गृहपृष्ठ लैंगिक विभेद हटाउनेखालको बजेट ल्याउन आग्रह
लैंगिक विभेद हटाउनेखालको बजेट ल्याउन आग्रह
- पूर्वबजेट छलफल- कर्णाली प्रदेश
सुर्खेत– कर्णाली प्रदेश सरकारको पूर्वबजेट छलफल सोमबारदेखि सुरु भएको छ । सोमबार दिउँसो १ बजे बसेको प्रदेशसभा बैठकको पूर्वबजेट छलफलमा सांसदहरुले विभिन्न धारणा र सुझाव दिएका छन् । पूर्वबजेटको छलफलमा सांसद देवी ओलीले प्रदेश सरकारले लैंगिक विभेद हटाउनेखालको बजेट ल्याउनुपर्ने बताइन् । ‘कर्णाली प्रदेशमा आज पनि उत्तिकै रुपमा लैंगिक विभेद छ,’ उनले भनिन्, ‘सरकारले ल्याउन लागेको आगामी बजेट लैंगिक उत्तरदायी र विभेदरहित हुनुपर्छ ।’
सांसद पदम रोकायाले आर्थिक रुपान्तरणका लागि बजेट ल्याउनुपर्ने बताए । ‘अर्थतन्त्र बलियो भएन भने समृद्धिको सपना हराएर जान्छ,’ उनले भने, ‘जसका लागि अर्थतन्त्र नै बलियो हुन जरुरी छ । कर्णाली सरकारले आर्थिक रुपान्तरणका लागि बजेट ल्याउनुपर्छ ।’
सांसद यामलाल कँडेलले कर्णालीको गरिबी कसरी घटाउन सकिन्छ भन्ने विषयलाई बजेटमा प्राथमिकता दिनुपर्ने बताए । उनले भने, ‘कर्णाली प्रदेश हरेक क्षेत्रबाट पछाडि छ । यहाँको गरिबी कसरी हटाउन सकिन्छ भन्ने विषय बजेटमा प्राथमिकता साथ आउनुपर्छ ।’ यस्तै सांसद हिमबहादुर शाहीले पनि प्रदेशको गरिबी उन्मूलनमा सहयोग पुग्ने बजेट ल्याउन कर्णाली सरकारले जोड दिनुपर्ने धारण राखे ।
कर्णाली सरकारको आइतबार बसेको बैठकमा विशेष समयमा उठेका केही सवालहरुको जवाफ सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले दिएका थिए । चौथो बैठक मंगलबार दिउँसो १ बजे बस्नेछ । चौथो बैठकमा पनि पूर्वबजेट छलफलले निरन्तरता पाउने संसद सचिवालयका सचिव राजेश पौडेलले जानकारी दिए ।
प्रकाशित समय २१:०८ बजे
















