गृहपृष्ठ झूटो आरोपले प्रहरी हैरान

झूटो आरोपले प्रहरी हैरान

अभियुक्तले मानव अधिकार हनन् भएको आरोप लगाएर हैरान पार्ने गरेको प्रहरीले बताएको छ । राजधानीमा विहिबार आयोजित एक कार्यक्रममा थुनुवाको मानव अधिकारप्रति सचेत रहेर अनुसन्धान अघि बढाउँदासमेत झूटो आरोप लगाउने गरेको भन्दै प्रहरीले दुःखेसो पोखेको हो ।

विहीबार आयोजित मानव अधिकार संरक्षणमा नेपाल प्रहरीको भूमिका विषयक कार्यशालामा प्रहरी उपरिक्षक गंगा पन्तले प्रहरी विरुद्धको झूटो आरोपको प्रतिवाद गर्दा गर्दा थाकेको गुनासो गरिन् । नेपाल प्रहरीको मानव अधिकार शाखा नक्शालले आयोजना गरेको कार्यक्रममा शाखा प्रमुख पन्तले भनिन्, ‘प्रहरीले यातना दियो भन्ने कुरा आउँछ, तर यातना दिएको छैन भन्ने प्रमाण केही हुँदैन ।’

झूटा आरोपबाट मुक्त हुन प्रहरीले ५५ युनिटमा सिसी टिभी जडान गरेकोसमेत उपरिक्षक पन्तले बताईन् । अभियुक्तले अनुसन्धनको क्रममा प्रहरीले मानव अधिकारविरोधी काम गरेको भन्ने आरोप लाएमा सिसी टिभीमा फुटेज सुरक्षित रहने पन्तको भनार्ई छ । प्रहरी चर्चा र विवाद शिर्षकमा कार्यपत्र प्रस्तुत गर्दै उनले समाजमा सबै क्षेत्र बर्गका व्यक्तिको दायित्व उक्तिकै हुने हुँदा जुनसुकै क्षेत्रमा हुने घटना कमजोरीलगायतमा प्रहरीलाई मात्रै दोष दिईनु गलत भएको बताइन् ।

उपरिक्षक पन्तले सिंगो संगठन व्यवसायिक र सफल अनुसन्धान गर्न मानव अधिकारका विषयप्रति सचेत रहेको दावी गरिन् । ‘मानवअधिकार राष्ट्रिय र अन्तर्राष्ट्रिय संवेदनशील विषय हो, यसको यसको रक्षको लागि सिंगो संगठन प्रतिवद्ध छ’ पन्तले भनिन्, ‘यदी कुनै प्रहरी अधिकारीले अभियोजन लागेको व्यक्तिको मानव अधिकार हनन् हुने कार्य गरेमा उसले उन्मुक्ती पाउँदैन ।’

कार्यक्रममा पूर्व प्रधानन्यायधीश कल्याण श्रेष्ठले ‘प्रहरी आफैँले आफ्नो मानव अधिकार संरक्षणका क्षेत्रमा स्वतन्त्रतापूर्वक कार्य गर्न नपाइरहेको’ उल्लेख गर्दै प्रहरीले व्यक्तिको नभई राष्ट्रको सेवकको रुपमा कार्य गर्नुपर्ने बताए । श्रेष्ठले नेपाल प्रहरीले मानव अधिकार संरक्षणको क्षेत्रमा अग्रपंक्तिमा रहेर कार्य गरेको भन्दै प्रशंसा गरे ।

कार्यक्रममा मानव अधिकारवादी संघ संथाबाट सहभागी प्रतिनिधीले हिरासत अनुगमनका अनुभव तथा बजेट आभवका कारण हिरासत कक्ष राम्रो नुहुँदा बन्दीको मानव अधिकारमा पर्ने असरलगायतका विषयमा समिक्षा गरेका थिए । राष्ट्रिय मानवअधिकार आयोगका सदस्य सुदीप पाठकले राज्यको अंगको रुपमा राष्ट्रिय मानव अधिकार आयोग र नेपाल प्रहरी दुबैले मिलेर कार्य गरेमा उपलब्धी हासिल गर्न सकिनेमा जोड दिए । ‘घरघरमा मानव अधिकार शान्ति र विकासको आधार भन्ने अवधारणालाई प्रहरीले व्यवहारमा ल्याउन सक्नुपर्छ ।’ उनको भनार्ई थियो ।

कार्यक्रममा मानव अधिकार संरक्षणमा प्रहरीको दायीत्व, मानव अधिकार संरक्षणको अवस्था र चुनौति, हिरासतको वर्तमान अवस्था, व्यवस्थापनका कठिनाई र सुधारका पक्षहरु र राष्ट्रिय मानव अधिकार आयोगको अनुगमन प्रतिवेदन लगायतका विषयमा कार्यपत्र प्रस्तुति, सामुहिक छलफल तथा अनुभव आदानप्रदान गरिएको थियो ।

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारी तथा बरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थिति थियो । कार्यशालामा प्रहरी प्रधान कार्यालय, महानगरीय प्रहरी कार्यालय मातहतका प्रहरी बरिष्ठ उपरीक्षकदेखि जुनियर प्रहरी अधिकृतसम्मको सहभागिता थियो ।

प्रकाशित समय २०:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु