गृहपृष्ठ कतार एयरवेजको जहाजलाई पानी ट्यांकरले ठक्कर दियो

कतार एयरवेजको जहाजलाई पानी ट्यांकरले ठक्कर दियो

भारतस्थित कोलकाता विमानस्थलबाट कतारको दोहा उडान भर्न लागेको कतार एयरवेजको जहाजलाई पानी ट्यांकरले ठक्कर दिएको छ । कतार एयरवेजको जहाजलाई बिहीबार विहान पानी ट्यांकरले ठक्कर दिएको भारतीय सञ्चार माध्यमले बताएका छन् ।

करिब १०० जना भन्दा बढी यात्रु रहेको जहाजलाई ट्यांकरले ठक्कर दिए पनि कसैलाई क्षति नपुगेको भारतस्थित ‘प्रभात खबर’ले समाचार प्रकाशित गरेको छ । घटना लगत्तै पानी ट्यांकर चालकलाई डिजिसिएले निलम्बन गरिदिएको छ भने घटनाका सम्बन्धमा अनुसन्धान गर्नका लागि एक जाँच कमिटि गठन गरिएको छ ।

उता घटनाका सम्बन्धमा अलग्गै जाँच गराउन कतार एयरवेजले पनि निर्देशन दिएको छ । प्रारम्भिक रिपोर्ट अनुसार पानी ट्यांकरमा केही समस्या आएको थियो भने ब्रेकले काम गरिरहेको थिएन ।

एयरपोर्ट अथोरिटी अफ यन्डियाका एक अधिकारीका अनुसार बिहीबार विहान लगभग साढे दुई बजे कतार एयरवेजको यो जहाज दोहाका लागि उडान भर्दै थियो । सोही समय एउटा पानी ट्यांकरले जहाजलाई ठक्कर दियो ।

ठक्कर लगत्तै जहाजलाई ग्राउन्ड गरिएको थियो । त्यसलगत्तै सबै यात्रीलाई जहाजबाट उतारेर विमानको जाँच गरिएको थियो । घटनामा कोही यात्रीलाई कुनै नोक्सान नपुगेको अधिकारीहरुले बताएको प्रभात खबरले लेखेको छ । जहाजमा १०३ यात्री थिए । यद्यपी घटनापछि केही यात्रीहरु डराएको ति अधिकारीले बताए ।

प्रकाशित समय १७:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु