गृहपृष्ठ स्थानीय तहको मनपरी : विज्ञापन भएका पदमा करारमा कर्मचारी भर्ती
स्थानीय तहको मनपरी : विज्ञापन भएका पदमा करारमा कर्मचारी भर्ती
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा तत्काल भर्ती रोक्न सर्कुलर
यतिखेर देशभरबाट माग भएबमोजिम लोकसेवा आयोगले सञ्चालन गरेको परीक्षाको धमाधम नतिजा आइरहेको छ । बुधबार मात्रै काठमाडौंबाट खुलेको छैटौं तह (अधिकृत स्तर)को नतिजा आएको छ ।
केही ठाउँबाहेक शाखा अधिकृत पदको नतिजा आइसकेको छ भने खरिदार, नायब सुब्बा, महिला विकास निरीक्षक, सहायक महिला विकास निरीक्षकलगायत पदको नतिजा केही दिनभित्रै आउँदै छ । मंसिरभित्रै सबै तहको नतिजा सार्वजनिक गर्ने लोकसेवाको तयारी छ ।
तर, स्थानीय तहले कर्मचारी माग गरी लोकसेवामा सिफारिस गरेका पदमा धमाधम आफैं करारमा कर्मचारी भर्ती गरेको पाइएको छ । स्थानीय तहहरूले विज्ञापन भइसकेका पदमै मनपरी कर्मचारी भर्ती गरेको भेटिएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तत्काल रोक्न निर्देशन दिएको छ । मन्त्रालयले विज्ञापन भइसकेका पद पूर्ति भए/नभएको विवरण पनि स्थानीय तहहरूसँग माग गरेको छ ।
स्थानीय तहले विज्ञापन भएका पदहरूको पोस्टिङ नै प्रभावित हुनेगरी करारमा कर्मचारी भर्ती गरेको पाइएपछि सामान्य प्रशासन मन्त्रालयले त्यस्ता पद सुरक्षित गर्न देशभरका स्थानीय तहलाई सोमबार निर्देशन दिएको छ । मन्त्रालयअन्तर्गतको जनशक्ति योजना तथा विकास शाखाका अधिकृत प्रवीण कोइरालाले सोमबार एक सर्कुलर जारी गरी कर्मचारी समायोजन ऐन २०७५ को दफा १२ बमोजिम विज्ञापन भएका पद सुरक्षित राख्न स्थानीय तहलाई निर्देशन दिएका छन् ।
सर्कुलरमा भनिएको छ, ‘कर्मचारी समायोजन ऐन २०७५ को दफा १२ बमोजिम यस मन्त्रालयबाट अनुरोध भई विज्ञापन भएको र सोही सेवा समूह र तहका पदमा सिफारिस भई आएका उम्मेदवारलाई स्थायी नियुक्ति दिनुपर्ने अवस्था रहेको हुँदा सम्पूर्ण स्थानीय तहहरूले आफूले माग गरेको विज्ञापित पद सुरक्षित राख्नु हुन आदेशानुसार अनुरोध गरिन्छ ।’
प्रकाशित समय १०:४९ बजे

















