गृहपृष्ठ ढुंगेलको आममाफीमा विवेकशील साझाको आपत्ति
ढुंगेलको आममाफीमा विवेकशील साझाको आपत्ति
काठमाडौं– कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका तत्कालीन माओवादी नेता एवं पूर्वसभासद बालकृष्ण ढुंगेललाई आममाफी दिने सरकारी निर्णयप्रति विवेकशील साझा पार्टीले आपत्ति जनाएको छ । सर्वोच्चको अन्तिम फैसलाबाट दोषी ठहर भई जेल सजाय भोगिरहेको व्यक्तिलाई राष्ट्रपतिबाट माफी दिई जेलमुक्त गर्न सरकारले तयारी गरेको भन्दै विवेकशील साझाले विरोध जनाएको हो ।
‘सशस्त्र द्वन्द्वकालका घटना मूलतः सत्य निरुपण तथा मेलमिलाप आयोगबाट निरुपण गरिने भए पनि ढुंगेलको कैद सजाय आयोगको क्षेत्राधिकारभन्दा बाहिरको विषय हो भन्ने कुरा सम्मानित अदालतको फैसलाबाट यसअघि नै स्पष्ट भइसकेको छ’ विवेकशील साझाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
सरकारको न्याय र विधिको शासनको खिल्ली उडाउने काम भएको विवेकशील साझाको ठहर छ । विवेकशील साझाले ढुंगेललाई आममाफी दिने निर्णयको विरोध गर्दै सरकारबाट पीडितलाई उचित न्याय दिन अग्रसर हुनुको साटो पीडित व्यक्तिको भावनामा ठेस पुग्ने काम भएको बताएको छ । त्यस्तै, विज्ञप्तिमा द्वन्द्वकालीन घटनाका मुद्दालाई छिटोभन्दा छिटो समाधान गरी पीडितलाई न्याय दिन पनि माग गरिएको छ ।
बालकृष्ण ढुङ्गेललाई सरकारले उसको ४० प्रतिशत कैद भुक्तान भएको र जेलमा रहँदा असल चालचलन देखाएको भन्दै जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा आममाफी दिने तयारी गरेको छ ।
प्रकाशित समय १७:१९ बजे

















