गृहपृष्ठ बुटवलको सरसफाइ महाअभियान २४औं हप्तामा
बुटवलको सरसफाइ महाअभियान २४औं हप्तामा
बुटवल सरसफाइ अभियानमा जनसहभागिता बढ्दै गएको छ । अभियानको चौबिसौं साताको शृंखलासम्म पुग्दा स्वस्फूर्त रुपमा सहभागी हुने क्रम बढेको छ ।
बुटवल उपमहानगरपालिकाअन्तर्गत विभिन्न सामाजिक संघसंस्थाले अगाडि बढाएको अभियानले २४औं शृंखला पूरा गरेको छ । शनिबार बुटवल बहुमुखी क्याम्पसदेखि ट्राफिक चोकसम्म सरसफाइ गरिएको छ ।
बुटवल उपमहानगरपालिकाले सुरु गरेको अभियानमा मुख्यमन्त्री, मन्त्रीहरु, सांसदहरुदेखि यातायात मजदुरसम्मको सहभागिता छ । बिहानै ७ बजे बुटवलमा एक हुल मान्छे सडकमा निस्कने र भेटेजतिको फोहोर टिपेर लैजाने गर्दै सुरु भएको अभियानमा सार्वजनिक निजी दुबै क्षेत्रको उत्तिकै सहभागिता जुटेको उपमहानगरपालिकाले जनाएको छ ।
चौबिसौं शृंखलामा सरसफाइ अभियानमा उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, उपप्रमुख गुमादेवी आचार्य, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र सिग्देल, वडा अध्यक्षहरु, सामाजिक महाशाखा प्रमुख भुवाप्रसाद लुइँटेललगायतको सहभागिता थियो ।
‘हाम्रो बुटवल हामी सफा गर्छौ’ भन्ने सन्देश प्रवाह गर्न बुटवले महाअभियान सुरु गरेको प्रमुख शिवराज सुवेदीले बताए । उनले ‘आफ्नो सहर आफैं सफा राखौं’ भन्ने सुझाव जनस्तरबाटै आएकाले यस्तो अभियान सुरु गरिएको बताए ।
उपमहानगरको सरसफाइको नियमित कामका अतिरिक्त सार्वजनिक क्षेत्रहरुलाई लक्षित गरेर जनसहभागिताको यस्तो अभियान सुरु गरिएको उपमहानगरपालिका प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिए । नेपाल स्वतन्त्र यातायात मजदुर संगठन प्रदेश ५ ले संयोजन गरिरहेको सरसफाइ कार्यक्रममा शनिबार तीन सय २५ जना भन्दा धेरैको स्वस्फूर्त सहभागिता रहेको अगुवा ठाकुर गैरेले बताए ।
प्रकाशित समय ०८:३९ बजे
















