गृहपृष्ठ कनकाईमा युवा स्वरोजगार कार्यक्रम प्रदेशमै पहिलो
कनकाईमा युवा स्वरोजगार कार्यक्रम प्रदेशमै पहिलो
झापाको कनकाई नगरपालिकाले प्रदेश नं १ मै पहिलो पटक आन्तरिक कोषबाट युवा स्वरोजगार कार्यक्रम सञ्चालनमा ल्याएको छ ।
विभिन्न पेशा व्यवसाय गरेर आत्मनिर्भर हुन चाहने युवाका लागि नगरपालिकाले आन्तरिक कोषबाट युवा स्वरोजगार कार्यक्रम सञ्चालनमा ल्याएको नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिए । ‘केन्द्रीयस्तरबाट यो कार्यक्रम लागू भए पनि स्थानीय तहले आफ्नै कोष खडा गरेर युवालाई स्वरोगार बनाउन तालीम र ऋण दिने कनकाई पहिलो स्थानीय तह हो’, उनले भने, ‘कार्य्विधि बनाएर काम अघि बढाएका छौँ, यो कार्यक्रम निरन्तर अघि बढाइने छ ।’
नगरपालिकाले चालु आर्थिक वर्ष २०७५–०७६ बाट शुरु गरेको युवा स्वरोगार कार्यक्रमका लागि ५२ लाख रुपैयाँ बजेटसमेत छुट्याएको छ । पहिलो चरणमा कोषको रकमबाट २० युवालाई २४ लाख रुपैयाँ वितरणसमेत गरिसकिएको छ । ‘तरकारी खेती र पशुपालन तालीम दिएर रु एक लाखदेखि एक लाख ५० हजारसम्म वितरण गरेका छौँ’, नगरप्रमुख पोखरेलले भने, ‘दोस्रो चरणमा मजदूर वर्गलाई लक्षित गरी कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको छ ।’
नगरपालिकाले दोस्रो चरणअन्तर्गत हेयर कटिङ, प्लम्बिङ, हाउस वायरिङलगायतका क्षेत्रमा काम गर्नेलाई आवश्यक तालीम दिएर रकम प्रदान गर्ने भएको हो । तालीमपछि प्राप्त रकमबाट युवाले पेशा–व्यवसाय सञ्चालनार्थ आवश्यक उपकरण खरीदमा रकम खर्चिनु पर्नेछ ।
दोस्रो चरणका लागि पनि निवेदन माग गरिसकिएको र प्राप्त निवेदनका आधारमा छनोटमा परेका युवालाई रकम प्रदान गरिने नगरपालिकाले जनाएको छ । कार्यक्रमअन्तर्गत युवालाई रु २१ लाख प्रदान गरिने भएको छ । बढ्दो विदेश पलायन रोक्न र स्वदेशमै स्वरोगार बन्न युवालाई सहयोग मिलोस् भन्ने उद्देश्यले स्थानीयस्तरमै कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाकी उपप्रमुख मञ्जु प्रसाईंले बताइन् । नगरपालिकाले तीन प्रतिशत ब्याजदरमा सहुलियत ऋण उपलब्ध गराएको हो । (रासस)
प्रकाशित समय ०९:२९ बजे
















