गृहपृष्ठ ललितपुर महानगरमा फ्लाइओभर निर्माणको अध्ययन सुरु

ललितपुर महानगरमा फ्लाइओभर निर्माणको अध्ययन सुरु

lalitpur-newskarobar

ललितपुर महानगरले महानगरभित्र फ्लाइओभर निर्माण गर्न अध्ययन सुरु गरेको छ । स्थानीय तहको निर्वाचनमा निर्वाचित भएपछि चिरीबाबु महर्जनले महानगरमा फ्लाइओभर बनाउने योजना रहेको बताउँदै आए पनि महानगरको बोर्ड बैठकले निर्णय गरेको झण्डै सत्र महिना पछि यो योजना सुरु भएको हो ।

महानगरपालिकाले फ्लाइओभर निर्माणको सम्भाव्यता अध्ययन शुरु गरेको मेयर चिरिबाबु महर्जनले जानकारी दिए । गत बर्ष जेठ २२ मा बसेको महानगरको बोर्ड बैठकले फ्लाइओभर निर्माण सम्बन्धी निर्णय पारित गरेको थियो । अध्ययनका लागि महानगरले ९८ लाख रुपैयाँ बजेट समेत विनियोजन गरेको छ ।

राजधानीमा सवारी चापका कारण भएको धूलो, धूवाँ, जाम लगायतको समस्यालाई न्युनिकरण गर्न तथा आवत जावतमा समेत समस्या भएकाले त्यसलाई निराकण गर्ने लक्ष्यका साथ फ्लाइओभर निर्माण हुने भएको छ ।

महानगरले पुल्चोक देखि कुपन्डोलसम्म डेढ किलोमिटर लामोे फ्लाइओभर निर्माण गर्ने जनाएको छ । डेढ किलोमिटर लामो फ्लाइओभरलाई कुपन्डोलभन्दा अघि लैजाने वा नलैजाने विषयमा सम्बन्धित निकायसँग पनि छलफल जारी रहेको छ । अध्ययनपछि पुल निर्माणमा लाग्ने लागत, उपयुक्त स्थानलगायत विषय अध्ययन प्रतिवेदनमा आउने महानगरपालिकाले जनाएको छ ।

फ्लाइओभर निर्माणमा विभिन्न दातृ निकायहरुले चासो देखाएका छन् । जापानी सहयोग नियोग (जाइका)ले पुलका निर्माणमा बढी चासो देखाएकोले जाइका एक्लैलाई गर्न दिने अथवा अरू साझेदारसँग सहकार्य गर्ने भन्ने अध्ययन पछि टुंगो लाग्ने बताइएको छ ।

सरकारले यसअघि गरेको अध्ययनमा प्रतिकिलोमिटर ९ अर्ब रुपैयाँ लागत लाग्ने अनुमान गरेको थियो । जाइकाको अध्ययनअनुसार नै उक्त लागत निर्धारण गरिएको हो ।

प्रकाशित समय १९:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु