एकता र फुटको विगत
पार्टी स्थापनाको ६९ वर्षमा कम्युनिस्ट पार्टीहरू झन्डै दुई दर्जनको संख्यामा विभाजन भएका थिए । २००६ सालमा स्थापना भएको कम्युनिस्ट पार्टीमा चार वर्षदेखि नै विभाजनको बीउ रोपिएको थियो । एमाले–माओवादीको इतिहासमा भने पाँच दशकको सम्बन्धविच्छेदपछि पुनर्मिलन भएको छ ।
पार्टी एकतामा रहेका यी दुई प्रभावशाली वाम पार्टी ५६ वर्षपछि सगोलमा आएका छन् । यी दुई वाम शक्ति २०१९ सालको तेस्रो महाधिवेशनपछि दुई धारमा विभाजित भएका थिए ।
एमाले धारको उदय र इतिहास
तेस्रो महाधिवेशनमा पुष्पलाल श्रेष्ठले नेतृत्व गरेको समूहको विकसित पार्टी नै अहिले एमालेको धार थियो । यो समूहले पनि कैयौं टुटफुटको शृंखला बेहोरेको छ । यही समूहबाट २०२७ सालमा झापा जिल्ला कमिटीले विद्रोह गरी ‘झापा सशस्त्र विद्रोह’ गरेको थियो । त्यहीँबाट केपी शर्मा ओलीले राजनीति गरेका थिए ।
२०३२ सालमा कोअर्डिनेसन कमिटी बनेको थियो । त्यही समूह २०३५ मा नेकपा (माले) बन्यो । २०३५ सालमा मुक्ति मोर्चा, पूर्वको रातो झन्डा र पश्चिमको रातो झन्डा (सन्देश) समूहको पनि मालेसँग एकता भयो । पुष्पलाल समूहमा २०३० सालमा अर्काे विभाजन आयो । नेकपा (पुष्पलाल), मजदुर किसान सभा र नेपाल मजदुर किसान संगठन गरी तीन समूह बन्यो ।
पुष्पलाल समूहमा पनि २०३३ सालमा फेरि पुष्पलाल समूह, मुक्ति मोर्चा र सर्वहारा क्रान्तिकारी संगठन नेपालका नाममा विभाजन आएको थियो । त्यसमध्ये २०३६ सालमा मनमोहन अधिकारीको नेतृत्वमा गठित नेकपा, सहाना प्रधानको पुष्पलाल समूहको एकता २०४३ सालमा भएपछि नेकपा (माक्र्सवादी) बनेको थियो ।
नेपाल मजदुर किसान संगठनका नाममा रहेको संगठन पनि विभाजन भएको थियो । त्यसमध्ये एउटा समूह नेपाल मजदुर किसान समिति र अर्काे नेपाल मजदुर किसान संगठनका रूपमा विभाजन भयो । २०३१ सालमा नारायणमान बिजुक्छे (रोहित) को समूहले नेपाल मजदुर किसान संगठनलाई पार्टीका रूपमा अघि बढायो, जुन समूह अझैसम्म अस्तित्वमा छ ।
किसान समिति र २०३४ मा गठन भएको सर्वहारा कम्युनिस्ट लिगबीच २०४० मा एकता भएपछि सर्वहारावादी श्रमिक संगठन बन्यो । त्यसको बहुमत पक्षले मालेसँग र अर्काे पक्षले रूपलाल विश्वकर्मासहित एकता केन्द्रसँग एकता ग¥यो । त्यसपछि २०४७ सालमा माले र माक्र्सवादीबीच पार्टी एकता भएपछि एमाले बनेको हो । तर, एमालेमा पनि २०५४ सालमा विभाजन भयो । सहाना प्रधान, वामदेव गौतम, सीपी मैनालीलगायतले त्यसबेला एमाले विभाजन गरे । २०५८ सालमा गौतमसहित अधिकांश हिस्साले पुनः एमालेसँगै पार्टी एकता ग¥यो । सीपी मैनाली भने फर्केनन् । उनले मालेकै नेतृत्व गरिरहे ।
माओवादीको उदय र इतिहास
पुष्पलाल समूहलाई आरोपित गर्दै अलग भएका मोहनविक्रम सिंह, मोहन वैद्य, निर्मल लामाहरूले नेतृत्व गरेको धारकै विकसित रूप हो, माओवादी केन्द्र । पुष्पलाल समूहसँग विभाजित भएपछि यो समूहलाई चौथो महाधिवेशनका रूपमा चिनिन्थ्यो ।
यसभित्र पनि २०३० सालयता विभाजनको अनगिन्ती शृंखला जोडिए । २०३० मा नेकपा (मशाल) र नेकपा (चौम) का रूपमा विभाजन भयो । मोटो मशालमा पनि लगत्तै मोहनविक्रम र मोहन वैद्यले अलग–अलग समूह बनाए । वैद्यले मोटो मशाल र सिंहले पातलो मसालका नाममा पार्टी चलाए ।
यसमा बढीजसो मोहनविक्रम सिंहबाट नेताहरूले पार्टी विभाजन गर्ने क्रम चलिरह्यो । सिंहबाट फेरि बाबुराम भट्टराई, हरिबोल गजुरेललगायतले विद्रोह गरे । त्यसपछि २०४७ सालमा नेकपा (चौम), नेकपा (मशाल), रूपलाल समूहको सर्वहारा श्रमिक संगठन र विद्रोही मसालबीच एकता भई नेकपा एकता केन्द्र गठन भयो ।
सशस्त्र युद्धको तयारी गर्ने गरी गठन भएको उक्त पार्टी युद्धमा जाने÷नजाने विषयमा पक्ष–विपक्ष भएपछि २०५१ सालमा विभाजन आयो । पुष्पकमल दाहाललगायतले नेकपा (माओवादी) र नारायणकाजी श्रेष्ठलगायतले एकता केन्द्र नै रहने गरी अलग पार्टी गठन गरे ।
मोहनविक्रम र नारायणकाजीबीच २०५९ सालमा पार्टी एकता भयो र पार्टीको नाम नेकपा एकता केन्द्र मसाल रह्यो । त्यसअघि पुनः मोहनविक्रमसँग दीनानाथ शर्माको नेतृत्वमा अलग्गै विद्रोही मसाल गठन गरेर माओवादीसँग एकता गरे । युद्धमा रहेको माओवादीले पनि २०६० सालमा गोपाल किरातीलगायत सम्मिलित किरात वर्कर्स पार्टीसँग एकता ग¥यो ।
२०५९ मा एकता गरेको मोहनविक्रमको नेकपा (मसाल) मा २०६० मा पुनः विभाजन आयो । उनले नेकपा (मसाल) र नारायणकाजीले एकता केन्द्र मसाल पार्टी नाम राखे । एकता केन्द्र मसालले पछि माओवादी शान्ति प्रक्रियामा आएपछि २०६५ सालमा पार्टी एकता ग¥यो । मोहनविक्रम नेतृत्वको पार्टी अझै अलग्गै समूहका रूपमा छ ।
२०६५ सालमा एकता केन्द्र मसालसँग पार्टी एकतापछि माओवादीमा पनि विभाजन र एकताको शृंखला चलिरह्यो । एकता केन्द्रसँग पार्टी एकता गरेर नाम परिवर्तन गर्ने भएपछि मातृका यादवले पार्टी छाडेर पुरानो पार्टी आफूले चलाए । पुष्पकमल दाहाललगायतको पार्टी एकीकृत माओवादी बन्न पुग्यो ।
यसबीचमा माओवादीले साना समूहमा रहेका केशव नेपालको नेकपा २००६ लाई २०६३ सालमा, संयुक्त लोकतान्त्रिक मोर्चा डा. राममान श्रेष्ठको समूहलाई २०६३ मै, कृष्णदास श्रेष्ठको नेकपा (मालेमा केन्द्र), नेमकिपाबाट विद्रोही बनेका हर्कबहादुर शाही समूहलाई २०६४ मा पार्टीमा मिलायो ।
२०६५ मा विद्रोही मसालबाट आएका हुकुमबहादुर सिंह, नेकपा (संयुक्त) का डा. लोकेन्द्र शर्मा, नेकपा (एकीकृत) का कृष्ण भुजेल, २०६६ मा नेकपा (माले) बाट विद्राही बनेकादेखि २०६७ मा नयाँ जनवादी मोर्चालाई पार्टीमा मिलाउने काम भयो । मोहनविक्रमतर्फ भने विभाजनको शृंखला नै थियो । २०६३ मा रामसिंह श्रीषले पार्टी विभाजन गरे । उक्त समूहले नेकपा (एकीकृत) बनायो । नवराज सुवेदी समूहले २०६७ मा छुट्टै पार्टी बनाई माओवादीसँग एकता ग¥यो ।
२०६९ मा उक्त समूहमा व्यापक विभाजन देखियो । व्यक्तिपिच्छे नेताहरूले अलग्गै पार्टी घोषणा गर्ने र विभाजन भएको घोषणा गर्ने क्रम चलिरह्यो । लोकनारायण सुवेदीले संयुक्त माक्र्सवादी, ऋषि कट्टेलले नेकपा, जगत बोगटीले नेकपा (माले समाजवादी), हरिदेव ज्ञवालीले माक्र्सवादी कम्युनिस्ट पार्टी, दिनेश खातीले नेकपा (माले) समूह, गण्डकी धौलागिरि माले समूहलगायत पनि देखा परे ।
२०६९ सालमा एकीकृत माओवादीमा ठूलो विभाजन भयो । मोहन वैद्य, रामबहादुर थापा, नेत्रविक्रम चन्द ‘विप्लव’लगायत नेताले पार्टी विभाजन गरी नेकपा–माओवादी गठन गरे । वैद्यको पार्टीमा पनि २०७० मंसिरमा नेत्रविक्रम चन्दले फेरि पार्टी विभाजन गराए । वैद्यको समूहबाट रामबहादुर थापा, मणि थापाको अलग्गै क्रान्तिकारी कम्युनिस्ट पार्टी, मातृकाको नेकपा (माओवादी) लगायत छरिएका माओवादीबीच पुनः २०७३ मा पार्टी एकता भयो । पार्टीको नाम नेकपा (माओवादी केन्द्र) रहन पुगेको थियो ।
वैद्य नेतृत्वमा रहेको पार्टी नेकपा (क्रान्तिकारी माओवादी) मा पनि रामसिंह श्रीष, सीताराम तामाङलगायतले एकता गरे । वैद्यको क्रान्तिकारी माओवादी र चन्दको कम्युनिस्ट पार्टी छुट्टै अस्तित्वमा छन् ।
पार्टी एकताभन्दा बाहिर रहेका कम्युनिस्ट पार्टी
मुख्य वाम शक्तिहरू एमाले र माओवादी केन्द्रले पार्टी एकताको सैद्धान्तिक सहमति गरी एउटै कम्युनिस्ट केन्द्र बनाउने निर्णय गरेर दुवै ठूला पार्टीबीच एकता भए पनि अझै यो अभियानबाहिर आधा दर्जनभन्दा बढी कम्युनिस्ट पार्टी छन् ।
२०१९ सालको तेस्रो महाधिवेशनमा निष्कासनमा परेका केशरजंग रायमाझी समूहबाट विभाजनको शृंखला बेहोर्दै विकसित भएको नेकपा (संयुक्त) ले माओवादी केन्द्रसँग पार्टी एकता गरिसकेको छ । रायमाझी समूहले २०२४ सालमा पुनर्गठन गरेको उक्त समूहमा २०३८ सालमा विभाजन भई नेकपा (मानन्धर) र नेकपा (रायमाझी) समूहमा विभाजन भएका थिए । रायमाझी समूहमा पनि बर्मा समूहको विभाजन हुँदै २०४७ सालमा नेकपा (प्रजातान्त्रिक) २०४८ हुँदै प्रजातान्त्रिक बर्मा समूह, अमात्य र मानन्धर समूहबीच एकता भई नेकपा (संयुक्त) बनेको थियो ।
















