गृहपृष्ठ देशभरका अस्पतालमा विशेषज्ञ सेवा विस्तार गर्दै मेडिसिटी
देशभरका अस्पतालमा विशेषज्ञ सेवा विस्तार गर्दै मेडिसिटी
काठमाडौं– डेढ महिनाअघि स्थापित नेपालकै ठूलो अस्पताल नेपाल मेडिसिटीले सेवा विस्तारलार्इ तीव्रता दिएको छ । गैरआवासीय नेपाली संघका संस्थापक डा. उपेन्द्र महतोको लगानीमा सञ्चालित अस्पतालले देशभरका सरकारी तथा निजी अस्पतालसँग सहकार्य गर्दै सेवा विस्तार तीव्र पारेको हो ।
मेडिसिटीले स्थापनाको छोटो अवधिमै देशका २५ वटा सरकारी तथा निजी अस्पतालसँग विशेषज्ञ सेवा उपलब्ध गराउने गरी सहकार्य गरिसकेको छ । उपचारका लागि ठूलो रकम खर्च गरेर विदेशिनुपर्ने अवस्थाको अन्त्य गर्ने उद्देश्यसहित स्थापित अस्पतालले देशका ७७ वटै जिल्लामा सेवा विस्तार गर्दै लैजाने योजना बनाएको छ । ‘हामी तत्काल पोखरा, बुटवल, वीरगन्ज, हेटौंडा, चितवनलगायत सहरका सरकारी तथा निजी अस्पतालहरूसँग विशेषज्ञ सेवा प्रदान गर्ने गरी सहकार्य गर्दै छौं,’ अस्पतालका महाप्रबन्धक विजय रिमालले भने, ‘यो अभियान देशभर लैजाने छौं ।’
मेडिसिटीले सिरहाको फूलकुमारी महतो मेमोरियल हस्पिटलबाट पनि हरेक महिनाको पहिलो शनिबार विशेषज्ञ सेवासहितको उपचार प्रदान गरिरहेको छ । साथै, हरेक मंगलबार दिउँसो ३ देखि ४ बजेसम्म मेडिसिटीका सम्बन्धित चिकित्सकले टेलिमेडिसिनबाट फलोअप सेवा दिनेछन् ।
ललितपुरको नख्खुमा स्थापित मेडिसिटी चार सय रोपनीमा फैलिएको छ । अस्पताल भवनले मात्रै ३० रोपनी ओगटेको छ । स्थापनाको छोटो अवधिमै अस्पतालले बिरामीको मन जितेको छ । हाल ओपिडीमा दैनिक दुर्इ सयभन्दा बढी बिरामी आउन थालेको अस्पताल प्रशासनले जनाएको छ ।
मेडिसिटी स्थापनासँगै उपचारका लागि विदेश जानुपर्ने अवस्थाको अन्त्य भएको अस्पतालको दाबी छ । अन्तर्राष्ट्रियस्तरका प्रविधि तथा उपकरण र अनुभवी डाक्टरबाट सेवा प्रदान गरिने भएकाले उपचारका लागि विदेश जानै नपर्ने अस्पतालका महाप्रबन्धक रिमालले बताए ।
अस्पतालमा हाल ३ सय शय्या छन् । अस्पतालले यसलाई बढाएर ७ सय ५० पुर्याउने लक्ष्य लिएको छ । अस्पतालले हेलिकप्टरबाट आउने इमर्जेन्सी बिरामीलार्इ लक्षित गर्दै दुईवटा हेलिप्याड बनाएको छ । अस्पतालले बोनम्यारो, मृगौला तथा कलेजो प्रत्यारोपणसम्मका सेवा दिने लक्ष्य राखेको छ । अस्पतालमा एमआरआई, प्याथोलोजी ल्याब, सिटी स्क्यान, इन्डोस्कोपिक अल्ट्रासाउन्डका साथै अत्याधुनिक मोडुलर अपरेसन थिएटर र ब्लड बैंक छन् ।
प्रकाशित समय १७:१० बजे

















