गृहपृष्ठ सुन भरियालाई आठ करोड जरिवाना र साढे १० वर्ष जेल
सुन भरियालाई आठ करोड जरिवाना र साढे १० वर्ष जेल

बेसीशहर, लमजुङ- अन्नपूर्ण पदमार्गअन्तर्गत लमजुङको खुदीमा १७ किलो सुनसहित पक्राउ परेका युवकलाई रु आठ करोड जरिवानासहित १० वर्ष छ महिना जेल सजायको फैसला भएको छ । ज्याला मजदूरी गर्दै आएका मनाङको नासोङ गाउँपालिका–९, दानाक्युका ३१ वर्षीय पासाङ गुरुङलाई उक्त सजाय फैसाला भएको हो ।
जिल्ला अदालत लमजुङका न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत सो कैद सजायको फैसला गरेकोे अदालतले जनाएको छ । बिगोबमोजिम उनलाई रु आठ करोड १६ लाख १४ हजार ९६० जरिवाना तोकिएकोे अदालतका स्रेस्तेदार भूमिप्रसाद शर्माले जानकारी दिए ।
मनाङबाट बेँसीशहरतर्फ मोटरसाइकलमा आएका गुरुङ पाँच महिनाअघि १७ किलो सुनसहित मर्स्याङ्दी-२, खुदीमा पक्राउ परेका थिए । भरियाका रुपमा सुन बोकेका गुरुङ पक्राउ परे पनि यसको तस्कर समूह अझै पक्राउ पर्न सकेका छैन् ।
प्रकाशित समय १२:२९ बजे