गृहपृष्ठ यसरी प्रादुर्भाव भए भगवान् बूढानीलकण्ठ

यसरी प्रादुर्भाव भए भगवान् बूढानीलकण्ठ

बूढानीलकण्ठ भगवानको उत्पत्तिका सम्बन्धमा विभिन्न किंम्वदन्ती प्रचलनमा छन् । हिमवत् खण्डको नेपाल महिमा र हालका मठाधीश श्री १००८ स्वामी निगमानन्दको भनाइले इतिहासको आधिकारिकता झल्काउँछ ।

शिवपुरी जंगलको शिखर शिवपुरीमा राजा सूर्यकेतुको निवास थियो । उनले दैनिक बद्रीनाथ र केदारनाथको दर्शन नगरी अन्न ग्रहण गर्दैनथे । राजा वृद्ध भइसकेपछि उनको शरीरले दिनचर्या धान्न सकेन । राजा सूर्यकेतुले आफूले भोजन त्याग्नुपर्ने अवस्था आएको आफ्ना आराध्य भगवानलाई सुनाए ।

भक्त सूर्यकेतुका कुरा सुनेर बद्री र केदारले उनको इच्छापूर्ण गर्न उनकै राज्यमा दर्शनको व्यवस्था मिलाउने वचन दिए । भगवानबाट आज्ञा भयो, ‘जाऊ, आइन्दा तिम्रै क्षेत्रमा दर्शन पाउनेछौ ।’ भगवान विश्वकर्मालाई आफ्नो मूर्ति बनाइदिन आज्ञा दिए । विश्वकर्माले मूर्ति बनाएपछि महाबलि भीमले अहिले बूढानीलकण्ठ विराजमान भएको ठाउँमा मूर्ति प्रतिस्थापन गरिदिए । उक्त मूर्ति हरिहर स्वरुपको छ ।

भोलिपल्ट दर्शन गर्दा भगवानको भिन्न आकृति देखेर राजा सूर्यकेतुले भगवानले आफूलाई छक्याएको आशंका गरे । आफूमाथि षड्यन्त्र भएको गुनासो सूर्यकेतुले गरेपछि भगवानले तिम्रा सन्तानले समेत यहाँ आई दर्शन नगरून् भने । त्यसपछि गद्दीसीन राजाहरूले बूढानीलकण्ठको दर्शन गरेनन् ।

यो द्वापर युगको कुरा हो । कलियुग सुरु हुनुपूर्व पृथ्वीमा उथलपुथल भयो । बूढानीलकण्ठको मूर्ति पुरियो । अर्को युग सुरु भएपछि यस क्षेत्रमा पनि मानिसको बस्ती विकास भयो । मानिसले बूढानीलकण्ठ यहाँ भएको भेउ पाउने कुरै भएन ।

मूर्ति माथि फराकिलो र सम्म परेको ठाउँ थियो । किसानले धान थुपार्ने, झाँट्ने खलो त्यहीँ बनाए । यसमा धान झाँट्दा जति झारे पनि दाना निख्रिन्नथ्यो । थोरै धानको पनि उत्पादन धेरै भयो । अन्यत्रको धान त्यस खलोमा सुकाइयो भने उठाउँदा दोब्बर बन्थ्यो ।

यो देखेर मानिसलाई यहाँ माटोमुनि केही रहस्य छ भन्ने लाग्यो । उनीहरूले अचम्म मानेर त्यो स्थानमा उत्खनन गर्ने निधो गरे । उनीहरुले आफ्नै सुरमा खन्दै गए । सावधान नभई एकोहोरो खन्दा मूर्तिको औंला काटियो । औंला काटिएर त्यहाँ रगत बग्यो । रगत देखिएपछि उनीहरुले सावधानीपूर्वक खन्न थाले । उनीरुले पुरै मूर्ति भेटाए । भगवानको औंला काटेर गल्ती गरेको भन्दै उनीहरुले उनै भगवानको आराधना गरे । भगवानले भने, ‘तिमीहरुले मलाई प्रकट गराउने पर्यत्न गर्दा मेरो औंला काटिएको हो, तिमीहरुलाई यसको पाप लाग्दैन ।’ भगवानको कुरा सुनेर उनीहरु खुसी भए । उनीहरुले भगवानलाई पूजा गर्ने विधि बताइदिन आग्रह गरे । भगवानको आज्ञाअनुसार कुमारले पूजा गर्ने व्यवस्था उनीहरुले मिलाए ।

अहिले पनि मूर्तिमा राम्ररी हेर्ने हो भने दाहिने हातको बूढी औंलामा खत देखिन्छ । त्यो खेतधनी किसानको नाम नीलकण्ठ थियो । उनी बूढा पनि भइसकेका थिए । स्थानीयले बूढानीलकण्ठको खेतमा भेटिएका भगवान् भन्न थाले । भन्दाभन्दै कालान्तरमा मन्दिरको नाम बूढानीलकण्ठ रहन गयो ।

विष्णु रूप यो मूर्तिमा सर्पको माला र पद्मको स्थानमा खरानीको थुप्रो हुनाले शिव–विष्णु स्वरूप देखिन्छ । यहाँ बटुकले पूजा गर्ने परम्परा छ । किंम्वदन्तीअनुसार राजा प्रताप मल्लको पालासम्म पनि यस मूर्तिमा विराजमान भगवान् चलायमान थिए । दैनिक अप्सरा घाट गई स्नान गर्थे । एकदिन राजा प्रताप मल्ल बूढानीलकण्ठको दर्शन गर्न आए । राजाले दर्शन गर्न नहुने भएकाले भगवानका सेवक एक नागले हत्तपत्त मन्दिर प्रवेश गर्न लागेका राजा प्रताप मल्लको बाटो छेके । राजालाई नागले बाटो छेकेको मन परेन । प्रताप मल्लले नागलाई अन्धो भएस् भनेर श्राप दिए । उक्त नागलाई अहिले पनि बहिरो नाग भनिन्छ ।

राजा प्रताप मल्लले बूढानीलकण्ठलाई आफ्नो दरबारमा लैजान चाहे । भगवानले नजाने भनेपछि राजाले बलपूर्वक भए पनि लैजाने विचार गरे । त्यसपछि भगवान् छायाँ स्वरूपमा भक्तजनलाई दर्शन दिने गरी शालिग्राम स्वरूपमा रहे । ईश्वर भनेको अनौठो र असम्भव कार्य गर्न सक्ने भन्ने बुझिन्छ । बूढानीलकण्ठ अवस्थित पोखरीमा मूर्तिको छायाँ हेर्ने हो भने छायाँस्वरूप मुखाकृति नै देखिन्छ । आफूले पनि समय–समयमा छायाँ स्वरूपको दर्शन पाउने मठाधीशको कथन छ ।

प्रकाशित समय १०:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु