गृहपृष्ठ देशभर १० दिनमा बाढी-पहिरोका कारण ६३ जनाले गुमाए ज्यान, ७० जना बेपत्ता

देशभर १० दिनमा बाढी-पहिरोका कारण ६३ जनाले गुमाए ज्यान, ७० जना बेपत्ता

पहिरोमा १२६ जना घाइते, १० करोड ९१ लाखभन्दा बढीको क्षति

बारेकोट गाउँपालिका ४ सार्कीगाउँमा पहिरो जाँदा छिया, छिया परेको गाउँ । पहिरोले दुई घर बगाउदा १२ जना वेपता भएका मध्य १० जनाको शव फेला परेको छ । तस्बिर : हेमन्त केसी/रासस

नेपालमा मनसुन सुरु भएयता बाढी–पहिरो तथा डुबानमा दर्जनौंले ज्यान गुमाएका छन् । त्यस्तै ठूलो परिणाममा आर्थिक क्षति भएको छ । गएको १० दिनमा मात्रै नेपालभर ६३ जनाको ज्यान गुमाएका छन् भने ७० जना बेपत्ता भएका छन् ।

गत असार १९ गते बझाङको केदारस्युमा गएको पहिरोदेखि आइतबार तनहुँमा भएको पहिरोको क्षति गरी १० दिनमा १२६ जना घाइते भएका छन् । त्यस्तै १३८ चौपायासहित मरेको गृह मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

गृह मन्त्रालयको आपतकालिन कार्यसञ्चालन केन्द्रका अनुसार बाढी–पहिरो तथा डुबान गरी १० करोड ९१ लाख ६७ हजार मूल्यबराबरको क्षति भएको छ । त्यस्तै डेढ सयभन्दा बढी घरहरु पूर्ण रुपमा ध्वस्त भएका छन् ।

आइतवार मात्रै सप्तकोसीमा आएको बाढीका कारण गोबरगाढाका ३२ भन्दा बढी परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । त्यस्तै सबैभन्दा बढी रौतहटको गौरका तीन सयभन्दा बढी परिवारलाई स्थान्तरण गरिएको गृह मन्त्रालयले जनाएको छ । असार २४ गते रातिबाट आएको बर्षाले मात्रै सिन्धुपाल्चोक, म्याग्दी, कास्की, रुकुम पश्चिम, संखुवासभा, गुल्मी, तनहुँलगायत १५ जिल्ला प्रभावित छन् ।

सबैभन्दा बढी मानवीय क्षति म्याग्दीमा भएको छ । असार २६ गतेको पहिरोले म्याग्दीमा २८ जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् । त्यस्तै १२ जना घाइते भएको राष्ट्रिय विपद व्यवस्थापन प्राधिकरणले जनाएको छ । म्याग्दीमा मात्रै पहिरोबाटै ३७ घर प्रभावित भएका छन् । त्यस्तै असार १९ गते बझाङको केदारस्युँ गाउँपालिकामा पहिरो जाँदा ६ जनाको मृत्यु भएको थियो भने १ जना बेपत्ता भएका थिए । केदारस्युँ गाउँपालिकाकी उपाध्यक्ष निशा धामीका अनुसार सो पहिरोमा १ जना घाइते भएका छन् भने १७ घरमा पूर्ण क्षति भएको छ ।

त्यस्तै असार २५ गते अएको सिन्धुपाल्चोकको बाढीले ३ जनाको ज्यान लिएको थियो भने २० जना बेपत्ता पारेको छ । बेपत्ता भएकाहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । त्यस्तै सिन्धुपाल्चोकमा पाँच जना घाइते भएका छन् भने ५० घरमा क्षति भएको छ । यसै असार २६ गते पनि दर्जनौंको संख्यामा मान्छेहरूको ज्यान गएको थियो ।

जसअन्तर्गत लमजुङमा ३ जनाले ज्यान गुमाएका थिए । त्यस्तै कास्कीमा ७, रूकुम पश्चिममा २ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । घाइते भएकाहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको प्रहरीले जनाएको छ । त्यस्तै जाजरकोटको पहिरोले ११ जनाको ज्यान लिएको छ भने तीन जना बेपत्ता पारेको छ । घाइते २ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको त्यहाँका स्थानीयले बताएका छन् ।

गुल्मीमा गत असार २६ गते र सर्लाहीमा असार २८ गते पहिरोमा परी एक÷एक जनाको ज्यान गएको छ । त्यस्तै संखुवासभामा पनि आइतवार पहिरोले ठूलो सँख्यामा जनधनको क्षति भएको छ । संखुवासभामा पहिरो जाँदा ११ जना बेपत्ता भएका छन् भने ८ घरमा क्षति भएको छ । त्यस्तै बुधवार सोमबार तनहुँमा पहिरोका कारण ६ जनाको मृत्यु भएको छ भने पाँच जना बेपत्ता भएका छन् ।

गत महिनाको अन्तिम (जेठ ३१) को पहिरोले पनि ठूलो क्षति पुर्‍याएको थियो । सो दिन पर्वतमा पहिरो जाँदा ९ जनाको ज्यान गएको थियो भने एक जना घाइते भएका थिए । त्यस्तै २ वटा घर पूर्ण रूपमा क्षति पुर्‍याएको थियो । त्यस्तै पाल्पाको तानसेन नगरपालिकामा पनि गत असार ८ गते पहिरोका कारण ४ जनाको ज्यान गएको थियो भने तीन जना घाइते भएका थिए । सो पहिरोमा दुइ वटा घरमा पूर्ण क्षति भएको थियो ।

गत असार १८ गते गुल्मीमा पनि पहिरोका कारण चार जनाले ज्यान गुमाएका थिए भने ७ जना घाइते र १ जना बेपत्ता भएका थिए । सो पहिरोले पाँच घरमा क्षति पुर्‍याएको राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।

प्रकाशित समय १८:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु