गृहपृष्ठ कोभिड १९ प्रति उच्चस्तरकाे सतर्कता बढाऊ
कोभिड १९ प्रति उच्चस्तरकाे सतर्कता बढाऊ
ज्योतिषीले जोखाना हेरेर नेपालमा कोरोना भित्रिँदैन भनेका भरमा वा कसैले बेसार धेरै खाने भएकाले नेपालीलाई त्यसका असर नपार्ने भनेकै भरमा ढुक्क हुनु भनेको संकट पर्खेर बस्नु हो ।
विश्वमै नयाँ भाइरसका रूपमा देखापरेको कोरोना भाइरसको संक्रमण (कोभिड १९) विश्वका ६३ देशमा फैलिएपछि यसलाई विश्व स्वास्थ संगठन (डब्लूएचओ)ले महामारीबाट प्रकोपउन्मुख (पेन्डामिक) घोषणा गर्ने तयारी गरेको छ । सरकारका प्रधानमन्त्री, केही मन्त्री र स्वघोषित स्वास्थ्य विज्ञहरूले कोरोना भाइरसको संक्रमण नेपालमा नभएको भन्दै भाषणवाजी गरिरहेकाक बेला डब्लूएचओका उच्च अधिकारीहरूले यसबाट कुनै पनि मुलुक बच्न सक्ने सम्भावना नभएको अभिव्यक्ति दिएपछि बल्ल अहिले केही जागेको जस्तो भएका छन् ।
डब्लूएचओको आइतबार बिहान पौने ९ बजे (जीएमटी १२ बजे) सम्मको अद्यावधिक विवरणअनुसार हालसम्म विश्वका ६३ देशका ८६ हजार ६११ जना कोरोना भाइरसबाट संक्रमित भइसकेका छन् भने हालसम्म २ हजार ९७७ जनाको मृत्यु भइसकेको छ ।
सबैभन्दा रोचक कुरा त, कोरोनाविरुद्धको अभियान अगाडि बढाउनका लागि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा समिति बनाइएको छ । यदि सरकारले यसलाई संवेदनशील रुपमा लिएको भए प्रधानमन्त्री स्वयंले यसको नेतृत्व लिनुपथ्र्यो, नभए स्वास्थ्य मन्त्रीलाई नेतृत्व गराउँदा हुन्थ्यो । यसले स्वास्थ्यजस्तो संवेदनशील विषयमा पनि राजनीतिक जस लिन खोज्ने प्रवृत्तिलाई इंगित गराउँछ ।
डब्लूएचओको आइतबार बिहान पौने ९ बजे (जीएमटी १२ बजे) सम्मको अद्यावधिक विवरणअनुसार हालसम्म विश्वका ६३ देशका ८६ हजार ६११ जना कोरोना भाइरसबाट संक्रमित भइसकेका छन् भने हालसम्म २ हजार ९७७ जनाको मृत्यु भइसकेको छ । अमेरिकामा समेत हालसम्म ६८ जनामा यसको संक्रमण देखापरेकोमा एक जनाको मृत्यु भएको त्यहाँको सरकारले स्वीकार गरेको छ । यो भाइरसको संक्रमण डरलाग्दो ढंगले बढ्दै गएको छ ।
कोरोना भाइरसको संक्रमण यदि केहीगरी नेपालमा भित्रिइहालेमा स्थिति सोचेभन्दा गम्भीर हुनसक्छ, किनकी नेपालमा मुटु तथा फोक्सोको संक्रमण (सीओपीडी), मधुमेह तथा मृगौलाका बिमारीहरूको संख्या निकै ठूलो छ ।
नेपालको अवस्था अझ बढी संवेदनशील छ, किनकी हाम्रो एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य निगरानी निकै फितलो छ । भारतसँग झन्डै १८०० किलोमिटर लामो खुला सीमा छ, जहाँबाट निर्वाध आवतजावत हुन्छ भने मुख्य प्रवेश नाकाहरूमा समेत स्वास्थ्य निगरानीका लागि कुनै दह्रिलो उपाय छैन । सामाजिक सञ्जालहरूमा सीमा क्षेत्रमा टेबुल टाँगेर कोरोना भाइरस सचेतना लेखेका बोर्डमुनि २–४ व्यक्ति बसिरहेका तस्बिर देखिन थालेका छन् । यो कुनै रमाइलो वा हाँसोठट्टा गर्ने विषय हुँदै होइन ।
बजारमा कोरोना भाइरससहितका ‘फ्लु’ रोक्ने प्रतिरोधी मास्कको अभाव छ । बढ्दो मास्क मागलाई अहिले कालोबजारियाहरूले उपभोक्ता ठग्ने अवसरका रुपमा लिएका छन् । साधारण मेडिकल मास्कको समेत बजार मूल्य तीन गुणा बढेको छ । सरकारका नियामक निकायहरू यस विषयमा मौन छन्, किनकी बजारमा निस्किए आफ्नै कमजोरी छताछुल्ल हुन्छ ।
सबैभन्दा चिन्तालाग्दो अवस्थाचाहिँ सरकारले कोरोना भाइरसको संक्रमण यदि फैलिइहाले के गर्ने भन्ने अहिलेसम्म कुनै उचित रणनीति नै बनाउन सकेको छैन । ‘आइसोलेसन कक्ष’सहितका विशेष उपचार प्रबन्ध भएका अस्पताल कुन–कुुनलाई तोक्ने भन्ने सरकारसँग योजना नै छैन ।
निजी क्षेत्रका अस्पतालमा नै कोरोना संक्रमितलाई भर्ति गराएर उपचार गराउने कुरा बाहिर आएको छ । र, भनिरहनु पर्दैन, निजी क्षेत्रका अस्पतालको उपचार महँगो छ । गत वर्ष सार्सबाट प्रभावित बिमारीहरूलाई निजी क्षेत्रका केही अस्पतालमा रिफर गरिएको थियो । अस्पतालबाट डिस्चार्ज हुँदा लाखौंका बिल तिर्नु परेको बिमारीका आफन्तले गुनासो गरेका छन् । कोरोनाविरुद्धको उपचार पनि त्यस्तै हुने संकेत देखिएको छ । यसबाहेक कोरानाका आशंकित बिमारीहरूलाई कम्तिमा १४ देखि २९ दिनसम्म क्वारेन्टाइनमा राख्नु पर्नेमा सरकारले त्यसका लागिसमेत आवश्यक प्रबन्ध मिलाउन सकेको छैन । भक्तपुरको खरिपाटीमा चीनबाट ल्याइएका १७५ जनालाई राखिएकोमा उनीहरू अब दोस्रो चरणको परीक्षणपछि घर फर्कने छन् । तर खरिपाटीको विद्युत् तालिम केन्द्रमात्र समाधान होइन ।
कोरोना भाइरसको संक्रमण यदि केहीगरी नेपालमा भित्रिइहालेमा स्थिति सोचेभन्दा गम्भीर हुनसक्छ, किनकी नेपालमा मुटु तथा फोक्सोको संक्रमण (सीओपीडी), मधुमेह तथा मृगौलाका बिमारीहरूको संख्या निकै ठूलो छ । धुलो–धुँवा र प्रदुषणका कारण फोक्सोसम्बन्धी रोगका बिमारीहरू बढ्दै गएका छन् । यस्ता बिमारीहरूको रोगप्रतिरोधी क्षमता निकै कमजोर हुने भएको तथा ७० वर्ष नाघेका बुढाबुढीलाई मौसमी फ्लुलगायत यस्ता भाइरसहरूको संक्रमण जोखिम अत्याधिक हुने भएकाले खतरा हामीले सोचेभन्दा बढी हुनसक्ने स्वयं चिकित्सकहरूले स्वीकारेका छन् ।
ज्योतिषीले जोखाना हेरेर नेपालमा कोरोना भित्रिँदैन भनेका भरमा वा कसैले बेसार धेरै खाने भएकाले नेपालीलाई त्यसका असर नपार्ने भनेकै भरमा ढुक्क हुनु भनेको संकट पर्खेर बस्नु हो । त्यसैले देशभरि भएका सबै तहका स्वास्थ्यकर्मीहरूलाई अत्यावश्यक परेको खण्डमा जतिबेलासुकै परिचालन गर्न सकिने गरी आवश्यक स्वास्थ्योपचार सेवा उपलब्ध गराउन सकिने गरी सरकारले बलियो तयारी गर्नु अतिजरुरी छ ।
प्रकाशित समय १३:३२ बजे

















