गृहपृष्ठ गाडीकाे प्रदूषण जाँच्दै गृह र वन तथा वातावरणमन्त्री, प्रदूषण नियन्त्रण अभियानमा सबै जुट्न अाह्वान
गाडीकाे प्रदूषण जाँच्दै गृह र वन तथा वातावरणमन्त्री, प्रदूषण नियन्त्रण अभियानमा सबै जुट्न अाह्वान
काठमाडौं- वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले अाइतबार विहानै थापाथली चाेकमा उभिएर सवारी साधनकाे प्रदुषण जाँच गरेका छन् । सवारी साधनका कारण काठमाडाैं उपत्यकाका वायु प्रदुषणा बढी भएकाे विभिन्न अध्ययनहरूले देखाएका छन् ।
गृहमन्त्री रामबहादुर थापासहित वन तथा वातावरणमन्त्री बस्नेतले आज थापाथली चोकमा पुगेर सवारीसाधनको प्रदूषणको छड्के चेकजाँच गरेका हुन् । विश्व वातावरण दिवसको अवसर पारेर वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत आज मन्त्रीद्वय सडकमै पुगेर प्रदूषण चेकजाँचमा सहभागी भएका हुन् ।
सो क्रममा गृहमन्त्री थापाले स्वस्थ वातावरण भएमात्र नागरिक स्वस्थ रहने भन्दै यसमा सबैको साथ र सहयोग अपरिहार्य रहेको बताए । सवारीसाधनले प्रदूषण मापदण्ड पालना गर्नु अनिवार्य रहेको भन्दै यसको नियमित चेकजाँच आवश्यक रहेको गृहमन्त्री थापाको भनाइ छ । उनले धुलो र प्रदूषण बढ्नुमा भ्रष्टचार पनि जोडिएको भन्दै यसलाई निस्तेज पारिने बताए ।
वातावरणमन्त्री बस्नेतले वातावरण दिवसको अवसर पारेर सप्ताहव्यापी कार्यक्रमको आयोजनाअन्तर्गत आजको कार्यक्रम गरिएको बताए । उनले वातावरण दिवसको अवसर पारेर प्रधानमन्त्रीकै सहभागितामा यही जेठ २२ गते स्वच्छ नेपाल महाभियान शुरु गर्न लागिएको जानकारी दिए ।
प्रदूषण नियन्त्रण, फोहर व्यवस्थापन र हरियाली प्रवद्र्धनलाई एकीकृत गरेर महाभियान शुरु गर्न लागेको उनको भनाइ छ । यो अभियानमा प्रदेश र स्थानीय सरकार, निजी क्षेत्र र यो क्षेत्रमा क्रियाशील संघसंस्थासँग पनि सहकार्य गरिने उनले बताए ।
कार्यक्रममा मन्त्रीद्वय थापा र बस्नेतको पनि सवारीसाधनको प्रदूषण चेकजाँच गरिएको थियो । मन्त्री बस्नेतले नेपालमा वातावरण प्रदूषण बढ्दै गएकाले यसको रोकथामका लागि सरकारको एकल प्रयासबाट मात्र सम्भव नहुने बताएका छन् ।
प्रकाशित समय ०८:३८ बजे

















