गृहपृष्ठ वन्यजन्तु संरक्षण उद्यान बन्दै

वन्यजन्तु संरक्षण उद्यान बन्दै

baglung-newskarobar

प्रसिद्ध बागलुङ कालिका भगवती मन्दिर परिसरमा वन्यजन्तु संरक्षण उद्यान बनाउन थालिएको छ । यसै वर्ष तारबार गर्ने, अग्निरेखा बनाउने र केही वन्यजन्तु संरक्षणको काम गरिएको छ ।

वन मन्त्रालय, कालिका मन्दिर गुठी समिति र बागलुङ नगरपालिका मिलेर वन्यजन्तु संरक्षणसँगै पर्यटकीय गन्तव्य बनाउन उद्यानको योजना ल्याइएको मन्दिरका अध्यक्ष राजु खड्काले जानकारी दिए । उनका अनुसार अनुसार मन्दिरको चारैतिर फैलिएको १ सय ९० रोपनी जंगल क्षेत्रलाई वन्यजन्तु संरक्षण उद्यानका रुपमा विकास गरिनेछ । ‘यहाँको हावापानीमा हुने वन्यजन्तुलाई संरक्षण गर्छौ’ उनले भने, ‘वन्यजन्तु उद्यानले पर्यटकलाई समेत आकर्षित गर्नेछ ।’

तारबारले घेरेको अस्थायी संरचनामा हालैमात्र दुई मृगलाई संरक्षण गरी राखिएको छ । पूर्वाधार तयारीसँगै अन्य वन्यजन्तुलाई पनि उद्यानमा राखिने जनाइएको छ । ‘मृगको गतिविधि, स्वभाव र खानपान बुझ्दैछौं’ खड्काले भने । प्रारम्भिक अध्ययनअनुसार मन्दिर परिसरको जंगलमा मृग, बाह्रसिङ्गे, बँदेल, चितुवालगायतका वन्यजन्तु रहनसक्ने देखिएको छ । यस्तै, दर्जनौं जातका पंक्षीजन्य जीव उद्यानमा राखिने छन् ।

जंगल परिसरमा रहेका चरालाई पनि संरक्षितरुपमा राखिने जनाइएको छ । ‘यहाँ नभएका वन्यजन्तु र पक्षी बाहिरबाट ल्याएर राख्छौं’ उनले भने, ‘मन्दिर क्षेत्रको सबै जंगल वन्यजन्तु संरक्षणका रुपमा रहन्छ ।’ वन्यजन्तु संरक्षणका लागि वन क्षेत्रलाई चारैतिरबाट सुरक्षित घेराबार गरिने भएको छ । चालु आ.व.मा छुट्टयाइएको बजेटबाट केही मात्रामा तारजाली लगाउने र अग्निरेखा बनाउन शुरु भएको छ ।

(रासस)

प्रकाशित समय १६:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु