गृहपृष्ठ सेयर बजारमा साताभरमा करिब २ अर्बको कारोबार

सेयर बजारमा साताभरमा करिब २ अर्बको कारोबार

काठमाडौं- धितोपत्र बजारमा साताभरमा करिब दुर्इ अर्बको सेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार १ सय ८३ कम्पनीको ४१ लाख ३७ हजार ४३० कित्ता सेयर कारोबार हुँदा एक अर्ब ९२ करोड २७ लाख ३१ हजारबराबरको सेयर किनबेच भएको हो ।
कारोबार रकम गत साताको भन्दा ७७ दशमलव ७१ प्रतिशत बढी हो । गत साता १ सय ७६ कम्पनीको २३ लाख २९ हजार ४ सय ४० कित्ता सेयर एक अर्ब आठ करोड १९ लाख ४१ हजारमा खरिद-बिक्री भएको थियो ।
साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा २० दशमलव ९७ अंकले घटेर अन्तिम दिन १३ सय १८ दशमलव २२ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा चार दशमलव ३७ अंकले घटेर २७७ दशमलव ८९ अंकमा आइपुगेको छ ।
यस साता कारोबार रकमका आधारमा नेपाल इन्भेस्टमेन्ट बैंकको संस्थापक अग्रस्थानमा छ । नेपाल इन्भेस्टमेन्ट बैंकको २२ करोड ८५ लाख बराबरको सेयर कारोबार भएको छ ।
कारोबार भएको सेयर संख्याका आधारमा पनि नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड संस्थापक अग्रस्थानमा छ । सो बैंकको तीन लाख ९६ हजार कित्ता सेयर कारोबार भएको स्टकले जनाएको छ । यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन ।

प्रकाशित समय १५:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु