गृहपृष्ठ चार सयजनाले गरे सगरमाथाको सफल आरोहण

चार सयजनाले गरे सगरमाथाको सफल आरोहण

काठमाडौं­­- यो सिजनमा ४०० भन्दा बढीले विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । सगरमाथा आरोहणबाट यो याममा ३६ करोड १४ लाख ९८ हजार ३२१ रूपैयाँ रोयल्टी संकलन भएको छ ।

वसन्त ऋतुको आरोहण गत वैशाख ३० गतेदेखि शुरु भएको थियो भने यही जेठ ११ गतेसम्म चलेको हो । अघिल्ला वर्ष भन्दा यस पटकको आरोहणमा मानवीय क्षति पनि कम भएको छ । यस वर्षको वसन्त ऋतुमा पर्यटन विभागले आरोहण अनुमति दिएका २८ हिमालबाट हालसम्म ४१ करोड २८ लाख ८४ हजार ६३८ रकम रोयल्टी संकलन भएको छ ।

त्यसमध्ये सबैभन्दा धेरै रोयल्टी रकम सगरमाथाले संकलन गरेको छ । यो तथ्यांकमा केही बढ्न सक्ने पर्यटन विभागको भनाइ छ । विभागका निर्देशक रामप्रसाद सापकोटाका अनुसार सगरमाथाबाट ३६ करोड १४ लाख ९८ हजार ३१२ रोयल्टी संकलन भएको छ । सगरमाथासँगै रहेको ल्होत्से हिमालबाट एक करोड ९८ लाख ९३ हजार ६० रोयल्टी संकलन भएको छ ।

यसैगरी कञ्चनजङ्घाबाट रु ८२ लाख २६ हजार ७२०, धौलागिरीबाट रु ६३ लाख ६३ हजार ९०, आमाडब्लामबाट रु २० लाख ४७ हजार ८७७ र मनास्लुबाट रु १४ लाख ९३ हजार २८० रकम संकलन भएको छ । यस वर्षको वसन्त ऋतुमा चार नेपालीसहित ३८ आरोही दलका सगरमाथाको शिखर चुम्ने अभियानमा केन्द्रित भएका थिए ।

सगरमाथा आरोहणको रोयल्टी समेत फरक ऋतुमा फरक/फरक नै छ । विभागका अनुसार विदेशी नागरिकले वसन्त ऋतुमा ११ हजार अमेरिकी डलर रोयल्टी तिर्नुपर्नेछ । यस्तै शरद ऋतुमा पाँच हजार ५०० डलर र गर्मी समयमा दुई हजार ७५० अमेरिकी डलर रोयल्टी तिर्नुपर्छ । यस्तै नेपाली आरोहीले वसन्तु ऋतुमा रु ७५ हजार, शरद ऋतुमा ३७ हजार ५०० र गर्मी याममा रु १८ हजार २५० रोयल्टी तिर्नुपर्ने व्यवस्था छ । वसन्त ऋतुको आरोहण गत वैशाख ३० गतेदेखि सुरु भएको थियो । आरोहणको पहिलो दिन डोरी टाग्न पुगेका आठ शेर्पाले आरोहणको उद्घाटन गरेका थिए ।

संसारभर छाए कामीरिता

आरोहणको दोस्रो दिन गत वैशाख ३१ गते कामीरिता शेर्पाले कीर्तिमान कायम गरेका थिए । उनले सगरमाथाको २२ पटक आरोहण गरेर कीर्तिमान कायम गरेका हुन् । यस्तै पेम्बा दोर्जे शेर्पाले पनि कीर्तिमान कायम गरेका छन् । सन् २००४ मा पेम्बाले आठ घण्टा १० मिनेटमा सगरमाथाको आरोहण गरेर कीर्तिमान राखेका थिए । पेम्बाले पृथ्वीनारायण शाहको मूर्तिसहित सगरमाथाको आरोहण गरेको सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठको भनाइ छ ।

बाइस पटक सगरमाथाको आरोहण गरेर कीर्तिमान कायम गरेका कामीरिता शेर्पाको बारेमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले विशेष समाचार सामग्री प्रस्तुत गरेका छन् । यसअघि कामीसहित आप्पा शेर्पा र फुर्वा तासी शेर्पाको नाममा २१ पटक सगरमाथा आरोहण गरेको कीर्तिमान कायम थियो । बेलायतका प्रसिद्ध गार्डियनको अनलाइन संस्करणमा ४८ वर्षे कामीरिताले कीर्तिमान कायम राखेको विषयलाई महत्वका साथ प्रचार गरेको छ । यसैगरी भारतको हिन्दूस्तान टाइम्स, बेलायको अर्को मिररको अनलाइन संस्करणले पनि कामीरिता र लाक्पाको कीर्तिमानको महत्वका साथ चर्चा गर्दै समाचार सामग्री प्रस्तुत गरेका छन् ।

यसैगरी अमेरिकाको एबिसी न्यूज, वासिङ्टन टाइम्स, सिकागो सन् टाइम्स, पाकिस्तानको पाकिस्तान टुडे, क्यानडाको ‘द’ स्टारलगायत विश्वप्रसिद्ध सञ्चार माध्यमले सर्वोच्च शिखरको आरोहणको समाचारलाई महत्वका साथ प्रकाशन तथा प्रसारण गरेका थिए ।

सगरमाथा आरोहणको ६४ वर्षको अवधिमा करिब आठ हजारले सगरमाथाको शिखर चुमेका छन् । यस्तै आरोहणका क्रममा २ सय ८६ जनाको निधन भएको छ । अघिल्लो वर्षको वसन्त ऋतुमा ४३ समूहका ३ सय ६६ स्वदेशी तथा विदेशी आरोहीले सगरमाथाको सफल आरोहण गरेका थिए । गत वर्षमा भन्दा यस वर्ष आरोहण सहज देखिएको छ ।

विगतमा भन्दा कम क्षति

यस वर्षको वसन्त ऋतुको सगरमाथा आरोहणको क्रममा तीनजनाको मृत्यु भएको छ । यस्तै हिम पहिरोमा परी एकजना मात्रै बेपत्ता भएका छन् । खुम्बु फर्कने क्रममा आरोही डोमा सार्की शेर्पाको यही जेठ २ गते बुधबार मृत्यु भएको छ । यसअघि सगरमाथा आरोहणकै क्रममा दुई विदेशीको मृत्यु भएको थियो । शिविर तीन पुगेर फर्कने क्रममा गत आइतबार राति ३६ वर्षीय जापानी नोबुकाजु कुरिकी र ६२ वर्षीय मेसोडोनियाली जेओर्जी पेटकोभको सगरमाथाको शिविर तीन माथि लेक लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

सन् २०१४ मा हिमपहिरोका कारण १६ नेपालीसहित १९ जनाको निधन भएको थियो । यस्तै सन् २०१२ मा हिमपहिरोमा परेर ११ जनाको निधन भएको थियो । यस्तै सन् २०१५ मा २२ आरोहीको मृत्यु भएको थियो । यस आधारमा हेर्दा यस पटकको आरोहणमा कम मात्रै मानवीय क्षति भएको श्रेष्ठको भनाइ छ ।

नेपाल पर्वतारोहण संघका पूर्वअध्यक्ष आङछिरिङ शेर्पा विगत वर्ष भन्दा यसपटक सगरमाथा आरोहण बढी सुरक्षित रहेको र मानवीय क्षति समेत कम भएको बताउँछन् । आरोहणका क्रममा बढी सतकर्ता अपनाइएको, तालिम प्राप्त पथप्रदर्शकको व्यवस्था तथा समयमै सम्पूर्ण आरोहणको जानकारीलगायतका कारण पनि क्षति कम भएको उनको भनाइ छ । आरोहणको रोयल्टीमध्ये ७० प्रतिशत सरकारलाई र ३० प्रतिशत सम्बन्धित जिल्लाको स्थानीय विकासमा खर्च गरिने पनि पूर्वअध्यक्ष शेर्पाले जानकारी दिए । रमेश लम्साल र सिबी अधिकारी (रासस)

 

प्रकाशित समय १६:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु