गृहपृष्ठ कांग्रेस पूर्वसहमहामन्त्री जोशीमाथिको कारबाही फिर्ता गर्न सिफारिस

कांग्रेस पूर्वसहमहामन्त्री जोशीमाथिको कारबाही फिर्ता गर्न सिफारिस

नेपाली कांग्रेस तनहुँले पार्टीका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीलाई गरिएको कारबाही फिर्ता लिन केन्द्रमा पत्र पठाउने भएको छ । भानु नगरपालिका १० का कांग्रेस कार्यकर्ताले जोशीमाथिको कारबाही फिर्ता लिन जिल्ला समितिलाई बुझाएको पत्र केन्द्रलाई पठाउने निर्णय भएको जिल्ला कार्यबाहक सभापति जितप्रकाश आलेले जानकारी दिए ।

गत प्रतिनिधिसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार वरिष्ठ नेता रामचन्द्र पौडेललाई हराउन भूमिका खेलेको भन्दै जिल्ला समितिको सिफारिसमा केन्द्रीय अनुशासन समितिले जोशीलाई पाँच वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो । निर्वाचनमा पौडेलको दाबी विरोधपछि जोशीको उम्मेदवारी निर्वाचन आयोगले रद्द गरेको थियो । उम्मेदवार बन्न नपाएका जोशीले नेकपाका उम्मेदवार कृष्णकुमार श्रेष्ठलाई सघाएको आरोप लागेको थियो ।

‘जोशीमाथि केन्द्रले गरेको कारबाही फिर्ता लिन जिल्ला समितिमा निवेदन आएको छ, केन्द्रले कारबाही गरेकाले उक्त निवेदन केन्द्रमा नै पठाइदिन लागेका हौँ,’ आलेले भने । (रासस)

प्रकाशित समय ०७:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु