गृहपृष्ठ अलैचीबाट जीवन हराभराः वार्षिक ५ लाख अाम्दानी

अलैचीबाट जीवन हराभराः वार्षिक ५ लाख अाम्दानी

तेह्रथुम- पूर्वी पहाडको विकट जिल्ला तेह्रथुम अनि त्यहाँका पनि विकट गाउँ पालिकाका बासिन्दाले अहिले गाउँमा आफ्नो मेहनतले जीवन हराभरा बनाउन थालेका छन् । यसको रहस्य हो-अलैंची खेती गर्न उनिहरुले देखाएको जाँगर । ‘मेहनत गरे डाँडापाखामै सुन फलाउन सकिन्छ’ भन्ने उक्तिलाई उनिहरुले साँचो सावित गरिदिएका छन् । भिरालो जग्गामा मेहनत गरेर अलैंंची खेती गर्न थालेपछि जिल्लाका सोल्मा, सुङनाम, आम्वुङ्ग, मोराहाङ्ग, श्रीजुङ्ग, पौठाक, सम्दु र ईसिवुका कृषकको जीवनस्तरमै कायापलट आएको छ ।
सोल्मा निवासी निम्नवर्गीय दुर्गा प्रसाद पोख्रेलले आफ्नै कमाइले मोरङको बेलबारी बजारमा ३० लाख बराबरको घर किनेका छन् । दुई छोराछोरी विवाह गरिदिएका छन । करिब ३५ रोपनी जग्गामा गरेको अलैंची खेतीबाट सरदर ५ लाख वार्षिक आम्दानी गरेका छन । आफ्नै मेहनतले भएको प्रगति देखेर दङ्ग परेका पोख्रेल भन्छन, ‘पहिले यही जग्गामा अरू बाली लगाउँदा खान र लगाउनै पुग्दैनथ्यो, अहिले सम्पूर्ण आम्दानीको स्रोत यही हो ।’ अरू बाली लगाउन छोडेर अलैंची खेती सुरु गर्न उनले लिएको जोखिम कार्य आखिरमा सफल सावित भयो ।
अलैंची खेतीका लागि लगानी र श्रम धेरै नचाहिने, अन्नबालीको तुलनामा तेब्बर बढी आम्दानी पनि हुने भएपछि यहाँका धेरै किसानले अन्नबाली छोडेर अलैंची खेती गर्न थालेका छन् । अलैंची खेती गरेपछि भएको फाइदाले सोल्माका धेरै किसानले सदरमुकाम म्याङलुङ्ग र वाहिरी जिल्ला मोरङ, सुनसरी र झापाका बजारमा घर÷घडेरी किनेका छन् । त्यस क्षेत्रका केही कृषकहरुले अहिले चिया खेती पनि सुरु गरेका छन् । छोराछोरी विद्यालय नपठाउने अभिभावकले अहिले छोराछोरीलाई बोर्डिङ भर्ना गरेका छन् ।
मोराहाङ्ग निवासी राम भट्टराईका अनुसार खेत मासेर अलैंची खेतीमा नलागेको भए गुजाराका लागि अहिले ज्याला–मजदुरीको काम खोज्नुपथ्र्यो । १० वर्षअघि २ हजार लगानी गरेर १० रोपनी जग्गाबाट सुरु गरेको खेती अहिले उनले ३० रोपनीमा पु¥याएका छन् । वार्षिक तिन देखिी चार लाख हाराहारीको आम्दानी यसबाट हुँदै आएको छ ।
परम्परागत खेती–प्रणालीबाट गुजारा नचलेपछि तेह्रथुमका सोल्मा, सुङनाम, आम्वुङ्ग, मोराहाङ गाविसका किसानले डेढ दशकअघिदेखिको अन्नबाली छाडेर अलैंची खेती सुरु गरेका हुन् । यो क्षेत्र अहिले तेह्रथुमकै सबैभन्दा बढी अलैंची उत्पादन हुनेमा पर्दछ । अन्नबाली लगाउँदा प्रतिरोपनी एक मुरी अन्न उत्पादन हुने यो ठाउँमा अलैंचीबाट वार्षिक २० हजारदेखि ३० हजारसम्म आम्दानी हुने गरेको छ । स्थानीय किसान भन्छन्, ‘अलैंची जति पुरानो भए पनि सड्दैन, गल्दैन । त्यसैले फाल्नुपर्ने समस्या आउँदैन । जति उत्पादन गरे पनि खेर जाँदैन । त्यसैले पनि धेरै किसान अलैंची खेतीतर्फ तानिएका हुन् ।’
नेपाल अलैंची निर्यात गर्ने विश्वका प्रमुख मुलुकमध्ये एक हो । सुगन्धित तेल, औषधी, मसला लगायतका सामान उत्पादनका लागि अलैंची भारतीय बजार हुँदै खाडी मुलुक पु¥याउने गरिएको छ । जिल्ला कृषि विकास कार्यालय तेह्रथुमका वरिष्ठ कृषि विकास अधिकृत रोहिणीराज घिमिरे खाडी मुलुकमा पुगेको अलैंची सुगन्धित तेल, आयुर्वेदिक औषधी र मसलाको रूपमा प्रयोग हुने गरेको बताउछन ।
जिल्ला कृषि विकास कार्यालयका अनुसार अलैंची खेती तेह्रथुमको आम्दानीकै पहिलो स्रोत बनेको छ । यहाँका सोल्मा, सुङ्गनाम, आम्वुङ्ग, मोराहाङ्ग, श्रीजुङ्ग ओयाक्जुङ्ग लगायतका क्षेत्रमा तीन हजार तीन सय हेक्टर जग्गामा अलैंची खेती गरिएको छ । यसबाट वार्षिक एक अर्ब ५० करोड रुपैयाँको कारोबार हुने गरेको छ ।
तेह्रथुमको अलैंची खेतीले देशकै आर्थिक विकासमा योगदान पुर्याएको छ । तर, अझै पनि यहाँ आधुनिक तरिकाले खेती गरिएको छैन । अर्थात् उन्नत खेती–प्रणाली अपनाइएको छैन । रोपेको तेश्रो वर्षदेखि फल्न थाल्ने अलैंची खेतीमा अलिकति मात्रै स्याहार पुर्याएमा लामो समयसम्म यसबाट उत्पादन लिन सकिन्छ । पछिल्लो समय नर्सरीमा बिउ राखेर पनि खेती गर्न थालिएको छ । तर, यो प्रविधिबाट रोपेको अलैंची पाँच वर्षपछि मात्रै फल्छ ।
तेह्रथुम गायत धनकुटा, संखुवासभा, भोजपुर, पाँचथर लगायत अरु धेरै जिल्लामा अलैंची खेती विस्तार हुँदै गए पनि कहीँकतै प्रशोधन गर्ने, आयुर्वेदिक औषधी र सुगन्धित तेल बनाउने कुनै कारखाना छैन । सरकारले त्यसका लागि अहिलेसम्म सोचेको देखिँदैन । उत्पादित अलैंची कच्चा पदार्थका रूपमा सिधै भारत पठाउनुपर्ने बाध्यता छ । भारतमा प्रशोधन भएपछि त्यसमा भारतकै ‘लेभल’ लगाएर विदेश पठाइन्छ । यसले गर्दा नेपाली अलैंचीको आर्थिक तथा ट्रेडमार्क फाइदा भारतले लिने गरेको छ । नेपालमा चेप्टो आकारको रामसाई, गोलो गोलसाई र सानोे चिबेसाई प्रजातिका अलैंचीको बढ्ता खेती गरिन्छ । नेपालमा वार्षिक १६ देखि २० हजार मेट्रिक टन अलैंची उत्पादन हुन्छ र यसमध्ये ९५ प्रतिशत विदेशमा निर्यात गरिन्छ ।
२०४० सालदेखि सुरु भएको अलैंची खेती क्रमशः व्यावसायिक बन्दै गए पनि उन्नत तरिकाले खेती गर्ने परम्परा भने अझै सुरु भएको छैन । उद्योग वाणिज्य सङ्घ तेह्रथुमका पूर्व अध्यक्ष शभा पौडेल जिल्लाका किसानमा अलैंची खेतीबारे सामान्य प्राविधिक ज्ञानसमेत नभएको बताए । खेती–प्रणालीमा लाग्ने रोगबारे पनि उनीहरू बेखबर छन् । किसानले अनुभवका आधारमा अलैंचीमा लाग्ने रोग पत्ता लगाउने गरेका छन् । दुई वर्षअघिदेखि अलैंचीमा डढुवा रोग देखिन थाले पनि रोकथामको पहल नहुनु त्यसकै प्रमाण हो । स्थानीय तहले अलैची सम्वन्धि उचित परामर्श, रोगथामका उपाय र अलैचीमा आधुनिकिकरणका लागि पहल गर्ने हो भने तेह्रथुमका धेरै किसानहरुले आफ्नो जिवन स्तर हराभरा बनाउनेमा दुईमत नहुने कृषकहरु बताउछन् ।

प्रकाशित समय १०:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु