गृहपृष्ठ प्रदर्शनका कारण फ्रान्सको अर्थतन्त्रमा भारी क्षति

प्रदर्शनका कारण फ्रान्सको अर्थतन्त्रमा भारी क्षति

महंगीविरुद्धको प्रदर्शनले फ्रान्सको अर्थतन्त्रमा ठूलो क्षति पुर्याएको त्यहाँका अर्थमन्त्रीले बताएका छन् । तेलको बढ्दो मूल्य, दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि र अन्य केही मुद्दालाई लिएर फ्रान्समा चार हप्तादेखि मजदुरहरुले प्रदर्शन गरिरहेका छन् ।

गत शनिबार सवा लाखभन्दा बढी मानिसले प्रदर्शन गरेका थिए । प्रदर्शनमा उत्रिएकामध्ये १२०० भन्दा बढी प्रदर्शनकारीलाई हिरासतमा लिइएको छ । सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति इमानुएल म्याक्रोनले जारी संकट समाधान गर्न विशेष घोषणा गर्न सक्नेछन् ।

अर्थमन्त्री ब्रुनो ले माइरेले वर्तमान स्थितिलाई समाज र लोकतन्त्रका लागि संकट भनेका छन् । पेरिसमा प्रदर्शनका क्रममा तोडिएका पसलको अवलोकनमा पुगेका अर्थमन्त्री माइरेले भने, ‘व्यापारका लागि नरसंहार हो, यो हाम्रो अर्थव्यवस्थाका लागि विध्वंस हो ।’

प्रदर्शनका कारण भएको नोक्सानको एकीन विवरण पत्ता लगाउन निकै मुस्किल रहेको अधिकारीहरुले बताएका छन् । यद्यपि, भारी क्षति भएको उनीहरुको भनाइ छ । ले परीसियन पत्रिकाको रिपोर्टअनुसार राजधानीमा पचासभन्दा बढी बाहन जलाइएको छ र दर्जनौं पसलहरु लुटिएको छ ।

पेरिस प्रशासनले प्रदर्शनका कारण अर्बौं यूरो नोक्सान भएको बताएको छ । प्रदर्शनका कारण फ्रान्सको पर्यटन उद्योगमा पनि कमी आएको आशंका गरिएको छ । सन् २०१७ मा चार करोडभन्दा बढी पर्यटक पेरिस पुगेका थिए ।

प्रकाशित समय ११:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु