गृहपृष्ठ राष्ट्रपतिद्वारा सोनाम ल्होसारको शुभकामना

राष्ट्रपतिद्वारा सोनाम ल्होसारको शुभकामना

राष्ट्रपति विद्यादेवी भण्डारीले विविधतापूर्ण संस्कृति नेपालको मौलिक पहिचान र अमूल्य सम्पदा भएको बताएकी छन् । सोनाम ल्होसार २०७७ का अवसरमा शुभकामना सन्देश दिँदै उनले विविधतामा एकतामाथि गर्व गर्ने आधार हामीलाई यी चाडपर्वले दिएको बताइन् ।

सन्देशमा भनिएको छ, ‘यस्ता पर्वले हाम्रा मौलिक संस्कृति प्रवर्धन गर्न, सामुदायिक ऐक्यबद्धता एवं सामाजिक सद्भाव अभिवृद्धि गर्न र बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् ।’

चन्द्र पात्रोअनुसार प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाइने यो पर्वमा तामाङ समुदायले कुल पूजा, प्रकृति पूजा र बुद्ध शिक्षाको स्मरण गर्नुका साथै आफन्तजन भेला भई भोजन एवं मनोरञ्जन गर्दै आपसमा खुसी आदानप्रदान गर्ने प्रचलन छ । यो पर्व तामाङ जातिको बाहुल्य रहेको बागमती प्रदेशलगायत देशका विभिन्न भागमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिले आ–आफ्नै शैली र परम्पराअनुसार मनाउँदै आएको पाइन्छ ।

प्रकाशित समय ०७:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु