गृहपृष्ठ दुर्इ वाम एक ठाम
दुर्इ वाम एक ठाम
काठमाडौं– नेकपा एमाले र माओवादी केन्द्रबीच विधिवत् रुपमा एकीकरण भएको छ । दुवै पार्टी विघटन गरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मात्रै रहने वाम एकता गरी एकता प्रक्रिया सम्पन्न भएको हो ।
नयाँ पार्टीको केन्द्रीय समिति ४४१ सदस्यीय रहनेछ, जसमा तत्कालीन एमालेका तर्फबाट २४१ जना र माओवादीका तर्फबाट २०० जना रहने नेतृ पम्फा भुसालले जानकारी दिइन् । सहमतिअनुसार दुवै पार्टीका अध्यक्षले संयुक्त रुपमा नयाँ पार्टीको अध्यक्षता गर्नेछन् । स्थायी समितिमा भने तत्कालीन एमालेबाट २६ र माओवादीबाट १९ जना रहनेछन् ।
यसैबीच, एमाले र माओवादी केन्द्रको एकतापछि बन्ने नेकपा कम्युनिस्ट पार्टीमा नौ सदस्यीय ‘हाइकमान्ड’ रहने भएको छ । यो हाइकमान्ड पार्टी सञ्चालनमा निर्णायक हुनेछ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको पार्टी एकता संयोजन समितिको बैठकले हाइकमान्ड गठन गरेको हो । हाइकमाण्डमा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड रहने बताइएको छ । त्यसपछिको वरीयतामा झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा बादल र विष्णु पौडेल रहने जनाइएको छ । संगठनको काम गर्ने जिम्मेवारीसहित पौडेललाई महासचिवको जिम्मेवारी दिन लागिएको बुझिएको छ ।
प्रकाशित समय १५:२६ बजे
















