गृहपृष्ठ लमजुङकाे पर्यटकीय गाउँ सिउरुङमा सिउरूङ महोत्सव
लमजुङकाे पर्यटकीय गाउँ सिउरुङमा सिउरूङ महोत्सव
लमजुङ- पर्यटकीय गाउँ सिउरुङमा पर्यटन प्रवद्र्धनको निम्ती जेठको दोस्रो साता ११औँ सिउरुङ महोत्सव हुने भएको छ ।
मर्स्याङ्दी गाउँपालिकाको सो गाउँमा विगतका वर्षझैँ यसपटक पनि ११ आैँ सिउरुङ महोत्सव हुनेभएको हो । सदरमुकाम बेँसीशहरमा पत्रकार सम्मेलन गरी महोत्सवको बारेमा जानकारी गराइएको थियो ।
ग्रामीण होमस्टे प्रवर्ध्दन, स्थानीय कला संस्कृतिको संरक्षण र संवर्धन तथा स्थानीयस्तरमा उत्पादित घरेलु उत्पादनको प्रवर्ध्दनका लागि महोत्सव आयोजना गरिएको महोत्सव मूलआयोजक समितिका संयोजक नन्द घलेले बताए । ‘दैनिक आन्तरिक तथा बाह्य पर्यटक सिउरुङ हेर्नका लागि आउँछन्, पछिल्ला वर्षमा शहर झरेका पर्यटन व्यवसायी गाउँ फर्केका छन’ उनले भने, ‘गाउँमा थप पर्यटक आउन सकुन भनेर महोत्सव गर्न लागेका हौँ ।’
महोत्सवमा स्थानीय कला संस्कृति झल्कने झाँकीका साथै स्थानीय हस्तकलाका सामग्रीको प्रदर्शन गरिने छ । महोत्सवमा खाना महोत्सव, कृषि, जडीबुटी, चोयाबाट निर्मित भकारी, डोको, स्याखू, चर्खा, झोला, पछ््यौरालगायत ऊन र धागोबाट निर्मित सामग्रीको प्रदर्शन गरिने महोत्सव मूल आयोजक समितिले जनाएको छ ।
समुद्री सतहदेखि करीब एक हजार ८५४ मिटरको उचाइमा रहेको पर्यटकीय गाउँ सिउरुङमा गुरुङ जातिको घना बस्ती छ । विभिन्न हिमशृंखलाको दृश्यावलोकन, प्राकृतिक सुन्दरता, संस्कृति, स्थानीय बासिन्दाको हार्दिकता, आत्मियता र पाहुना सत्कार सिउरुङ गाउँको विशेषता हो ।
प्रकाशित समय १०:३० बजे

















