गृहपृष्ठ सगरमाथालार्इ जितेरपनि क्यान्सरसंग हारेका दावाले अन्तिम समयमा भने-‘मलाई त क्यान्सर भयो, साथीहरू भोकभोकै हिमाल आरोहण नगर्नु’

सगरमाथालार्इ जितेरपनि क्यान्सरसंग हारेका दावाले अन्तिम समयमा भने-‘मलाई त क्यान्सर भयो, साथीहरू भोकभोकै हिमाल आरोहण नगर्नु’

काठमाडाैं- सातौंपटक सगरमाथा सफल आरोही दावाछिरी शेर्पाको निधन भएको छ । पेटको क्यान्सर फैलिएर कलेजोसम्म पुगी उपचाररत आरोहीको सोमबार निधन भएको हो ।

बौद्धस्थित सेचेन क्लिनिकमा उनको निधन भएको  कान्छा छोरा तेन्जी शेर्पाले जानकारी दिए । उनका अनुसार बौद्ध परम्पराअनुसार अाज बिहान ११ बजे जोरपाटीस्थित जाम्बोडाँडामा उनको अन्तिम संस्कार गरिनेछ ।

गत साता क्यान्सर भएको पत्ता लागेपछि ललितपुर जावलाखेलस्थित नेसनल हस्पिटल एन्ड क्यान्सर रिसर्च सेन्टरमा उनलाई भर्ना गरिएको थियो । वरिष्ठ क्यान्सर विशेषज्ञ डा.मदनकुमार पियाले उनको उपचार गरेका थिए ।

शेर्पाले सातपटक सगरमाथा, ६ पटक चोयु, पाँच पटक मनास्लु, चार पटक मकालु, चार पटक धवलागिरि र दुई पटक पाकिस्तानको केटु हिमाल आरोहण गरेका थिए ।

लोखिम–९ कुरिमागाउँ सोलुखुम्बुका आरोही शेर्पाले सन् १९९५ देखि ट्रेकिङ गाइडका रूपमा आरोहण थालेका थिए । मकालु हिमाल चार पटक आरोहण गरिसकेका उनी पाँचौं आरोहणका लागि स्विडेनका एक आरोहीसहित गत २ मार्चमा मकालु पुगेका थिए ।

मकालु आधार शिविर ‘मनास्लु एबीसी’ पुग्दा अकस्मात पेट दुखेकाले उनलाई हेलिकोप्टरबाट काठमाडौं ल्याइएको थियो । आरोहणक्रममा पटकपटक समयमा खाना नखाँदा पेटमा ग्यास्ट्रिक भएर अल्सर भएको र त्यसपछि क्यान्सर भएको जनाइएको छ ।

आरोही शेर्पाले अस्पतालको शैयाबाटै ट्रेकिङ गाइडलाई सुझाव दिएका थिए, ‘मलाई त क्यान्सर भयो, साथीहरू भोकभोकै बसेर हिमाल आरोहण नगर्न र क्यान्सरबाट जोगिनू ।’ शेर्पाका पत्नी पेमा दिकी, छोराहरू नवाङ जाङ्बु, तेन्जी र सोना गुरेमन तथा छोरी दायाङ्जी शेर्पा छन् ।

प्रकाशित समय ०८:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु