गृहपृष्ठ पहिलो वार्ता सिंगापुरमा गरेका ट्रम्प-किमको दोस्रो वार्ता कहाँ हुँदैछ ?
पहिलो वार्ता सिंगापुरमा गरेका ट्रम्प-किमको दोस्रो वार्ता कहाँ हुँदैछ ?
फाइल तस्बिर .
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोन उन दोस्रो शिखर वार्ताको तयारी गरिरहेका छन् । किमसँगको वार्ताका लागि ह्वाइट हाउस विशेष उत्सुक देखिएको छ ।
सम्भवतः यही शिखर वार्ताको तयारीस्वरूप किम चीन भ्रमणमा गएका थिए । उत्तर कोरियाको परमाणु निशस्त्रीकरणमा विश्वशक्तीलाई चीनको सहयोग आवश्यक पर्ने टिप्पणी भइरहँदा किम चिनिया राष्ट्रपति सि चीनफिङलाई भेट्न बेइजिङ पुगेका थिए ।

किम सँगको दोस्रो शिखर वार्ताको लागि वार्तास्थल तय भइसकेको वासिङ्टनले जनाएको छ । आगामी फेब्रुअरी अन्तिम साता विश्वले उत्सुकताका साथ हेरिरहेको वार्तामा ट्रम्प र किम सहभागी हुनेछन् । ह्वाइट हाउसले यसको घोषणा गरिसकेको छ ।
वार्तामा उत्तर कोरियाको परमाणु निशस्त्रीकरणका सम्बन्धमा छलफल हुने बताइएको छ । उता ट्रम्पले शनिबार वार्ताका लागि देशको छनोट भइसकेको जानकारी दिए । ट्रम्पले धेरै कुरा नबताए पनि यो मुद्दामा उल्लेख्य प्रगति भएको भन्न भने छुटाएनन् ।
ट्रम्प र किम कहाँ भेट्लान् ? यो प्रश्नको उत्तर आधिकारिक रूपमा नआएको भए पनि सम्भावित स्थानका रूपमा भियतनामलई हेरिएको छ । कतिपय विदेशी सञ्चारमाध्यमले शिखर वार्ताका लागि भियतनाम सरकारले तयारी गरिरहेको समाचार प्रकाशित गरेका छन् । भियतनामको राजधानी हनोई या तटीय शहर दनांगमा वार्ता हुनसक्ने सम्भावना रहेको समाचारमा जनाइएको छ ।

यसअघि गत जुनमा सिंगापुरमा ट्रम्प र किम भेटेका थिए । यो वार्ताको केही समयपश्चात उत्तर र दक्षिण कोरियाबीचको सम्बन्धमा सुधार आएको थियो । जसको परिणामस्वरूप हालै किमले चीन भ्रमण गर्दा दक्षीण कोरियाले स्वागत गरेका थिए ।
सिंगापुर वार्तामा कोरियाली प्रायद्वीप परमाणु मुक्त गर्ने सहमति भएको थियो । तर, त्यसयता उक्त मामिलामा खासै प्रगति भएको छैन । यसैबीच किमका विशेष दूत किम योंग चोलसँग शुक्रबार भेटेपछि ट्रम्पले दोस्रो शिखर वार्ताको घोषणा गरेका हुन् ।
ह्वाइट हाउसका प्रवक्ता सारा स्यान्डर्सका अनुसार ट्रम्प र चोलबीच करिब डेढ घण्टा वार्ता भएको थियो । जसमा परमाणु निशस्त्रीकरण र दोस्रो शिखर वार्ताका सम्बन्धमा छलफल भएको थियो । स्यान्डर्सका अनुसार किम सँगको दोस्रो भेटलाई लिएर ट्रम्प उत्साहित छन् । यद्यपी उनले पनि वार्तास्थलबारे ‘पछि घोषणा गरिने’ बताए ।
प्रकाशित समय १२:५१ बजे

















