गृहपृष्ठ अमेरिकासँगको वार्ताको पूर्वसन्ध्यामा उत्तर कोरियामा सैनिक नेतृत्व फेरबदल, रक्षामन्त्री र सैनिक प्रमुख हटाइए

अमेरिकासँगको वार्ताको पूर्वसन्ध्यामा उत्तर कोरियामा सैनिक नेतृत्व फेरबदल, रक्षामन्त्री र सैनिक प्रमुख हटाइए

एजेन्सी- अमेरिकासँगको वार्ताको तयारी गरिरहेको उत्तर कोरियाले सैनिक नेतृत्वमा व्यापक मात्रामा फेरबदल गरेको समाचार सोमबार सार्वजनिक भएको छ । अमेरिकासँग यही जुन १२ तारिखमा अर्थात् हप्ता दिनपछि वार्ताको तयारी गरिरहेको उत्तर कोरियाले यसरी सैनिक नेतृत्वमा गरेको व्यापक फेर बदललाई निकै चासोपूर्ण रुपमा लिइएको छ ।

यस चासोका कारण दक्षिण कोरिया पनि चनाखो बनेको बताएको छ । उसले वार्ताकै मुखमा आएर भएको यस फेरबदलको प्रभाव के हुन सक्ला भन्ने बारेमा पनि व्यापक मात्रामा परामर्श गरिरहेको छ । उत्तर कोरियामा सेना शक्तिशाली हुन्छ । यहाँको सेनाको प्रमुख संरक्षक सर्वोच्च नेता हुने र उहाँको विश्वासपात्र सैनिक प्रमुखमा नियुक्त हुने प्रचलन रही आएको छ ।

उत्तर कोरियाली नेता किम जोङ उनले देशका तीनजना उच्चपदस्थ सैन्य अधिकारीलाई केही दिनयता नै पदबाट हटाएर उनीहरुभन्दा तल्लो वरियताका अधिकारीलाई नियुक्त गरेको बताइएको छ । पदबाट हटाइएका प्रमुख अधिकारीमा रक्षामन्त्री पाक यङ सिक नै रहेका छन् । साथै उत्तर कोरियाको सेनाको चिफ अफ जनरल स्टाफ पनि हटाउनेमा परेका छन् ।

त्यसैगरी सेनाको राजनीतिक ब्युरोका प्रमुख पनि यसरी हटाउनेमा परेको खुलेको छ । सैन्य अधिकारीहरूलाई हटाइएको बारेको यो समाचार भने दक्षिण कोरियाली समाचार समिति योनहापले दिएको छ । त्यसैगरी जापानी सञ्चारमाध्यमहरुमा पनि यो समाचार आएको र नाम खुलाउन नचाहेका एकजना अमेरिकी रक्षा अधिकारीले पनि त्यसको पुष्टि गरेको बताइएको छ ।

अहिले ल्याइएका सेनाका अधिकारीहरु उत्तर कोरियाली नेता किमका नजिकका सहयोगीका साथै मध्यमार्गी रहेका बताइन्छ । तर उनीहरुलाई कहिले र किन हटाइएको हो भन्ने बारेमा भने कुनै पनि समाचार समितिहरुले स्पष्ट रुपमा समाचार सार्वजनिक गर्न सकिरहेका छैनन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग निशस्त्रीकरणसम्बन्धी वार्ताको तयारीमा रहेका किमलाई अमेरिकासँग वार्ता गर्न नहुने भन्ने आवाज पनि सेना भित्रैबाट उठेको समाचार यस अघि नै आएको थियो । सो वार्तामा किमलाई आफ्नो सेनाभित्रबाट त्यसको विरोध हुन सक्ने त्रास रहेको दक्षिण कोरियाली एक उच्च स्रोतले बतायो ।

उत्तर कोरियालीहरूले अमेरिकालाई साम्राज्यवादी शक्ति र उत्तर कोरियाको ‘जन्मजात शत्रु’ समेत भएको भन्दै प्रस्तावित वार्ताको विपक्षमा आवाज पनि दिएका थिए । तर पछिल्लो समयमा नेता किम तथा उत्तर कोरियाली सञ्चारमाध्यम पनि आगामी वार्ताका बारेमा र अमेरिकाप्रति पनि केही नरम हुँदै गएको देखिएको छ । सोही बमोजिम नै उत्तर कोरियाले वार्ताको तयारी गरिरहेको बताइएको छ ।

उता राष्ट्रपति ट्रम्पले किमसँगको शिखर बैठक सिंगापुरमा जुन १२ मै हुने बताउदै आएका छन् भने उत्तर कोरियाली नेता किमले पनि सो वार्ताको तयारी बडो चाखपूर्ण रुपमा गरेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुमा समाचार आएको छ । यस्तो अवस्थामा सेनाको एक समूहले नै विरोध वा विद्रोह गर्नसक्ने त्रासले नेता किमले सैनिक नेतृत्वमा व्यापक फेरबदल गरेको हुनसक्ने बताइएको छ ।

तर यस विषयमा उत्तर कोरियाका तर्फबाट स्पष्ट रुपमा केही भनाई आएको छैन । नत दक्षिण कोरियाले नै के कति कारणले ती सैनिक अधिकारीहरु हटाइएका हुन् भन्ने बारेमा केही भनेको छ ।

प्रकाशित समय १२:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु