गृहपृष्ठ विश्वचर्चित पात्रहरूकाे सिर्जना गर्ने लेखकको निधन : अलविदा स्टेन ली

विश्वचर्चित पात्रहरूकाे सिर्जना गर्ने लेखकको निधन : अलविदा स्टेन ली

अमेरिकी लेखक तथा मार्भल कमिक्सका पूर्वअध्यक्ष स्टेन लीको निधन भएको छ । लामो समयदेखि बिरामी रहेका लीको ९५ वर्षको उमेरमा लस एन्जलसस्थित सिडर साइनाइ मेडिकल सेन्टरमा स्थानीय समयअनुसार सोमबार बिहान निधन भएको हो ।

स्टेन लीले मार्भलका लागि कैयौं कमिक्स कथा लेखे र असाधारण शक्ति भएका कैयौं पात्र रचे । उनले आफ्नो कामबाट थुप्रै प्रशंसा कमाए । स्पाइडर म्यान, आयरन म्यान, हल्क, डेयरडेविल र फन्टास्टिक फोर जस्ता सबै कमिक्स बुकका सुपर हिरो स्टेन लीको कल्पनाको उपज थियो जसलाई उनले अलग–अलग रुप दिए । सन् १९६१ मा लीले मार्भल कमिक्सका लागि द फ्यान्टास्टिक फोरको रचना गरेका थिए । यस्तै स्पाइडरम्यान र द इन्क्रेडिबल हल्क शीर्षक अन्तर्गत कमिक लेखेका थिए ।

नेपालसहित संसारभर स्टेनलीका बढीभन्दा बढी प्रशंसक छन् । उनका पात्रमा आधारित कैयौं फिल्म पनि बनेका छन् ।

लीको पाव इन्टरटेन्मेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृतले पप संस्कृतिका पिता लीले पात्रहरूको ब्रह्माण्ड सिर्जना गरेको भन्दै प्रशंसा गरेका छन् । सीईओ शेन डफीले लीसँग तुलना गर्न सकिने खालको अर्को व्यक्ति नभएको बताए ।

लीकी श्रीमती जोआनको ९५ वर्षको उमेरमा सन् २०१७ मा निधन भएको थियो । उनीहरूकी एकमात्र छोरी जेसी ली छिन् । मनोरञ्जनात्मक समाचार पस्कने टीएमजी वेबसाइटसँग कुरा गर्दै जेसी लीले आफ्ना बुवा एकदमै भद्र व्यक्ति भएको बताएकी छन् । समाचार संस्था रोयटर्सलाई उनले भनिन्, ‘मेरा बुवाले आफ्ना प्रशंसकका लागि रचना गरिरहनुपर्ने दायित्व महसुस गर्नुभयो ।’

स्टेन ली निमोनियाँ रोगबाट ग्रसित थिए । त्यसमाथि स्वास्थ्यमा अन्य समस्या थपिँदै गएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् । रोमानियाबाट अमेरिका बसाइँसराइ गरेको एउटा कामकाजी परिवारमा सन् १९२२ मा लीको जन्म भएको थियो । उनी यहूदी परिवारमा जन्मिएका थिए । टाइम्ली पब्लिकेसन्सको कमिक शाखामा काम थालेका उनले १८ वर्षको उमेरमा कमिक्सका सम्पादक बनेका थिए । लामो समयसम्म उनले अपराध, डराउने कथा र पश्चिमा युवा लक्षित कथाहरूमा आधारित कमिक लेखेका थिए । उनले काम गरेको कम्पनी उनका आफन्तको कम्पनी थियो र पछि गएर त्यही कम्पनी मार्भल कमिक्स बन्यो ।

प्रकाशित समय १३:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु