गृहपृष्ठ आन्तरिक एकताका सक्रिय कांग्रेस पदाधिकारी
आन्तरिक एकताका सक्रिय कांग्रेस पदाधिकारी
काठमाडाैं- देश र प्रतिनिधिसभा निर्वाचनपछि प्रमुख प्रतिपक्षी दल बन्न पुगेको कांग्रेस आन्तरिक एकतामार्फत कार्यकर्ता परिचालन तथा संगठन विस्तार अभियानमा होमिएको छ ।
निर्वाचन समीक्षा गर्न बसेको पार्टीको केन्द्रीय समिति बैठक र पदाधिकारी तथा शीर्ष तहस्तरीय छलफलबाट पार्टीको अवस्था कमजोर बन्दै गएको निष्कर्षसहित कांग्रेस संगठन र कार्यकर्ता परिचालन गरी शक्तिशाली पार्टी बनाउने अभियानमा जुटेको हो ।
सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारीलाई पूर्णता दिएलगत्तै पदाधिकारीहरू जिम्मेवारीअनुसारको काममा परिचालित भएका छन् भने पार्टी तथा भ्रातृ संगठनका बैठक तथा भेलाहरूसमेत धमाधम हुन थालेका छन् ।
जिम्मेवारी पाएका नेताहरू आन्तरिक एकता र संगठन बलियो बनाउनका लागि भन्दै असन्तुष्ट भनिएका नेताहरूसँग र आफूनिकटका विज्ञ तथा बुद्धिजीवीहरूसँग समेत भेटघाटमा सक्रिय हुन थालेका छन् ।
उपसभापति बिमलेन्द्र निधिले उपसभापति नियुक्त भएबाट नै पार्टी संगठन सुधारसहित आन्तरिक एकताका लागि सक्रिय भएको बताए ।
‘हिजो जे भयो भयो, अब आन्तरिक झगडाबाट पार्टी अघि बढ्न सक्दैन भन्ने सबैको बुझाइ छ, अब आन्तरिक एकतामार्फत बलियो प्रतिपक्ष बन्ने र आगामी निर्वाचनमा पुरानै अवस्थामा पार्टीलाई पुर्याउने योजनासहित अघि बढ्नैपर्छ, मेरो ध्यान त्यसैतर्फ केन्द्रित छ,’ उपसभापति निधिले भने । उनले उपसभापति भएयता वरिष्ठ नेता रामचन्द्र पौडेलसँग समेत आन्तरिक एकताका लागि जोड गर्दै आएका छन् । यसबीचमा उनले पटकपटक नेता पौडेलसँग भेटसमेत गरेका छन् ।
यसैगरी केही दिनअघि मात्रै उनले प्राध्यापकहरूसँग समेत पार्टीको अवस्था र संगठन सुधारका लागि भन्दै परामर्श लिएका छन् । उपसभापति निधिले स्वयम्भूको एक होटलमा बौद्धिक क्षेत्रमा विज्ञ मानिएका प्राध्यापकहरूलाई भेटेर पार्टी सुधारका पक्षमा सुझाव लिएका हुन् ।
यस्तै, महामन्त्री डा शशांक कोइरालाले समेत विभिन्न सार्वजनिक कार्यक्रममा नै पार्टीभित्रको आन्तरिक एकताका लागि आफू ‘ल्याडर’ बन्ने भन्दै आन्तरिक एकताका लागि सबैमा आग्रह गर्दै आएका छन् ।
यसैगरी, सहमहामन्त्री डा. प्रकाशशरण महतले समेत पार्टीलाई एक बनाएर बलियो प्रतिपक्षका रूपमा कसरी प्रस्तुत हुने भन्दै विभिन्न भेटघाटलाई तीव्र पारेका छन् । उनले केही दिनअघि मात्रै आफूनिकटका केही सञ्चारकर्मीलाई बोलाएर पार्टीलाई एकताबद्ध रूपमा अघि बढाउने सन्दर्भमा सुझाव मागेका थिए ।
यसैगरी, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले समेत पार्टी एकताका लागि कसरी अघि बढ्ने भन्ने सन्दर्भमा सञ्चारकर्मीदेखि बौद्धिक क्षेत्रका विज्ञहरूसँग परामर्श गर्दै आएका छन् ।
उनले केही दिनअघि सांसद भीमसेनदास प्रधानको पहलमा एक होटलमा कांग्रेसनिकट मानिएका प्राध्यापकहरूलाई डाकेर सोबारे परामर्श लिएका थिए । त्यसको केही दिनलगत्तै सञ्चारकर्मीहरूसँग समेत राय लिएका थिए ।
कांग्रेसले आगामी ५, ६ र ७ असारमा हेटौंडामा पार्टीको तल्लो तहदेखिकै संरचनाको अवस्था बुझ्न र संविधानले व्यवस्था गरेको नयाँ संरचनाअनुसार पार्टीलाई अघि बढाउन भन्दै राय माग्न जिल्ला सभापतिहरूको भेलासमेत डाकेको छ ।
सो भेलाबाट पार्टीभित्रको आन्तरिक एकता बलियो भएको सन्देशसमेत दिने लक्ष्य नेतृत्वले राखेको छ ।
यसैगरी, आगामी भदौका लागि कांग्रेसले महासमिति बैठकसमेत बोलाइसकेको छ । महासमितिबाट भने कांग्रेसले नयाँ संरचनाअनुसारको विधान बनाउने र पार्टीलाई पुरानो संरचनाबाट नयाँ बाटोमा लैजाने रणनीति लिएको छ । यसरी नयाँ संरचनाअनुसार जाँदा पार्टी पदाधिकारीहरूको संख्यासमेत बढ्न सक्ने बताइदै आएको छ ।
यसैगरी, पार्टीका भ्रातृ संगठन नेपाल विद्यार्थी संघ, महिला संघ, सांस्कृतिक संघसहित सुभेच्छुक संगठन नेपाल प्रेस युनियनले समेत भेला तथा छलफलहरूको तयारी अघि बढाएका छन् । पछिल्लो समय नेविसंघसमेत सरकारको गतिविधिमा खबरदारीमा उत्रिएको छ ।
प्रकाशित समय ०८:४५ बजे
















