गृहपृष्ठ याे वर्ष वर्षाकाे अवधिमा खडेरी नहुने, कृषि उब्जनीमा कुनै समस्या नअाउने

याे वर्ष वर्षाकाे अवधिमा खडेरी नहुने, कृषि उब्जनीमा कुनै समस्या नअाउने

काठमाडाैं- मनसुनको पूर्वसन्ध्यामा भएको मनसुनी वायुको अध्ययन गरेर जल तथा मौसम पूर्वानुमान महाशाखाले यस वर्षको मनसुनी वर्षा गत वर्षभन्दा बढी हुने अनुमान गरेको छ । मनसुन अवधिमा पूर्वी नेपालमा भन्दा पश्चिममा बढी वर्षा हुने मौसमविद्हरूले पूर्वानुमान गरेका छन् ।
विगत वर्षको तुलनामा यस वर्ष मनसुन केही दिनअघि नै सुरु हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार विगतका वर्षभन्दा केही दिनअघि मनुसन सुुरु हुन सक्नेछ । ‘विगतका वर्षमा भारतको केरलामा १ जुनमा मनसुन सुरु हुँदा नेपालमा १० जुनमा प्रवेश गथ्र्यो,’ उनले भने, ‘यो वर्ष केरलामा २७ मेमा नै मनसुन सुरु भइसकेको छ त्यसैले केही दिनअघि नै नेपालमा मनसुन प्रवेश गर्ने सम्भावना छ ।’
पूर्वका केही पहाडी र तराईका जिल्लामा भने औसतभन्दा पनि कम वर्षा हुने मौसमविद्को पूर्वानुमान छ । लामो समयदेखिको खडेरी हट्दै गइरहेको र पूर्वतिर अझै त्यो हट्न समय लाग्ने भएकाले त्यसको असर पूर्वी क्षेत्रको मनसुनमा देखापर्ने मौसमविद् श्रेष्ठले बताए ।
‘पूर्वी क्षेत्रमा भन्दा सुदूरपश्चिममा औसतभन्दा बढी मनसुनी वर्षा हुने अनुमान छ,’ उनले भने, ‘अरू ठाउँमा सरदरमा जति वर्षा हुने हो त्यही अनुपातमा हुने देखिन्छ ।’ गत वर्ष तीन दिन ढिला गरी १३ जुनमा मनसुन भित्रिएको थियो । जल तथा मौसम विज्ञान विभागको तथ्यांकअनुसार मनसुन अवधिभर गत वर्ष धेरैजसो भागमा औसतभन्दा पनि कम वर्षा भएको थियो ।
केही दिनदेखि भइरहेको वर्षाचाहिँ प्री–मनसुनी गतिविधि भएको मौसमविद् श्रेष्ठले जानकारी दिए । गत वर्ष प्रशान्त महासागरको पूर्वी भूमध्यरेखीय क्षेत्रको सतहमा तापक्रम वृद्धि भएर ‘एलनिनो’को प्रभाव देखिएपछि दक्षिण एसियामै मनसुनी वर्षा कम भएको थियो ।
हरेक ५ देखि ७ वर्षको अवधिमा एलनिनोको प्रभाव पर्छ । प्रशान्त महासागरमा एकैपटक तीनदेखि चार डिग्रीसम्म तापक्रम बढ्ने हुँदा त्यसको असर मनसुनमा परेको थियो । तर, यसै अप्रिलबाट एलनिनोको असर न्यून हुँदै गएका कारण यो वर्ष मनसुन राम्रो हुने आँकलन गरिएको हो । श्रीलंकामा गत अप्रिलमा भएको दक्षिण एसियाली मुलुकका मौसमविद्हरूको संस्था ‘साउथ एसियन एसोसिएसन फर क्लाइमेट फोरम’को सम्मेलनले पनि यस वर्ष दक्षिण एसियामा मनसुन राम्रो हुने अनुमान गरेको थियो । गत वर्षको मनसुनमा नेपालसहित भारत र पाकिस्तानमा पनि कम वर्षा भएको थियो । गत १२ जेठमा श्रीलंकामा आएको अत्यधिक मनसुनी वर्षाका कारण भएको डुबानमा परी १६ जनाको मृत्यु भएको थियो ।
नेपालमा सामान्यतया मनसुन १० जुनमा प्रवेश गर्ने गर्छ । नेपालमा साधारणतया जुनदेखि सेप्टेम्बरसम्म चार महिनाको अवधिलाई दक्षिण एसियाली मनसुनको अवधि भनिन्छ । मनसुन हुनुभन्दा पहिला नेपालमा वायु पश्चिमबाट पूर्वतिर बहन्छ । मनसुन सुरु भएपछि वायु पूर्वबाट पश्चिमतिर बहन्छ ।
सामान्यतया सरदर वर्षा भन्नाले स्थान विशेषको लामो समयको (करिब ३० वर्ष) औसत वर्षालाई बुझिन्छ । सरदर वर्षाको ९० प्रतिशतदेखि ११० प्रतिशतसम्म वर्षालाई सामान्य वर्षा मानिन्छ भने सोभन्दा कम र बढी वर्षा भएमा क्रमशः न्यून वा अधिक वर्षा भएको मनिन्छ ।
प्री–मनसुन सक्रिय बन्नु आगामी मनसुनी गतिविधि राम्रो हुन सक्ने संकेतका रूपमा बुझ्न सकिने वरिष्ठ मौसमविद् मणिरत्न शाक्य बताउँछन् । ‘केही महिनाअघि प्रशान्त महासागरमा लानिनो सुरु भएको छ, त्यसले समग्र दक्षिण एसियाकै मनसुनी गतिविधि औसतभन्दा राम्रो गराउने गर्छ,’ उनले भने, ‘अहिलेको गतिविधि त्यसैको सुरुवात हो ।’
प्रशान्त महासागरको पूर्वी भेगको पानी औसतभन्दा बढी चिसो हुने प्रक्रियालाई मौसमविद्हरू ‘लानिनो’ का रूपमा बुझ्ने गर्छन् । सन् २०१४ देखि प्रशान्त महासागरको पूर्वी भेगमा सक्रिय रहेको ‘एलनिनो’ (औसतभन्दा बढी पानी तात्ने) प्रक्रिया सन् २०१७ को अन्त्यसँगै निष्क्रिय भएको विश्व मौसम संगठनले जनाएको छ । एलनिनोले औसत वर्षा कम गराउने भए पनि लानिनोका कारण समग्र दक्षिण एसियाली भेगको मनसुनी वर्षा औसत र औसतभन्दा बढी हुने उनको ठम्याइ छ ।
महाशाखाले अंग्रेजी महिनाको मार्च, अप्रिल र मे महिनामा प्री–मनसुनी वर्षा भएको जनाएको छ । महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार यो वर्षको प्री–मनसुन अवधिमा १२३ प्रतिशतभन्दा बढी वर्षा भएको जनाएका छन् ।

प्रकाशित समय ०८:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु