‘मैले न्याय पाउदिन भन्ने मलाई थाहा छ, मेरो हात खुट्टामा पक्षाघात भएको छ, मलाई जहाँ राखेर शासन गर्ने हो गर ।’
बङ्गलादेशको एनटीभीबीडी डट कमले सम्प्रेषण गरेको समाचारमा बंगलादेश नेशनलिष्ट पार्टीका प्रमुख जियाले भनिन्, ‘तिमिहरूले जस्तो चाहन्छौं, त्यस्तैगरी मलाई कारवाही गर्न सक्छौं, तर राम्रोसँग बस्न र उपचार गर्न देऊ ।’
आफूमाथि राजनीतिक प्रतिशोधका आधारमा मुद्दा लगाइएको उनले बताउँदै आएकी छन् ।
बच्चाहरूका लागि विश्वभरबाट संकलन गरिएको बाल विकाससम्बन्धी एक कोषको एक करोड ६१ लाख रकम दुरूपयोगको अभियोगमा उनलाई अदालतले दोषी ठहर गरेको हो ।
अदालतले नेत्री जियाका चार जना सहयोगीलाई भने १० वर्षको जेल सजाय सुनाएको थियो ।
प्रकाशित समय १०:११ बजे