गृहपृष्ठ सैनामैना नगरपालिकामा घरबारविहीनलाई नमुना घर
सैनामैना नगरपालिकामा घरबारविहीनलाई नमुना घर
नमुना बस्ती बनाइन लागिएको स्थान
विभिन्न परिस्थितीका कारण घरबारविहीन भएका नगरबासीलाई रुपन्देहीस्थित सैनामैना नगरपालिका आफैले घर निर्माण गर्ने योजना अघि बढाएको छ । संघीय सरकारको तराई समृद्धि कार्यक्रम अन्तर्गत पेश गरिएको नमुना बस्ती प्रस्ताव स्वीकृत भएपछि नगरपालिकाले यस्तो योजना अघि बढाएको हो ।
सैनामैना नगरपाभित्र घरवारविहिनको संख्या पहिचान गरी उनीहरुलाई उक्त नमुना घर हस्तान्तरण गरिनेछ । विभिन्न परिस्थीती, प्रकोप तथा घटनाबाट आफ्नो जग्गा पनि नभएका, घर पनि नभएका व्याक्तिहरुलाई समृद्धिको रुपमा उक्त घर निर्माण गर्न लागिएको नगर प्रमुख चित्र बहादुर कार्कीले जानकारी दिए ।
यस्तै नगरपालिकाले अहिले निर्माण गर्दै गरेको चक्रपथबाट समेत विस्तापित भएका केही घरवारविहिनहरुलाई पनि उक्त नमुना बस्तीमा राखिने योजना रहेको नगर प्रमुख कार्कीले जानकारी दिए । सैनामैना नगरपालिका-११ को बरौली भाटा गाउँमा नदी उकास क्षेत्रलाई नमुना बस्तीको रुपमा विकास गर्ने नगरपालिकाको योजनालाई संघीय सरकारले समेत साथ दिएको छ ।

कुल लागत १ करोड १० लाखमा पहिलो चरणमा ५ वटा नमुना घर निर्माण हुनेछन् । त्यस्तै दोस्रो चरणमा घर निर्माणको क्रमलाई निरन्तरता दिने नगरप्रमुख चित्र बहादुर कार्कीले जानकारी दिए । ‘असार सम्ममा ५ वटा नमुना घर निर्माण गर्ने योजना छ,’ नगरप्रमुख कार्कीले भने, ‘नदी उकास जग्गालाई उपयोग गरी उक्त कार्य गर्न लागेका हौं ।’
संघीय सरकारमा नगरपालिकाले लगेको प्रस्ताव स्वीकृत भएको र अब केही समयमा नै उक्त निर्माणको कार्य अगाडि बढाउने नगर प्रमुख कार्कीले बताए । भुकम्प प्रतिरोधी, सुरक्षित आवासको रुपमा बेघरबार, जमिन पनि नभएका व्याक्तिहरुलाई मापदण्ड बनाएर प्रदान गरिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद भण्डारीले जानकारी दिए ।
सैनामैना नगरपालिका-११ को बरौलीभाटामा रहेको करिब ५ बिघा जग्गामा नमुना बस्ती बन्नेछ । उक्त नमुना बस्तीको लागि जग्गा छनौट कार्य सकीएको छ भने नक्सा डिजाइनको कार्य समेत अगाडि बढेको छ । गरपालिकाले कुल लागतको १० प्रतिशत व्यहोर्ने छ भने अन्य ९० प्रतिशत संघीय मन्त्रालयले व्यहोर्ने छ ।
पहिलो चरणमा नमुना बस्तीको रुपमा निर्माण गरिने र यसलाई विस्तार गरिने छ । कोही पनि नागरिक आवासको अभावमा जीवन बाँच्न नपरोस भन्ने उद्देश्यले नमुना बस्ती निर्माण गर्न लागिएको नगरपालिकाले जनाएको छ । प्रस्ताव गरिएको जग्गाको केही समय पहिला स्थानीय, जनप्रतिनिधि, सरोकारवाला निकाय, प्राविधिक टोलीले निरीक्षण समेत गरेको थियो ।

प्रकाशित समय १२:११ बजे

















