गृहपृष्ठ १० बुँदे घोषणापत्र जारी ग¥यो मातृभाषा पत्रकारिताले
१० बुँदे घोषणापत्र जारी ग¥यो मातृभाषा पत्रकारिताले
काठमाडौं-मातृभाषाको पत्रकारिताको विकास गर्न १० बुँदे घोषणा पत्र जारी गर्दै मातृभाषा पत्रकारिता सम्मेलन राजधानीमा सम्पन्न भयो ।
‘संघीय संरचनामा सञ्चार, मातृभाषा पत्रकारिताको आधार’ भन्ने मूल नाराका साथ नेवाः पत्रकार राष्ट्रिय दबूले नेपाल आदिवासी जनजाति पत्रकार महासंघसंग संयोजन गरी सो सम्मेलन आयोजना गरेको हो ।
सम्मेलनमा प्रस्तुत गरिएको २६ वटा भाषिक पत्रकारिता सम्बन्धी कार्यपत्रको नीष्कर्षलाई समेटिएर सो घोषणापत्र जारी गरिएको पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष श्रीकृष्ण महर्जनले जानकारी दिए ।
घोषणापत्रमा नेपाली सञ्चार जगत्मा आदिवासी जनजाति पत्रकारिताको न्यून उपस्थितिलाई नीति निर्माण तहले समस्याको रूपमा आत्मसात् गर्नुपर्ने र यसको समाधानका लागि बहुआयामिक सकारात्मक पहल अगाडि बढाउनुपर्ने उल्लेख गरिएको छ ।
नेपालमा विगत ९३ वर्षदेखि निरन्तरता पाइरहेको मातृभाषा पत्रकारिताको लहर आगामी दिनमा थप सशक्त बनाउँदै लानुपर्ने आवश्यकता अनुभव गर्दै राज्यले समानुपातिक र समानताका आधारमा अनुदान वितरण प्रणाली सञ्चालन गर्नुपर्नेमा घोषणापत्रमा उल्लेख गरिएको छ ।
त्यसैगरी राज्यले राष्ट्रिय स्तरमा प्रत्येक वर्ष मातृभाषा पत्रकारिता दिवस आयोजना गर्नुपर्ने पनि घोषणापत्रमा औल्याइएको छ ।
मातृभाषा पत्रकारिता राज्यको आँखामा सकारात्मक संरक्षकत्व, प्रोत्साहन, प्राथमिकताको विषयवस्तु हुन नसकेका कारण परिपक्व, सुविधायुक्त, उर्वर र विकसित हुन नसकेको तथ्यलाई सम्मेलनले आत्मसात् गर्र्दै घोषणापत्र जारी गरिएको पत्रकार दबूका अध्यक्ष महर्जनले बताए ।
नेपाललाई समावेशी, सहभागितामूलक र लोकतान्त्रिक मूल्यमान्यतामा आधारित जातीय विविधताले युक्त जीवन्त राष्ट्रका रूपमा अगाडि बढाउन सञ्चार माध्यम पूर्ण समावेशी हुनुपर्ने र त्यसको महत्वपूर्ण आधारका रूपमा आदिवासी जनजाति समुदायबीच अभ्यासमा रहेको मातृभाषा पत्रकारितालाई थप सशक्त, उपलब्धिमूलक, व्यावसायिक र सिर्जनशील बनाउनुपर्ने खाँचो पनि घोषणापत्रमा औल्याइएको छ ।
त्यसैगरी घोषणापत्रमा नेपाली सञ्चार जगत्मा आदिवासी जनजाति पत्रकारिताको न्यून उपस्थितिलाई नीति निर्माण तहले समस्याको रूपमा आत्मसात् गर्नुपर्ने र यसको समाधानका लागि बहुआयामिक सकारात्मक पहल अगाडि बढाउनुपर्ने, नीति निर्माण तहमा आदिवासी जनजाति पत्रकारको प्रतिनिधित्व सुनिश्चित गरिनुपर्ने भनिएको छ ।
घोषणापत्रमा भनिएको छ ‘नेपाली सञ्चार माध्यमको अन्तर्वस्तुमा नेपालको विविधता प्रतिविम्बित हुनुपर्ने र त्यसका लागि समाचारकक्षमा आदिवासी जनजाति समुदायको समानुपातिक प्रतिनिधित्व हुनुपर्दछ ।’
घोषणापत्रमा पत्रकारितालाई समानता र सामाजिक न्याय, पहिचानका लागि आदिवासी जनजातिले गर्दै आएको आन्दोलनको अभिन्न अंगका रूपमा आत्मसात् गरिनुपर्ने, आदिवासी जनजाति सञ्चार पहलका लागि विशेष सुविधा तथा प्रोत्साहनको व्यवस्था हुनुपर्ने पनि उल्लेख गरिएको छ ।
काठमाडौं महानगरपालिकका प्रमुख विद्यासुन्दर शाक्यले सम्मेलनको उद्घाटन गरेका थिए । संघीय संरचनामा मातृभाषाको पत्रकारितालाई राज्यले प्रर्वद्धन गर्ने नीति तर्जुमा गराउने उद्देश्यले सो सम्मेलनको आयोजना गरिएको कार्यक्रम संयोजक एवं दबूका उपाध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले जानकारी दिए ।
प्रकाशित समय ०७:४० बजे

















