गृहपृष्ठ अन्योलमा नेकपा, केन्द्र र प्रदेश नेताका फरक-फरक मत
अन्योलमा नेकपा, केन्द्र र प्रदेश नेताका फरक-फरक मत

काठमाडौं- केन्द्र सरकारमा संघीय समाजवादी फोरमको सहभागिता पछि प्रदेश २ सरकारमा समर्थन फिर्ता लिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अन्योलमा परेको छ ।
फोरम अध्यक्ष उपेन्द्र यादवले उपप्रधान तथा स्वास्थ्यमन्त्री र इस्तियाक राईले सहरी विकासमन्त्रीको शपथ शुक्रबार लिइसकेका छन् । केन्द्र सरकारमा फोरमको सहभागितापछि लालबाबु राउतको नेतृत्वमा प्रदेश सरकार बनाएको फोरमलाई समर्थन दिने कि नेतृत्वमा दाबी गर्ने भन्ने अन्योल नेताहरूमा देखिएको हो ।
प्रदेश २ मा नेकपा विपक्षमा छ । नेकपा स्थायी कमिटीका सदस्य सत्यनारायण मण्डलले अहिले पार्टीले समर्थन वा विरोध केही पनि नगर्ने बताए । उनी प्रदेश २ का पूर्वएमालेका संसदीय दलका नेता हुन् । पार्टी एकीकरण भएपछि अब सरकारको दाबी नेकपाले गर्ने उनले बताए ।
‘नेकपा प्रदेश २ को सबैभन्दा ठूलो दलको नाताले प्रदेश सरकारको दाबी गर्छ,’ मण्डलले भने, ‘तर अहिले बजेट निर्माणको समय भएकाले हामीले त्यसमा बाधा पुर्याउँदैनौं, पछि के गर्ने भन्ने निर्णय पार्टीले गर्छ ।’
नेकपाको प्रदेश २ मा ३२ र प्रदेश सरकारको नेतृत्व गरिरहेको फोरम नेपालसँग ३० सिट मात्रै रहेको छ । फोरम नेतृत्वको सरकारलाई समर्थन गरेर सरकारमै सहभागी भएको राष्ट्रिय जनता पार्टी नेपालसँग २५ सांसद छन् । फोरम र राजपा गठबन्धनलाई आवश्यक बहुमत प्रदेश २ मा छ ।
प्रदेश २ को सरकारमा के गर्ने भन्ने विषयमा पार्टी केन्द्रमा केही कुराकानी नभएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । उनले भने, ‘अहिले त्यहाँको विषयमा केही कुराकानी भएको छैन, कसरी अघि बढ्ने भन्ने राजनीतिक विषय उठेको छैन ।’
नेकपा केन्द्रीय सदस्य विश्वनाथ साहले प्रदेश सरकारमा दुई विकल्प खुला रहेको बताए । उनले भने, ‘हाम्रै नेतृत्वमा सरकार बनाउने या यही सरकारलाई समर्थन दिने भन्ने विकल्प खुला छन्, कुनै एक निर्णयमा पुग्न सकिन्छ ।’ तर, पार्टीले यही सरकारमा नेकपा सहभागी हुनेगरी निर्णय गर्न सक्ने बताए ।
प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले प्रदेश २ को सरकारमा पार्टीको भूमिका के हुने भन्ने निर्णय केही नभएको बताए । उनले फोरमले सरकार चलाउँदा नेकपाको विरोध नहुने बताए ।
फोरम नेपाल राजनीतिक समितिका सदस्य प्रमोद गुप्ताले केन्द्रीय सरकारमा फोरम सहभागी भएजस्तै प्रदेश २ मा पनि नेकपा सरकारमा सहभागी हुने बताए । फोरम नेतृत्वको प्रदेश सरकारलाई समर्थन गर्दै सरकारमा सहभागी भएको राजपालाई पार्टीबाट कुनै बाधा वा समस्या नुपग्नेगरी प्रदेश सरकारमा नेकपा पनि सहभागी हुने उनले बताए ।
‘हामी नेकपा नेतृत्वको केन्द्रीय सरकारमा सहभागी भएका छौं, फोरम नेतृत्वको प्रदेश सरकारमा पनि नेकपा सहभागी हुन्छ,’ गुप्ताले भने,
‘प्रदेश सरकारलाई समर्थन गर्दै सरकारमै सहभागी राजपा नेपाललाई हटाउने हाम्रो कुनै योजना छैन तर यदि उहाँहरू सरकारबाट बाहिरिने हो भने नेकपाको समर्थनमा फोरमको सरकार रहन्छ ।’
राजपा नेपालका महासचिव एवं प्रदेश २ का सांसद मनीषकुमार सुमनले प्रदेश सरकारबाट बाहिरिने खेलमा पार्टी नरहेको बताए । फोरम नेतृत्वको प्रदेश सरकारले राजपासँग गर्ने व्यवहारका आधारमा निर्णय हुने उनले बताए ।
प्रकाशित समय ०८:०७ बजे